चन्द्रगंगा मावि गाग्रेतालको स्वर्णजयन्ती

सुर्खेत, १ असोज ।
नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय वीरेन्द्रनगर–११ गाग्रेताल सुर्खेतको स्वर्णजयन्ती (५० औं बार्षिकोत्सव) एवं अभिभावक दिवस विविध कार्यक्रम मनाइएको छ । सोही अवसरमा विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद चालिसेबाट विद्यालयको प्रगति तथा आर्थिक प्रतिवेदन पेश गरिएको थियो ।
विद्यालयले गत आर्थिक बर्षको ३ करोड ८८ लाख १८ हजार ८ सय ७० रुपैयाँ बराबरको आम्दानी तथा खर्च विवरण प्रस्तुत गरेका थिए । स्वर्णजयन्तीको उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले विद्यालयको भौतिक तथा शैक्षिक प्रगतिले जिल्लामै आफ्नो पहिचान स्थापित गर्न सफल भएको बताए ।
त्यसैगरी सामाजिक विकास मन्त्रालयका सचिव भोजराज काफ्ले ले विद्यालय निर्माणमा समुदायको पनि सक्रिय सहभागि हुनुपर्ने बताए । उनले भने “समुदायकै अगुवाईमा सामुदायिक विद्यालयहरु सञ्चालन भएका छन् । देशको शैक्षिक विकासमा सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण रहेको छ ।”

वीरेन्द्रनगर नगर शिक्षा शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्मा, अमरज्योति नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद पौडेल, शैक्षिक व्यक्तित्व तथा राजनीतिकर्मी गेहेन्द्रप्रसाद दाहाल, सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष कुलमणी देवकोटा लगायतले बोलेका थिए ।
स्वर्ण जयन्तीका अवसरमा आयोजित उपत्यका व्यापी कविता प्रतियोगितामा प्रथम हुने एसओएस हर्मन माइनरका गितिज अधिकारी, द्धितीय हुने शैनिक महाविद्यालयका मुना थापा मगर, तृतीय हुने श्रीकृष्ण संस्कृत माविका पवन शर्मा, सान्त्वना हुने पुस्कर चपाईगाईलाई क्रमश, तीन हजार, दुई हजार, पन्ध्र सय र एक हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी वीरेन्द्रनगर–११ का टोल विकास संस्थाहरुको विचमा भएको तीजगीत प्रतियोगिताका विजयीहरुलाई नगद तथा पुरस्कार वितरण गरिएको थियो । सल्लाघारी टोल विकास संस्था प्रथम नगद पाँच हजार, गाग्रेताल डाँडा टोल विकास संस्था द्धितीय नगद ४ हजार, समाज सुधार टोल विकास संस्था तृतीय नगद ३ हजार र ढोलढुङ्गा टोल विकास संस्था सान्त्वना नगद २ हजार नगद र पुरस्कार वितरण गरिएको थियो ।
त्यसैगरी उपत्यका व्यापी भलिबल प्रतियोगितातर्फ प्रथम नेरामावि डाँडास्कुल नगद १० हजार र ट्रफि, द्धितीय हुने साउथ एसियन स्कलर्सलाई नगद ७ हजार र ट्रफि, तृतीय हुने शिव मावि लाइटीकोइलीलाई नगद ५ हजार र ट्रफि पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयको बाल विकासदेखि कक्षा–१२ सम्मका कक्षामा प्रथम, द्धितीय, तृतीय हुने उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा विद्यालयमा स्थापित डिल्ल बहादुर सापकोटा/मनकुमारी सापकोटा छात्रवृत्ति अक्षयकोषको व्याजबाट विद्यालयका कक्षा प्रथम हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । २०३० साल असोज १ गते स्थापित चन्द्रगंगा माध्यमिक विद्यालयले सिटिइभिटीबाट कृषितर्फ बालि विज्ञान विषय समेत सञ्चालन गर्दै आएको छ ।








