सिंजा सभ्यतामा कहिले पुगेन राज्यको आँखा

कनकासुन्दरी गाउँपालिका–४, हाडसिंजाका सिंजा सभ्यताका जानकार ९५ वर्षिय धनलाल हमाल सिंजा सभ्यता संकटमा पर्दै गएकोमा चिन्तित छन् ।
आजभोलि यताउता छरिएका बेवारिसे अवस्थाका ढुङ्गे खम्बा, देवल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेष देख्दा उनको मन बहकिन्छ । यसको संरक्षण गर्न नसकिए नासिएर जाने हमला बताउँछन् । उनका अनुसार बेलैमा स्थानीय, प्रदेश संघीय सरकार र सम्बन्धित सरोकारवाला निकायको ध्यान जान जरुरत छ ।

सिंजाका प्रमुख पर्यटकीय स्थलहरू पाण्डवगुफा, बिराट दरबार, कनकासुन्दरी मन्दिरलगायत अहिले बेवारिसे अवस्थामा छन् । उनले बिराट दरबारको भग्नावशेष मात्रै भेटिने, त्यसको संरक्षणतर्फ राज्यको ध्यान जान नसकेको स्थानीय युवा उपेन्द्र न्यौपानेले बताए ।
पहिले त सिंजा सभ्यताको विकास र महत्व बुझ्न सकिएन् । अहिले देश संघियतामा गइसकेपछि पनि यसको संरक्षणमा बेवास्ता हुनु दुःखद हो ।
यो नजिकैको घर आगनको सरकारले पहलकदमी लिनुपर्ने अपरिहार्य छ । कनकासुन्दरी–४ वडा अध्यक्ष सुर्यमणी हमाल सबैभन्दा पुरानो सभ्यता बोकेको सिंजा सभ्यतातर्फ संघीय सरकारको त आँखा गएन, प्रदेश सरकारले पनि बेवास्ता गर्नु दुःखद भएको गुनासो गर्छन् ।
कर्णाली प्रदेशको केन्द्र सिंजालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । सिंजाबाट जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रुप फेला परेको हमाल बताउँछन् । सिंजा सभ्यताको प्रचार–प्रसार गर्न जरुरी छ ।
सिंजामा बोलिने भाषा, त्यहाँको सभ्यता, त्यहाँका पर्यटक स्थल, धार्मिक स्थल, पुराना दरबारहरू संकटमा पर्दै गएका छन् । तिनीहरूको संरक्षण हुन सकेको छैन । लोप हुने अवस्थामा पुगेका छन् । सरकारले सिंजालाई विशेष क्षेत्र घोषाणा गरी यहाँको सभ्यताको संरक्षण गर्नुपर्ने सिंजालीको माग छ ।
अब तीनै तहका सरकारले सिंजा सभ्यताको संरक्षण, प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । नेपालमा बोलिने सम्पूर्ण भाषाको सरकारले संरक्षण गरेको छ, तर नेपाली भाषाको उत्पत्ति भएको खस भाषाको विषयमा सरकार सुन्न पनि चाहँदैन । यो आपत्तिजनक कुरा हो ।
सिंजाको इतिहास

