२०८२ फाल्गुन २६ गते
×

Now Playing

पातारासीको लुम काठेपुलमाथि सधैंभरि : जोखिमपूर्ण यात्रा


जुम्ला विमानस्थल, उर्थु, लासीबजार, तल्फी, पेरे, गडीगाउँ, चोत्रगाउँ हुँदै डोल्पा जोड्ने सडक पातारासी गाउँपालिकाको लाइफलाइन नै हो । गाउँमा सडक पुग्दा स्थानीय उत्साहित थिए, घण्टौं पैदल यात्रा गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्यो भनी ।

तर पातारासी गाउँपालिका–४ लुमगाउँस्थित मोटरेवल काठेपुल भत्केपछि स्थानीयबासी जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

मालबहाक तथा यात्रुबहाक सवारी साधन जुम्ला विमानस्थलदेखि पातारासी गाउँपालिकाको गडीगाउँको चुकेनीसम्म पुग्ने गरेका थिए । तर, लुमगाउँस्थित काठेपुल भत्केपछि विगत एक महिनादेखि स्थानीयलाई विकास निर्माणका सामग्रीदेखि दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको स्थानीय राजु रावतले बताए ।

गाउँ बस्तीमा सडक पुग्दा पातारासी–३ छुम गाउँका कालीबहादुर महतारा उत्साहित थिए । पातारासीका हरेक गाउँबस्ती सडक सञ्जालसँग जोडियो । तर, लुमगाउँस्थित जवा नदीमाथि लामो समयदेखि पक्की पुल नबन्दा उनको उत्साह विस्तारै मर्दै छ ।

तत्काल काम चलाउको लागि काठेपुल निर्माण भएको छ । त्यो काठेपुल पनि बेला बेला भत्किने गरेकाले समस्या हुँदै आएको छ । उनले भने, ‘विगत एक महिनादेखि लुमगाउँदेखि माथि छुम, तल्फी परेगाउँसम्म सवारी साधन आउन सकेका छैनन् ।’

दीर्घकालिन समस्या समाधानका लागि पक्की पुल नै आवश्यक पर्ने भए पनि आफूहरुको माग राज्यका कुनै तहले सुनुवाई नगरेको उनको गुनासो छ । सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य वस्तु ल्याउन र उत्पादित कृषिजन्य वस्तु लैजान सहज भएको थियो ।

अहिले जुम्ला सदरमुकाम खलंगादेखि दुई वटा बस र चार वटा जिप सञ्चालनमा छन् । सवारीसाधनको आवागमनसँगै यहाँका नागरिकले घण्टौँसम्म पैदल यात्रा गरेर सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता हटेको थियो ।

तर, काठेपुल बेलाबेला भत्किरहने गरेकाले समस्याको दीर्घकालीन समाधान भएको छैन । गाउँमा सडक पुग्नु मात्र ठूलो कुरा होइन । सडक ग्राभेल गरेर यात्रा सहज गर्नु अहिलेको आवश्यकता हो, कालीबहादुरले भने । सडक बनेपछि व्यापारी गाउँमै स्थानीय उत्पादन खरिद गर्न पुग्ने गरेका थिए । लुमगाउँस्थित बागजाल सामुदायिक वन समितिकाअध्यक्ष कर्ण रावतका अनुसार पुल धेरै जीर्ण भइसकेको छ । मर्मत गरेर मात्रै हुने अवस्था छैन । पुल पूरै फर्नुपर्ने स्थिति देखिएको छ । उनले भने, ‘१५ लाख जति बजेट व्यवस्थापन गरी नयाँ काठेपुल बनाउनु पर्ने हो, तर रहेक वर्ष टालटुल (मर्मत) गरेर बजेट सक्ने काम भएको छ ।’

अघिल्ला वर्षहरुमा पुल बनाउन रकम हिनामिना भएपछि अहिले पुल बनाउने विषयमा समेत विवाद छ । पातारासी गाउँपालिकाले तत्काल काठेपुल निर्माण तथा मर्मत गर्नका लागि पाँच लाख बजेट विनियोजन गरेको छ ।

बजेट विनियोजन गर्दा पनि लुम गाउँबासीले पुल बनाउन काठ नदिने र विवाद गर्न खोजेपछि समस्या भएको हो । यसलाई सहजीकरण गरी पुल निर्माण गर्न पहल गरिएको गाउँपालिकाले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम देवकोटाका अनुसार लुमगाउँस्थित जवा नदीमाथि पक्की पुल बनाउनका लागि साढे सात करोडको डिपिआर बनेको छ ।

चालु आर्थिक वर्षमा एक करोड ८० लाख रुपैयाँ बजेट आएको छ । त्यो बजेट अपुग हुन्छ, उनले भने, ‘बजेटको स्रोत सुनिश्चिताका लागि कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयमा फाइल पुगेको छ । तर अहिलेसम्म बजेट सुनिश्चित भएको छैन ।’

पातारासीको लुम काठेपुलमाथि सधैंभरि : जोखिमपूर्ण यात्रा

सुर्खेत उद्योग वाणिज्य संघको ४० औं वार्षिक

पातारासीको लुम काठेपुलमाथि सधैंभरि : जोखिमपूर्ण यात्रा

हिमपातले हुम्लाको जनजीवन प्रभावित

This will close in 0 seconds