अवपनि नगर बस चलाउने हो र ?

केहि महिना पहिले वीरेन्द्रनगरमा निजी क्षेत्रबाट नगर बस सञ्चालनमा आयो । यसमा वीरेन्द्रनगर नगरपालिकाले समेत हरियो झण्डा नै देखाएको हो । अहिले केहि महिना मात्र सञ्चालन पछि ति नगर बस (माइक्रोहरु) बन्द नै भए । वीरेन्द्रनगरमा नगर बस सञ्चालनमा सरकारी तह सहित निजी क्षेत्र समेत अहिले पछि हटेको अवस्था छ । नगर बस सञ्चालनमा स्थानीय तहको सक्रियतामा आरोप लगाईरहेको निजी क्षेत्र समेत पछि हट्दा वीरेन्द्रनगरमा नगर बस सञ्चालन अहिले सपना मात्र बन्न पुगेको हो ।

हाल कर्णालीमा अन्य स्थानीय तहले भने आफ्नै अग्रसरतामा नगर बस सञ्चालनमा ल्याईसकेका छन् । निजी क्षेत्रको स्वामित्वमा मात्र गईरहेको यातायात पूर्वाधार क्षेत्रलाई चुनौती दिदै कर्णालीका स्थानीय तहले आफ्ना नागरिकलाई यातायात सुविधा थपेका हुन् । तर यता कर्णालीको स्थानीय तह मध्ये सबैभन्दा धेरै बजेट विनियोजन गर्ने वीरेन्द्रनगर नगरपालिका भने आफैले नगर बस सञ्चालन गर्न आँट गर्न सकेको छैन । यसअघि वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिको पहिलो कार्यकालमा समेत नगर बसको परिकल्पना गरिएको थियो । सो समयमा वैदेशिक संस्थाको सहायतामा वीरेन्द्रनगरमा केहि थान नगर बस सञ्चालन हुने लगभग पक्का नै भएको हो । तर प्रक्रियाहरु शुरुवात नहुँदै कोभिड–१९ संक्रमण आईदियो । स्थानीय तहहरुले आफ्ना कार्यक्रमलाई स्वास्थ्य क्षेत्रमा लक्षित गर्न थाले, अन्य कार्यक्रमहरु सञ्चालनमा वाधा पुग्यो । नगर बसको योजना जनता भुलाउने मात्र बन्यो । ईन्धनको मूल्य बढेको समयमा निजी क्षेत्र आफै अग्रसर भयो, नगर बस सञ्चालन गर्न । वर्षातको समयमा बिग्रएको सडक अवस्थाले आफ्ना सवारीलाई सुर्खेतको पश्चिम क्षेत्र नपठाएको निजी क्षेत्रका लागि नगर बस योजना सही सावित भयो । केहि समय मात्र भएपनि वीरेन्द्रनगरबाट समयमा रुट नपाएका साना गाडीका लागि नगरभरी घुम्न रुट पाइयो । अहिले ईन्धनको वहानामा निजी क्षेत्र पनि पछि हटेको छ । तर वास्तविकता भने अर्कै हो, नगर बस सञ्चालन गरेर सेवाको भाव जनाउन खोजेका यातायात व्यवसायीहरुले व्यवसायीक आम्दानी नै नभएको भनेर नगर बस सेवा बन्द नै गरे । यो घटना उनीहरुका लागि परिक्षण मात्र भयो ।

पूर्वाधारका रुपमा सुर्खेतमा नगर बस सेवा सञ्चालनमा कठिनाई छैन । प्रतिष्पर्धीका रुपमा सञ्चालनमा रहेका अटो व्यवसायीहरु नगर बसका खास प्रतिष्पर्धी भने होइनन् । रत्न राजमार्गको धुलियाविट, बांङ्गेसिमल रुट हुदै प्रदेश अस्पतालसम्म सञ्चालन भएको रुटलाई नगर बस सेवा कसरी भन्ने ? सुगम बाटोहरु रोज्दै एउटा रुटमा मात्र सञ्चालन भएपछि निजी क्षेत्रले आफ्ना सवारी साधनलाई नगर सेवाबाट हटाउनु स्वभाविक नै हो । नगर बस सेवाका लागि पूर्ण तयारी आवश्यक थियो, यात्रुको भीड, उनीहरुको समय, लागत योजनाका साथै निरन्तरताका लागि भाडा र यसको समायोजन योजना समेत अभाव भएकै हो । वीरेन्द्रनगरका लागि नगर बस सेवा आवश्यक पूर्वाधार हो । यहाँका नागरिकहरुलाई न्यून भाडा दर तथा जोखिमका रहेका जनसंख्याले समेत यातायात सुविधामा सहुलियत पाउनुपर्छ । यस तर्फ वीरेन्द्रनगर नगरपालिकाको समयमा नै ध्यान जाओस् । आगामी समयमा वीरेन्द्रनगरमा नगर बस सञ्चालन गर्दा योजनावद्ध रुपमा आउनुपर्ने आवश्यकता छ ।

तपाईको प्रतिक्रिया