बाढीपीडित किसानले क्षतिपूर्ति पाउने

गत असार–साउन र भदौं महिनामा परेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट बालीमा पुगेको क्षतिका लागि किसानले क्षतिपूर्ति पाउने भएका छन् । ताकेता गर्दा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो क्षति उपलब्ध गराउन बजेटको व्यवस्था गरेको छ ।
कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीका अनुसार लामो प्रयासपछि प्रदेश मन्त्रालय बाढी पहिरोबाट बालीनालीमा पुगेको क्षतिको क्षतिपूर्तिको व्यवस्था गर्न सहमत भएसँगै बजेटको व्यवस्था गरेको हो । असार दोस्रो हप्ता, साउन दोस्रो तथा भदौं पहिलो हप्ता नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका वर्षका कारण बाढी पहिरोले पाक्नै लागेको बालीनालीमा क्षति गरेको थियो ।
क्षतिको विवरण कृषि विकास कार्यालयले लिएको भए पनि क्षतिपूर्ति पाउनेमा किसानहरु द्विविधामा थिए । बाढी पहिरोपीडित किसानले पहिलो पटक प्रदेश सरकारबाट क्षतिपूर्ति प्राप्त गर्न लागेका हुन् । दुई वर्षअघि कात्तिकमा परेको पानीले किसानका सयौ क्विन्टल आलु कुहिएको थियो । तर प्रदेश सरकार र संघ सरकारसँग क्षतिपूर्ति माग गर्दा किसानले पाएका थिएनन् ।
जिल्लाबाट माग गरिएको तीन करोड ९८ लाख ९६ हजार रुपैयाँ मूल्य बराबरको अन्नबालीमा क्षति पुगेको विवरण जिल्लाबाट मन्त्रालय गएको थियो । यसबाट बाढी पहिरोले क्षति पुगेको नाम्खाका १६, खार्पुनाथका १२, सर्केगार्डका पाँच सय ३०, चङ्खेलीका ७३, अदानचुलीका पाँच सय ९८ र ताँजाकोट गाउँपालिकाको एक सय ४० गरी एक हजार तीन सय ६९ घरधुरीले नियमानुसार क्षतिपूर्ति प्राप्त गर्नेछन् ।






