जानकी गाउँपालिका गनापुरमा ६३ ठुला उद्योग सञ्चालन

औद्योगिक कोरिडोरका रूपमा विकास हुँदै गएको बाँकेको जानकी गाउँपालिका–६, गनापुर क्षेत्रमा ६३ वटा ठुला उद्योग सञ्चालनमा आएका छन् । जानकी गाउँपालिकाको गनापुर, बकसपुर र पिप्रहवा क्षेत्रमा ठुला उद्योग खुल्नेक्रम बढ्दै गएकाले सो क्षेत्र औद्योगिक कोरिडोर बन्दैगएको छ । सो क्षेत्रमा अझै नयाँ उद्योग थपिनेक्रम पनि जारी नै छ ।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले ठुला उद्योग खुल्नेक्रम बढेपछि गनापुर औद्योगिक कोरिडोरका रूपमा विकास भइरहेको बताए । उनका अनुसार गनापुरमा सिमेन्ट, आइरन, खाद्य, इट्टा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ६३ वटा ठुला उद्योग स्थापना भएका छन् ।

अध्यक्ष खाँले लगानीकर्ता आकर्षित हुन थालेपछि गाउँपालिकाले पूर्वाधार विकासमा थप लगानी गर्नुपर्ने चुनौती थपिएको बताए । गनापुर क्षेत्र कोहलपुर–नेपालगन्ज राजमार्गमा जोडिएको र नेपालगन्जबाट नजिक भएकाले यहाँ उद्योग थपिनेक्रम बढ्दै गएको हो । गनापुरदेखि पश्चिम जाने बाटोको दुवैतर्फ लहरै उद्योग स्थापना भएको उनले बताए ।

नेपालगन्ज–कोहलपुर सडकखण्ड र गनापुर क्षेत्रमा ठुला उद्योगका साथै सवारी साधनका शोरुम, ठुला र स्तरीय होटल समेत खुलेका छन् । नेपालगन्जमा ठुला उद्योग स्थापना गर्न जमिनको अभाव रहेको र अति नै महँगो पर्ने भएकाले अधिकांश उद्योगीको नजर जानकी गाउँपालिकामा पर्नेगरेको उद्योगी व्यवसायीको भनाई छ ।

बाँकेमा उद्योग सञ्चालनका लागि अनुमति पाएका जयअम्बे स्टिल, सगरमाथा स्टिल इण्डष्ट्रिज, नेपाल वेलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशनल क्यासिनो, वर्षा रिसाइक्लिङ्ग इण्डष्ट्रिज, विकास फ्लोर मिल र भिभो मोबाइल नेपाल प्रालिको सर्भिस सेन्टरलगायत पाँच दर्जन बढी ठुला उद्योग जानकी गाउँपालिकामै रहेका छन् । ती सबै उद्योग सञ्चालनमा छन् ।

सोही प्रकारले जय मंगलम सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, बागेश्वरी स्टिल एण्ड आइरन उद्योग, बाहुबली हर्बल उद्योग, गङ्गा रोजिन एण्ड टर्पेन्टाइन, पानस फर्मास्यूटिकल्सजस्ता उद्योग पनि जानकीमै रहेका छन् । सुजुकी, महिन्द्रा, हुन्डाइजस्ता महँगा र नाम चलेका गाडीको शोरुम पनि सोही गाउँपालिकामै छन् ।

धान र मुसुरो प्रशोधन तथा बीउविजन उत्पादन केन्द्र, ठुला तथा नाम चलेका होटल पनि जानकी गाउँपालिकाले पाएको छ । औद्योगिक क्षेत्रको रूपमा स्थापित हुँदैगए पनि गनापुरमा फराकिलो सडक लगायतका पूर्वाधार नहुँदा उद्योग सञ्चालनमा समस्या हुँदै आएको उद्योगी व्यवसायीको भनाइ छ ।

तपाईको प्रतिक्रिया