मनोपरामर्श सेवामा पहुँच बढाउनुपर्छ !

रोग, भोक र गरिवीले सताएको कर्णालीमा मानव विकासका सूचकांकहरु हेर्दा यहाँको अवस्था दयनिय नै छ । अर्को तर्फ प्रदेशमा आत्महत्याका घटनामा समेत कमी आउन सकेको छैन । त्यसमा पनि १८ वर्ष भन्दा कम उमेर रहेका बालबालिकाहरु समेत आत्महत्याको सिकार भएको प्रहरीको तथ्यांक छ । यस्तो अवस्थामा कर्णालीमा मनोपरामर्श सेवाको अभाव खड्किएको महशुस हुन्छ । प्रदेशमा केहि संघसंस्था तथा पालिकाले मनोपरामर्श सेवाका उपलब्ध गराएपनि यो सेवा सबैको पहुँचमा पुग्न सकेको भने छैन । पहिलो विषय, कर्णालीका नागरिकलाई मनोपरामर्श सेवामा सचेतना समेतको अभाव छ । मनोपरामर्श र यसको आवश्यकताको समयलाई यहाँका नागरिकहरु अन्य मानसिक समस्याका रुपमा बुझिरहेका छन् । पीडा सहँदै जीवनको गुजारा गर्न व्यस्त रहेको कर्णालीले मनोपरामर्श सेवालाई नजरअन्दाज गरेको देखिन्छ । ‘जीवनमा आईपर्छ नि’ भन्दै हामीले कुनै मानवको मनोभावलाई नजरअन्दाज गर्न मिल्दैन । उनीहरुले महशुस गरेका मनोभावले उनी, उनका परिवार लगायतलाई कुनैप्रकारको क्षति हुनु दुखद् विषय हो ।
बढ्दो शहरीकरण तथा व्यस्त जीवनशैलीले मानवमा मनोसामाजिक समस्या निम्त्याईरहेको छ । आत्महत्या समेत निम्त्याउन सक्ने जोखिम रहेको यो समस्यालाई समयमा नै पहिचान र उपचार गर्न जरुरी छ । हालको अर्थतन्त्र, सामाजिक अवस्था तथा अहिले मनोसामाजिक परामर्श सेवा आवश्यकता नै बनेको छ । नागरिकहरुले बढी समय व्यतित गरिरहेका प्रत्येक स्थलमा मनोसामाजिक परामर्शदाताको आवश्यकता औलिएको छ । विद्यालयमा विद्यार्थी तथा शिक्षकहरुका लागि मनोसामाजिक परामर्शको खाँचो छ । उनीहरुलाई समय समयमा पर्ने मनोसामाजिक समस्याका परामर्श दाताको आवश्यकता पर्छ । त्यसैगरी उद्योग तथा कलकारखाला, सरकारी कार्यालय, गैरसरकारी संस्थामा कार्यरत सबै कर्मचारी तथा पदाधिकारीलाई मनोपरामर्शकर्ताको आवश्यकता देखिन्छ । नेपालमा मात्र होइन, मनोपरामर्शदाताको व्यवस्था अन्य मुलुकहरुमा पनि छ । ति राष्ट्रहरुले जागिर गरिरहेका कर्मचारीहरुका लागि समयसमयमा मनोपरामर्श दातासँग भेटाउछन् । विद्यालयमा अध्ययनरत युवा विद्यार्थीहरुका लागि समेत मनोपरामर्श दाताको व्यवस्था गरिएको हुन्छ । नेपालजस्तो मुलुकमा यि व्यक्तिहरु आवश्यक नहुने त कुरै भएन । यसको उदाहरणमा अहिले आक्रामक हुदै गईरहेको हाम्रो समाज पनि हो । सरकारी संयन्त्रबाट प्रवाह गरिएका सेवामा विश्वास नगर्नु, नकारात्मक विषय तथा सोच मात्र राख्नु मनोसामाजिक समस्याका उपजहरु हुन् । यस्ता थुप्रै उदाहरणहरु छन् जसले समाजको मनोसामाजिक अवस्थाको चित्रण गर्छ ।
कर्णालीको सन्दर्भमा सामाजिक परामर्शका लागि पालिका स्तरमा परामर्शदाताको व्यवस्था हुन जरुरी छ । त्यसैगरी विद्यालय स्तरमा समेत यो सेवाको व्यवस्था हुनुपर्छ । स्वास्थ्यसंस्थामा उपचारका लागि पुग्ने सेवाग्राहीलाई समेत मनोपरामर्श सेवाको व्यवस्था हुनुपर्छ । अन्यथा कर्णालीमा हालको अवस्थामा रहेको आत्महत्याको तथ्यांकलाई न्युनिकरण गर्न असहज नै देखिन्छ । त्यसैले मनोपरामर्शदाताको आवश्यक रहने प्राथमिकतामा रहेका संस्था तथा कार्यालयमा परामर्शदाताको व्यवस्था, ति सेवामा नागरिकको पहुँच र यस विषयमा जनचेतना जगाउन जरुरी छ । यसका लागि प्रदेश सरकार तथा खासगरी स्थानीय तह मुख्य जिम्मेवार रहन्छन् ।






