भन्सार राजस्व लक्ष्यभन्दा तीन अर्ब कम


नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चौमासिकमा लक्ष्यभन्दा तीन अर्ब २७ करोड ५५ लाख रुपैयाँ कम राजस्व असुली गरेको छ । कार्यालयको कात्तिकसम्मको लक्ष्य ८ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ थियो । असुली भने पाँच अर्व ५९ करोड ३५ लाख रुपैयाँ मात्रै भएको छ ।
यो असुली कात्तिकसम्मको लक्ष्यको ६३ दशमलव शून्य सात प्रतिशत मात्रै रहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । यो वार्षिक लक्ष्यभन्दा २३ अर्ब ६ करोड ९० लाख रुपैयाँ कम हो । चालु आर्थिक वर्षको कात्तिकसम्म असुली भएको राजस्व गतवर्षको भन्दा एक करोड ५५ लाख २४ हजार कम रहेको तथ्यांकले देखाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिलुप्रसाद शर्माका अनुसार गत आर्थिक वर्ष २०७९-८० को कात्तिकसम्म आठ अर्ब ७६ करोड २२ लाख ८९ हजार रुपैयाँ असुली गर्ने लक्ष्य राखेकोमा ५ अर्ब ६० करोड ९० लाख रुपैयाँ अर्थात लक्ष्यको करिब ६४ दशमलव शून्य दुई प्रतिशत असुली गरेको थियो ।
पहिलो चौमासिकमा उक्त भन्सारले कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमा ख७८ प्रतिशत, भदौमा ६५ दशमलव ३३ प्रतिशत, असोजमा ६० दशमलव ७८ प्रतिशत र कार्तिकमा ५२ प्रतिशत मात्र असुली भएको छ ।






