सडक निर्माण भए पनि अस्पतालसम्म बिरामी बोक्नुपर्ने बाध्यता


गाउँपालिका केन्द्रमा रहेको सामुदायिक अस्पतालमा बिरामीलाई बोकेर लैजानुपर्ने बाध्यता रहेको पाइएको छ । केन्द्रसम्म सडक निर्माण भएको तर कर्णाली नदीमा पुल निर्माण नभएकाले यातायातका साधन सञ्चालनमा नआएपछि बिरामीलाई बोकेरै अस्पताल लैजानुपरेको हो ।

खार्पुनाथ गाउँपालिका–४ को नल्न गाउँ सुर्जन शाहीले डेढ घण्टा बिरामीलाई बोकेर गाउँपालिका केन्द्र याङ्चु बजारसम्म लैजानुपर्ने बाध्यता रहेको बताए ।

गाउँपालिका केन्द्र जोडिएर जाने कर्णाली करिडोरको सडक निर्माण भएको चार वर्ष बिते पनि खार्पुमा रहेको दोजाम कर्णाली नदीमा पक्की पुनर्निर्माण नभएका कारण यस्तो अवस्था आएको हो ।

नजिकको अस्पताल गाउँपालिका केन्द्र रहे पनि यातायातका साधन सञ्चालनमा नआएकाले बिरामीलाई बोक्नुपर्ने बाध्यता भएको हो ।

गाउँपालिकाको एम्बुलेन्स पनि सञ्चालनमा आइसकेको छ । तर, पुल नबनेकै कारण एम्बुलेन्स खार्पुमा राख्ने गरिएको छ। उक्त एम्बुलेन्स जिल्ला अस्पतालसम्म भने सञ्चालनमा आउने गरेको छ । यसरी बिरामीलाई बोकेर अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता वडा नम्बर ४ का स्थानीयलाई मात्र नभएर पाँच वटै वडाको छ ।

खार्पुनाथ– १ को देउखुरी गाउँका स्थानीय भानुभक्त जैसीले आफ्नो गाउँबाट तीन घण्टा बिरामीलाई बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको बताए । सडक निर्माण भएको तर गाडी गुड्दैन, त्यही भएर बिरामी बोकेर स्वास्थ्य चौकी वा अस्पतालसम्म लैजानुको विकल्प नभएको गुनासो स्थानीयको छ ।

अझ वडा नम्बर २ को शेराडिलबाट पाँच घण्टाभन्दा बढी समय बिरामी बोकेर अस्पताल ल्याउनुपरेको छ ।
गाउँपालिकाका पाँचमध्ये तीन वटा वडा सडक सञ्जालसँग जोडिए पनि यातायातका साधन सञ्चालनमा नआएका कारण बिरामी बोकेर ल्याउनुपर्ने अवस्था विद्यमान रहेको गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाहीले बताए ।

सडक निर्माण भए पनि अस्पतालसम्म बिरामी बोक्नुपर्ने बाध्यता

२४ सै घण्टा फोन सेवा : हाँकु