कर्णाली प्रदेश अस्पतालमा, त्यो ७ दिनकाे भोगाई…


केशव विक्रम खड्का/सुर्खेत
भदौ १५ गते राती १२ बजेतिर अचानक असाध्यै पेट दुख्न थाल्यो । ३–४ पटक बान्ता पनि भयो । नजिकैको मेडिकलमा प्राथमिक उपचार गराएँ । केही आराम भयो । भदौ १८ गते के भएको रहेछ जचाउनु प¥यो भनेर प्रदेश अस्पताल सुर्खेत पुगेँ । टोक्कन लिएर नाम दर्ता गर्दासम्म १२ बजिसकेको थियो । डाक्टरलाई भेट्ने पालो १ बजेतिर आयो । डाक्टरले पुर्जामा एक्सरे, पिसाब जाँच, रगत जाँच, भिडियो एक्सरे गराउनुस भनेर लेखिदिए सबै जाँच गराएर सकिदासम्म ४ बजिसकेको थियो ।
हतार हतार ओपिडीमा पुगँे एकजना मात्रै डाक्टर भेटिए उनी पनि निस्किने तरखरमा रहेछन् । म आज हेर्न भ्याउँदिन भोली आउनुस म पनि मान्छे हँु मलाई पनि थकाइ लाग्छ । ढिलो आउनु मेरो गल्ती होइन म पनि तपाइँको भन्दा टाढाको रौतहट जिल्लाबाट आएको आदि कुरा सुनाउँदै थिए ।
हामी ६–७ जनाले पटक पटक अनुरोध गरेपछि तपाइँहरु बाहेक अरुको हेर्दिन भन्ने सर्तमा रिपोर्ट हेर्न थाले तपाईलाई पथ्थरी भएको हुनसक्छ भन्दै पर्चामा औषधी लेखिदिए फार्मेसीबाट औषधी लिएर घर फर्के ।
औषधी नियमित खाइरहेको थिए । २२ गते राती फेरि पेट दुख्न थाल्यो । नजिकैको मेडिकलमा दुखाइ कम गर्ने इन्जेक्सन लगाएँ तरपनी दुखाई कम भएन बिहानै सुर्खेत झरेर प्रदेश अस्पतालको इमरजन्सीमा एउटा इन्जेक्सन लगाएपछि दुखाई कम भयो । त्यो दिन शनिबार परेकोले ओपिडी बन्द थियो ।
भोलिपल्ट ११ बजे ओपिडिमा डाक्टरलाई भेटे फेरि प्रक्रिया उहीँ एक्सरे, भिडियो एक्सरे, सिटि स्क्यान, रगत जाँच, पिसाब जाँच, पिसाब जाँच गर्न ३ घण्टा एक्सरे गर्न १ः३० मिनेट सिटि स्क्यानको रिपोर्ट आउन ३ दिन (त्यो पनि भनसुन गर्न जान्यो भने) लाग्ने रहेछ ।
बिहान ओपिडिमा भेटिएका डाक्टरपछि रिपोर्ट हेर्न कहिल्यै नभेटिने रहेछन् । यसरी ७ दिन बित्यो । ७ दिनमा १५–२० वटा रिपोर्ट बने ७–८ वटा डाक्टरले रिपोर्ट हेरे तर मेरो बिमारीको के उपचार गर्ने भन्ने कुनै निष्कर्ष दिइरहेका थिएनन् । जसलाई जे मन लाग्यो बोलिरहेका थिए ।
म भने दैनिकको खपिनसक्नु दुखाइले मर्नु न बाच्नुको अवस्थामा थिए । अस्ति शुक्रबार (भदौं २९ गते) को दिन एकजना डाक्टरले भने तपाइँको छिट्टै अप्रेसन गर्नुपर्छ ७०% मृगौला खराब भैसकेको छ । छिट्टै गरिएन भने पुरै खराब हुनसक्छ । मैले भने यो अस्पतालमा आएको पनि ७ दिन भैसक्यो डाक्टर, हजुर नै हुनुहुन्छ । अप्रेसन छिटो गरिदिनु प¥यो ।
उनले भने “अप्रेसन मैले गर्ने भएपनी कहिले गर्ने भन्ने मेरो हातमा हँुदैन” त्यति सुनिसकेपछी बाहिर निस्किए केही मानिस कुरा गरिरहेका थिए । यो अस्पतालमा ठूलो उपचार गर्न ठुलै मान्छेको पावर चाहिन्छ कि ? आफ्नै छोरो डाक्टर हुनुपर्छ ? एकजना भन्दै थिए, मेरो बहिनीको अप्रेसन गरिदिन्छु भन्दै १ महिना कुर्न पठाए अन्तिममा नेपालगन्जको एक निजि अस्पतालमा अप्रेसन गर्नु प¥यो ।
झट्ट हेर्दा अन्तर्राष्ट्रिय स्तरको देखिने कर्णाली प्रदेश अस्पतालमा दैनिक एक हजार, बाह्र सय बिरामी आउने रहेछ्न सरसफाई र भौतिक सामाग्रीको हिसाबले चुस्त देखिने यो अस्पताल कर्णालीको गौरव हो भन्ने कुरा पनि कतिका मुखबाट सुनिन्थ्यो ।
त्यो सुन्दा मन प्रफुल्ल हुन्थ्यो । अब कर्णालीका दिन फर्के कर्णालीका जनताले उपचारको अभावमा ज्यान फाल्नुपर्ने छैन भन्ने बिश्वास थियो तर पछिल्लो ७ दिनमा मैले जे देखे जे भोगे प्रदेश अस्पतालका केहि डाक्टरको लागी प्रयोगशाला हो भने सुर्खेत बसेर सुर्खेत भन्दा बाहिरका जिल्लामा राजनीति गर्ने नेताहरुले थापेको बल्छी हो भनेर बुझ्नलाई कुनै गा¥हो भएन । हिजो शुक्रबार त्यो बल्छीबाट निस्किएर काठमाडौंको एक निजि अस्पतालमा भर्ना भए आज (भदौं ३० गते) शनिबार अप्रेसन भयो अहिले ज्यानलाई कुशल मंगल छ । (यो लेखमा उल्लेखित विवरण लेखककाे अनुभूति हाे)







