इन्धन भण्डारण स्थल कहिले बनाउने ?

हुम्लामा ग्याँसको मूल्य प्रति सिलिण्डर पाँच हजार रुपैयाँ बढी नै छ । खाना पकाउन प्रयोग हुने ग्याँस वीरेन्द्रनगरको तुलनामा हुम्लामा ज्यादै महंगोमा बिक्रि वितरण भईरहेको छ । यस जिल्लामा नयाँ सिलिण्डर खरिद गर्नुपरे पाँच हजार पाँच सय रुपैयाँसम्म तिर्नुपर्छ । त्यसैगरी पुरानो सिलिण्डर ग्याँस भर्दा भने चार हजार पाँच सय रुपैयाँ तिनुपर्छ । यो मूल्य अहिले हुम्लामा घटेको भने हो । सडक मार्ग हुम्लाको नजिक पुग्न थालेपछि यहाँ ग्याँसको मूल्य केहि भएपनि न्युन भएको थियो । पुरानो सिलिण्डर साटफेर गर्दा वीरेन्द्रनगरमा हाल एक हजार आठ सय ९५ रुपैयाँ मूल्य पर्छ । तर उत्तरी जिल्ला हुम्लामा वीरेन्द्रनगरको तुलनामा एक सय ३० प्रतिशत सम्म बढी मूल्य तिर्नुपर्ने वाध्यता नै बनेको छ ।

हुम्लामा ग्याँसको मूल्य मात्र होइन, सडक पूर्वाधारका रुपमा अन्य जिल्लामा पेट्रोल, डिजेल, मट्टितेल लगायतका इन्धनमा नेपाल आयल निगमको दर भन्दा पनि चर्को मूल्यमा कारोवार हुन्छ । जुम्लामा अहिले पेट्रोल र डिजल प्रति लिटर दुई सय रुपैयाँमा बिक्रि भईरहेको छ । जवकी सोमवारसम्म वीरेन्द्रनगरमा पेट्रोल एक सय ७१ र डिजेल एक सय ६४ रुपैयाँ प्रति लिटरमा बिक्रि भईरहेको नेपाल आयल निगमको तथ्यांक छ । वीरेन्द्रनगर छाडेर हामी जति उत्तरी जिल्ला तर्फ लाग्छौँ, त्यति नै इन्धन मनोमानी दरमा खरिद गर्नुपर्ने वाध्यता रही आएको छ । उत्तर तर्फ उकालो चढ्दै गर्दा इन्धनलाई स–साना प्लाष्टिकका बोतल भरेरै जोखिमपूर्ण रुपमा बिक्रि वितरण गरिएका छन् । त्यसमाथि पनि इन्धनको गुणस्तरीयताका सवालमा भने प्रश्नहरु वेग्लै छन् । कर्णाली राजमार्ग हुदै उत्तर तर्फ लाग्दा त्यहाँ आवश्यकता वमोजिमका पेट्रोल पम्प तथा इन्धन बिक्रेताहरु नै छैनन् । त्यसैले पनि आवश्यकताका आधारमा स्थानीय व्यवसायीहरुले गाडी, घोडा तथा खच्चडमा भएपनि ढुवानी गरेर इन्धनको आवश्यकतालाई परिपूर्ती गरेका छन् । संघीयता पछि कर्णालीमा विकास नभएको पनि होइन, अहिले प्रत्येक स्थानीय तहमा बाटो पुगेका छन् । साना खाले सवारी साधनहरु समेत ति बाटोमा कुदिरहेका भेटिन्छन् । यस अवस्थाले त्यहाँका नागरिकलाई सवारी साधनको उपलब्धतामा पहुँच बढाउन मद्दत मिलेको छ । तर विकाससँगै नगएको इन्धन अभावले भने चर्को भाडादर तिर्न नागरिकहरु वाध्य भएका पनि छन् ।

केहि वर्ष पहिले भारतद्वारा गरिएको अघोषित नाकावन्दीको प्रभावले नेपालभर इन्धन भण्डार स्थल निर्माणको लहर नचलेको पनि होइन । अन्य प्रदेशमा अहिले इन्धन भण्डारण कक्ष निर्माण भईसकेको अवस्था छ । तर कर्णालीमा अहिलेसम्म पनि जग्गा प्राप्तीको विषय समेत टुंगोमा पुगेको छैन । यहाँ वीरेन्द्रनगरमा रहेका पेट्रोलपम्पहरुले समेत सोझै पेट्रोल खरिद गर्नुपर्ने वाध्यता छ । आयल निगमको वीरेन्द्रनगर स्थित प्रादेशिक कार्यालयसँगको सहकार्यमा यहाँका पेट्रोलपम्पहरुले सोझै इन्धनको ट्यांङ्कर नै आयात गर्ने गर्छन् । यसको प्रत्यक्ष असरमा समय समयमा हुने नागरिक आन्दोलन तथा सडक अवरुद्धका समयमा वीरेन्द्रनगरका पेट्रोलपम्पमा रहेका इन्धन अप्रयाप्ततामा झल्किएको छ । यस अवस्थाले यहाँ इन्धनको अभाव समय समयमा चर्किरहन्छ । नेपाल आयल निगम, प्रदेश सरकार र संघीय सरकार यस तर्फ संवेदनशिल हुन जरुरी छ । कर्णालीमा प्रयाप्त क्षमताको इन्धन भण्डार स्थल र प्रदेशका सबै जिल्लामा सहजपूर्ण वितरण कर्णालीवासीका लागि तत्काल आवश्यकता हो । सम्बन्धित निकायहरुको यस तर्फ ध्यान जाओस् ।

तपाईको प्रतिक्रिया