कर्णाली प्रदेश सरकारलाई एनसेलको ५० लाख सहयोग


एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
साथै, तीन भूकम्प प्रभावित जिल्लाका सबै ग्राहकलाई ४० लाख ब्यालेन्स बराबरको सेवा निःशुल्क प्रदान गर्ने पनि एनसेलले जनाएको छ ।
‘ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रूकुम (पश्चिम) र रूकुम (पूर्व)मा रहेका ग्राहकहरूलाई रु ४० लाख ब्यालेन्स बराबरको सेवाहरू निःशुल्क उपलब्ध गराइने जानकारी गराउन चाहन्छौं’, एनसेलले जारी गरेको विज्ञप्तिमा भनेको छ ।
यसरी पाइने सेवाहरूमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । समयसीमा १५ दिनको रहने जनाइएको छ ।