सिंजा सभ्यताका जानकार ९५ वर्षिय धनलाल हमालका अनुसार आजभन्दा ३४६० वर्षअघि अर्थात् इशापूर्व १४४५ मा राजा जालन्दरले सिंजा राज्य स्थापना गरेका थिए । राजा जालन्दरले शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’बाट जोडेर सिंजा नाम रहन गएको किंवदन्ती भेटिन्छ ।
जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिंजामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ ।
पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको पाइन्छ । यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा बिन्नैनी उच्चारण गरिन्छ ।
खस राजा नागराजले र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब तीन सय वर्षसम्म शासन गरेका थिए । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटक भन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु पूर्व बाइसे चौबिसे राज्यको केन्द्र तथा सबैभन्दा शक्तिशाली राज्य (सिंजा राज्य) थियो । नेपाल भाषा, सभ्यता, संस्कृति, संस्कार पनि सिंजाले नै जन्माएको थियो । शक्तिशाली सिंजा राज्य सँगै विश्वका विभिन्न सभ्यता मध्य सिंजा सभ्यता पनि महत्त्वपूर्ण सभ्यता हो ।
प्राचीन सभ्यताको धरोहर पनि सिंजा सभ्यतालाई मानिन्छ । २०२७ सालमा शताब्दी पुरुष सत्यमोहन जोशीले सिंजा सभ्यता’को उत्खनन गरेका थिए ।
जोशीले सिंजा सभ्यताका बारेमा आफ्नो अध्ययन अनुसन्धान पुरा गरे पनि सभ्यताको संरक्षण भने, खास्सै हुन सकेन ।
सिंजा क्षेत्रको विकासका लागि निर्माण गरिएको गुरुयोजना अलपत्र
सिंजा क्षेत्रको विकासका लागि १० वर्षअघि थालिएको गुरुयोजना सरकारी बेवास्ताले अलपत्र परेको छ । राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष जगदीशप्रसाद पोखरेलको पहलमा झन्डै ५ वर्ष लगाएर २०७० मा गुरुयोजना तयार पारिएको हो ।०७१ मा सम्बन्धित सबै मन्त्रालयमा एक÷एक प्रति बुझाइएको गुरुयोजना अहिले कहाँ छ भन्नेसमेत कसैलाई थाहा नभएको कनकासुन्दरी –८ बुद्धिजीवी भक्तबहादुर बोगटीले बताए ।
उनका अनुसार समग्र सिंजा क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न केन्द्रको १५ लाख र राष्ट्रिय योजना आयोगको पाँच लाख रुपैयाँ लगानीमा १० वर्षे गुरुयोजना तयार पारिएको थियो । यसमा सिंजा क्षेत्रमा चार लेन सडक र तटबन्ध, संग्रहालय, अत्याधुनिक अस्पताल निर्माणका विषय समेटिएका थिए।
बेवारिस अवस्थामा रहेका पुरातात्त्विक सम्पदा तत्कालै संरक्षण नगरे हराएर जाने सम्भावना छ ।केन्द्रले गुरुयोजना पर्यटन मन्त्रालय र साबिकको जिल्ला विकास समितिमा बुझाएको थियो ।
सिंजाको ऐतिहासिक पुरातात्त्विक सम्पदाको संरक्षण, खस भाषामा समाचार प्रकाशन, खस भाषामै पाठ्यपुस्तक पठनपाठन, सिंजा क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्नुपर्ने, सुर्खेत(जुम्ला(नाग्म(गमगढी सडकखण्ड २० सेमि कालोपत्रे गर्नुपर्नेलगायत विषय समेटिएका थिए ।
गुम्बा(देवल, दरबारलगायत जीर्ण सम्पदाको मर्मतसम्भार, पर्यटकका लागि होमस्टे, सुविधासम्पन्न अस्पताल, १० मेगावाट विद्युत्, रैथाने अर्गानिक परिकारको व्यवस्थालगायत गुरुयोजनामा समावेश गरिएको बोगटी बताउँछन्।
जुम्लाका गिडीदह, विष्टज्यू दह, ठाकुरज्यू दह, पातारासी हिमाल हुँदै रारा पुगेर सिंजा आउने ट्रेकिङ रुट निर्माण, ओझेलमा परेका मठमन्दिरको पुनर्निर्माण, स्नातकोत्तरसम्मको क्याम्पस स्थापनालगायतलाई गुरुयोजनामा समावेश छ।तत्कालीन सिंजा क्षेत्रमा ११ गाउँ विकास समिति थिए । सबै गाविसको समन्वय र सहकार्यमा गुरुयोजना निर्माण गरिएको थियोे।सिंजा क्षेत्रका कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफा, गुफाको गरुड नुहाउने मन्दिर, वाणगंगा मन्दिरलगायत धार्मिक एवं पर्यटकीय महत्त्व बोकेका सम्पदा हुन् । संरक्षण अभावमा ढुंगे खम्बा, देवल, मुग्राहालगायत प्राचीन बस्तीका भग्नावशेष अहिले बेवारिस छन् ।
सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक २०७८) दर्ता
सिंजा सभ्यतालाई जिवन्त बनाउन धेरै लामो समयपछि पुर्व कर्णाली प्रदेशका सांसद तथा मन्त्री नरेश भण्डारीले २०७८ असोज १० गते सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक २०७८) दर्ता गरे । नेपालमै पहिलो गैरसरकारी विधेयकका रुपमा संसद् सचिवालयको दर्ता नं. १८ मा दर्ता भयो ।
जुन सिंजा सभ्यता संरक्षणका लागि गरिएको पहिलो ऐतिहासिक पहल पनि हो । सिंजा सभ्यताको संरक्षण गर्दै एतिहासिक, सांस्कृतिक, सामाजिक, पुरातात्विक, धार्मिक एवम् भाषिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पकट प्रदेशसभामा गैरसरकारी विधेयक दर्ता गरिएको भण्डारी बताउँछन्।
विधेयकलाई पूर्णता दिन र छुटेका विषय समेट्न लगत्तै प्रदेश सचिवालयको आयोजनामा खस राज्यको राजधानी कनकासुन्दरीको (लामाथाडा)मा सुझाव सङ्कलन गरियो ।
सुझाव सङ्कलन कार्यक्रममा खस भाषा विद,सिंजा सभ्यताबिद, इतिहासकार लेखक,बृद्धिजीवि,र सिंजा सभ्यता सम्बन्धी जानकार व्यक्तिहरूले राज्यबाट दबाउन खोजिएको दबिएको, सिंजा सभ्यता संरक्षणका लागि विधेयक कोशे ढुङ्गा साबित हुने आशावादी भए । अहिले विधेयक संघीयत संसदमा अट्किएको छ । पुर्वमन्त्री नरेश भण्डारीले २०६४ को निर्वाचन जितेर गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०६८ दर्ता गराएका थिए । लामो सङ्घर्षपछि जुम्लामा कर्णाली प्रतिष्ठान स्थापना भयो ।





