शुभघाट शहरी खानेपानी संस्थाको मासिक आम्दानी १२ लाख हुँदा खर्च २५ लाख

दिलिप ढकाल
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पुर्ण बहादुर खड्काले शुभाघाट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उद्घाटन गरेका छन् । गुर्भाकोट नगरपालिकाको खैरेनी सिटी हलमा आयोजना गरिएको एक कार्यक्रमका बीच उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले शुभघाट शहरि खानेपानी संस्थाको पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहमा संस्थाको आय व्यय विवरण पेश गरिएको थियो । मासिक आम्दानी १२ लाख हुँदा मासिक खर्च २५ लाख भएको प्रतिवेदन पेश गरिएको थियो । कार्यक्रमका सस्थाकी अध्यक्ष मैना बिकले सस्थाको प्रतिबेदन पेश गरेका थिए । जसमा खानेपानीको मासिक आम्दानी १२ देखि १४ लाख हँुदा खर्च २५ लाख हुने गरेको उल्लेख गरिएको थियो ।

शुभाघाट शहरी खानेपानी संस्थाको अग्रसरतामा गुर्भाकोट नगरपालिकाको ६, ७, ८ र ९ गर चार वडाका २ हजार ७ सय ८१ घरधुरीका घरआँगनमै पिउने पानी पुगेको छ । यसको उद्घाटन र हस्तान्तण एकै दिन गरिएको हो । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं रक्षा मन्त्री खड्काले आफुले चुनाव ताका बोलेका र बाचा गरेका प्रतिबद्द्ताहरु बिस्तारै पूरा हुने चरणमा रहेको र निर्वाचित भएको ५ बर्षमा सबै प्रतिबद्दता पुरा गर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै मन्त्री खड्काले खानेपानी योजनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सफा बनाउन सहयोग गर्ने सबैलार्ई धन्यबाद ज्ञापन गरेका थिए । खानेपानी सबैका लागि अपरीहार्य भएको बताउँदै उनले खानेपानी सन्चालन मात्र गरेर मात्र नहुने भन्दै यसको संरक्षण र निरन्तर अनुगमन गर्नुपर्नेमा जोडदिए साथै उनले भावी पुस्तालाई समेत ख्याल गरी आगामी २५ वर्ष लागि गुरुयोजना तयार गरेर गुर्भाकोटमा खानेपानीको योजना निर्माण भएको समेत बताए ।

यता खानेपानी उपभोक्ता महासंघका क्षेत्रीय उपाध्यक्ष कुलमणि देबकोटाले खानेपानी सस्थाको आम्दानी भन्दा खर्च दोब्बर भएको प्रतिबेदन पेस भएको सुन्दा दुख लागेको भन्दै तिनै तहका सरकारले यस सस्थालाई अगाडी बढाउन महत्वपुर्ण भूमिका खेल्नु पर्नेमा जोड दिए ।

खानेपानी आयोजनाले ३ हजार २ सय ५१ घरधुरीलाई शुद्ध पिउने पानी र सरसफाइको सेवा प्रवाह गर्ने उद्देश्यबाट खानेपानी आयोजना २०७९ श्रावण ६ गते निर्माण सम्पन्न भई २०७९ भाद्र महिनादेखि संचालनमा आएको हो ।

वि.स. २०७५ सालमा गुर्भाकोट नगरपालिकामा दर्ता भई गुर्भाकोट–८ खैरेनीमा कार्यालय रहेको शुभाघाट शहरी खानेपानी संस्थाका पदाधिकारीको ४ बर्षको अथक मेहेनत, चुनौती र बाधाहरुका बिच कूल ६२ करोड ४८ लाख ९२ हजार ७ सय १५ रुपैयाँ लागतमा बृहत खानेपानी आयोजना सम्पन्न भएको हो ।

एशियाली विकास बैक अनुदान सहयोगमा नेपाल सरकारको ७० प्रतिशत अर्थात ४३ करोड ७४ लाख २४ हजार ९ सय रुपैयाँ अनुदान, नगर विकास कोष ऋण लगानी २५ प्रतिशत अर्थात १५ करोड ६२ लाख २३ हजार रुपैयाँ र लाभान्वित हुने उपभोक्ताबाट ५ प्रतिशत अर्थात तीन करोड १२ लाख ४४ हजार रुपैयाँमा यो आयोजना सम्पन्न भएको हो ।

२०७६ असार ३० गते खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग आयोजना व्यवस्थापन कार्यालय पानीखोखरी काठमाण्डांै र निर्माण कम्पनी आशिष सिएबि प्रेरा जेभी बिच ठेक्का सम्झौता भएको थियो ।

राष्ट्रिय स्तरको प्रतिस्पर्धाद्वारा ६२ करोड ४८ लाख ९२ हजार ७१५ रुपैँयामा ठेक्कामा गई २०७९ श्रावण ६ गते निर्माण सम्पन्न भई तत्काल चार वटै वडाका करिव ३ हजार घरधुरीमा प्रशोधित, शुद्ध र सफा पानी पुर्याएको छ । शुभाघाट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाकी अध्यक्ष मैना बिकको अध्यक्षता एवं नेपाल सरकारका उप प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

शुभघाट शहरी खानेपानी संस्थाको मासिक आम्दानी १२ लाख हुँदा खर्च २५ लाख

YUGAAWHAN NATIONAL DAILY (2080-06-26)