कालीकोटको सान्नीत्रिवेणीमा खुला प्रतिस्पर्धाबाट विद्यालय प्रधानाध्यापक छनोट

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयका प्रधानाध्यापक छनोट गर्न शुरु गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले यस गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न थालेको हो । सान्नीत्रिवेणी यसरी प्रधानाध्यापक छनोट गर्ने पहिलो गाउँपालिका बनेको छ ।
यसअघि विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्था थियो । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न हानथाप गर्नेे परिपाटीको अन्त्य गर्न सान्नीत्रिवेणी गाउँपालिकाले खुला प्रतिस्पर्धा गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए ।

सिकाइ र सुझावका आधारमा प्रस्तावित शिक्षा ऐनमा सङ्घीय सरकारले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्न पालिकालाई प्रोत्साहित गर्ने व्यवस्था गरेको छ । सान्नीत्रिवेणी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेको हो । खस्किँदै गएको शैक्षिक गुणस्तर र सामुदायिक विद्यालयको व्यवस्थापनका लागि पालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेको हो । यसरी प्रधानाध्यापक चयन गरेपछि सामुदायिक विद्यालयको सिकाइ उपलब्धि र सामुदायिक विद्यालयको व्यवस्थापनमा सुधार आउने सान्नीत्रिवेणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहनवीर धामीले बताए ।
सान्नीत्रिवेणी गाउँपालिकाले बनाएको शिक्षा ऐनअनुसार विद्यालय शिक्षा सुधारका लागि प्रधानाध्यापक परीक्षा प्रणालीबाट चयन गर्ने नीति लिएको छ । प्रधानाध्यापक छनोटका लागि गरिएको विज्ञापनमा ३४ जना शिक्षकले आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये २७ जना परीक्षामा सामेल भएका थिए । परीक्षा दिएकामध्ये पाँच जना माध्यमिक तह र ६ जना आधारभूत तहमा छनोट भएका छन् ।
प्रधानाध्यापकका लागि योग्यता, अनुभव, विद्यालय विकास प्रस्ताव, लिखित र मौखिकमा उत्तीर्ण भएको लगायत विषयलाई आधार मानेर जिल्ला शिक्षा समन्वय इकाई प्रमुखको सहभागितामा परीक्षा लिइएको हो । गाउँपालिका भित्रका मावि र आधारभूत गरी ३० विद्यालयका प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट चयन हुने भएका छन् ।
प्रधानाध्यापक हुनलाई राहत र स्थायीमा कार्यरत भएको, कार्यसम्पादन र लिखित मौखिक अन्तर्वार्तामा सफल भएको व्यक्ति हुने व्यवस्था गरिएको छ ।






