भूकम्पपीडितलाई चिसो थेग्नै मुस्किल


जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–१ चिउरीकी विमला महर सुत्केरी भएको शुक्रवार १२ दिन मात्र भएको छ । उनीलाई चिसो थेग्न निकै मुस्किल परेको छ ।
मंगलबारबाट धेरै वर्षा हुन नसके पनि हल्का वर्षातका कारण चिसो निकै बढेको छ । चिसोले निकै समस्यामा परेको विमलाले बताइन् । चिसोले राति निन्द्रा नपरेपछि दिउँसो घाममा सुत्ने गरेको तर तीन दिनयता भइरहेको बदलीले गर्दा समस्या भएको उनको भनाइ छ । चिसोले गर्दा होला रातभर बच्चा रोइरहन्छ । म पनि सुन्निएकी छु उनले भनिन् ‘बाँच्न गाह्रो भो त्रिपालको बसाई र चिसोले गर्दा निकै सतायो ।’
नलगाड नगरपालिका–१ चिउरीकी मोतिकला महरले यसरी कष्टकर जीवनयापन गर्नुपर्ने अबस्था आइलाग्ला भन्ने कल्पना समेत गरेकि थिइनन् । कात्तिक १७ गते राति गएको भूकम्पले घर भत्किएपछि ३ महिनाको शिशुलाई काँखीमा च्यापेर मोतीकला पालमुनि बस्न बाध्य छन् ।
माथिबाट चुहिने शीत र नदीको किनारबाट चल्ने सिरेटोबाट आफू र शिशुलाई कसरी जोगाउने भन्ने चिन्ताले मोतीकलालाई निकै पिरोल्न थालेको छ । मोतीकलाले शिशुलाई चिसोबाट जोगाउन निकै सकस भएको बताइन् । टेन्टभित्र आगो बाल्न नमिल्दा समस्या भएको छ मोतीकलाले भनिन्, ‘टेन्टभित्र आगो बाल्न मिल्ने भए आफू र बच्चालाई सेक्न हुन्थ्यो, आगो बाल्न मिल्दैन, चिसोले निकै सतायो । बच्चा विरामी छ । चिसोले गर्दा विहान उठ्दा मेरो मुख सुनिएको हुन्छ । कसरी बाँच्ने हो । चिसोले बाँच्नै मुस्किल भइसक्यो ।’
केही दिनअघि चिउरी गाउँकी लक्ष्मी महरले गाउँमै बच्चा जन्माउन नसकेपछि नगर स्वास्थ्य अस्पताल दल्ली गइन् । अस्पतालले उनको सुत्केरी गराए पनि बच्चा बनाउन नसकिएको चिउरीकी महिला स्वास्थ्य स्वयंसेविका शीतला विकले जानकारी दिइन् ।
दुई सयभन्दा बढी घरधुरी रहेको चिउरी गाउँमा ४५ जना सुत्केरीसँगै १२ जना गर्भवती महिला भएको स्वयंसेविका विकले बताएकी छन् ।
चिउरीकी सुत्केरी र गर्भवती महिलाहरूलाई टेन्ट मात्र नभएर न्यानो कपडा, पोषणयुक्त खाद्यन्नको अभाव भइरहेको स्वयंसेविका विकको भनाइ रहेको छ । अधिकांश दलित बस्ती रहेको चिउरीमा भूकम्पले १३ जनाको ज्यान लिएको थियो । विपन्न बर्गका समुदायका बाहुल्यता रहेको यस गाउँमा लत्ताकपडा र खानेकुराको समेत अभाव देखिएको छ ।
नलगाड नगरपालिका–४ बाउसेखोलाकी २० वर्षीया पवित्रा बोहरा सुत्केरी भएको महिना दिन भयो । त्रिपालमुनि बस्नुपर्दा उनलाई पनि चिसोले सताउन थालेको छ । बच्चा पनि विरामी छ । रुघाखोकी लागेको छ । म आफंै पनि बिरामी छु उनले भनिन्, ‘निकै कष्ट छ । रात काट्न मुस्किल भो । त्रिपालको चिसोले बाँचिएला जस्तो लाग्दैन ।’ कठ्याङ्ग्रिने चिसो सुत्केरीलाई निकै सताइरहेको छ ।
यी सुत्केरी केही प्रतिनिधि उदाहरण मात्र हुन् । जाजरकोट भूकम्पपीडितहरूले त्रिपालमा रात कटाउन थालेको एक महिना भएको छ । दिनहुँ बढ्दो चिसोले उनीहरूको रात कष्टकर बन्दै जाँदा अस्थायी टहराका लागि सरकारले दिने भनेको सहयोग रकमको पहिलो किस्तासमेत पाउन सकेका छैनन् ।
अस्थायी आवासको अनुदानका लागि कार्यविधि संशोधन गरेर सहज बनाइएको सरकारले दाबी गरे । पनि स्थानीय तहले बैंक खाता खोल्नुपर्ने, प्रहरी मुचुल्का चाहिनेलगायतका झन्झटका कारण पीडित परिवारले अहिलेसम्म अनुदान पाउन सकेका छैनन् । जसका कारण अस्थायी आवासमा मंसिरभित्र सार्ने सरकारी योजना अलपत्र पर्ने देखिएको छ ।(अन्नपूर्ण)






