बराहतालको जल उपयोग यात्रा

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा प्रति सेकेन्ड १० लिटर स्रोत क्षमता भएको ३१ वटा जलस्रोत छन् । एक लिटर क्षमताका एक सय नौ जलस्रोत पालिकामा छन् । पालिकामै जलस्रोतको आवश्यक क्षमता पुष्टि भएपछि बराहताल गाउँपालिकाले सरसफाई तथा स्वच्छताका क्षेत्रमा जल उपयोग गुरुयोजनाका साथ अघि बढ्दै छ । यसै विषयमा रहेर बराहताल गाउँपालिकाका अध्यक्ष अध्यक्ष भीमबहादुर भण्डारीसँग युगआह्वानकर्मीले गरेको कुराकानीः

खानेपानी, सरसफाई तथा स्वच्छताका क्षेत्रमा पालिकामा के-कस्ता गतिविधि भईरहेका छन् ?

पालिकामा खानेपानीको समस्या विद्यमान नै छ । यसको सोझो असर झन् सरसफाई र स्वच्छतामा परेको देखिन्छ । हालको समयमा समुदाय स्तरका नौं वटा स्कीममा काम भईरहेको छ । यसबाट करिव एक हजार घरधुरीमा धारा जडान भएको छ ।
यसअघि हामीले घरमा वायो ग्यास निर्माणमा समेत नागरिकलाई सहयोग गरेका थियौँ । जसकारण नागरिकका घरमा इन्धनकालागि ग्यास उपलब्ध हुने र स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्न सहयोग भएको थियो ।

स्वच्छताका क्षेत्रमा अन्य कार्यक्रमहरु के-के छन् ?

पालिकामा फोहोर व्यवस्थापन विषयलाई हामीले मुख्य प्राथमिकतामा राखेका छौँ । यसका लागि सुरक्षित डम्पिङ साइटको समेत काम अघि बढाएका छौँ । पालिकाको ५ नं वडामा यसको स्थान छनौट गरिएको हो । तर उक्त क्षेत्र सामुदायिक वन रहेकाले जग्गा प्राप्तीको समस्या भएको छ । तर चाडै समाधान गर्ने प्रयत्नमा छौँ ।

जलस्रोतको अवस्था र उपयोगिताको अध्ययन पछि आयोजनाहरुमा लगानी कसरी जुटिरहेको छ ?

यहाँको सम्भावना तथा अवस्थामा लगानी गर्न पालिका आफैमा आर्थिक रुपमा सक्षम पनि छैन । तर सहलगानीका कार्यक्रमहरुले भने हाम्रो उदेश्य पनि पुरा हुने देखिन्छ । प्रदेश सरकार, संघिय सरकार तथा अन्य गैरसरकारी संस्थाहरुसँग समन्वय गरेर यहाँका नागरिकलाई खानेपानीको उपलब्धता तथा सरसफाईमा सहयोग गर्न सकिन्छ ।

प्रदेश र संघ वाहेक कुन-कुन गैरसरकारी संस्थाहरुसँग कसरी समन्वय भईरहेको छ ?

यहाँ गैरसरकारी संस्थाहरुसँग यो विषय मात्र होइन अन्य विषयमा समेत सहकार्य भईरहेको छ । एन्फोलगायतका संस्थासँगको सहकार्यमा पालिकामा स्वास्थ्य संस्थामा सहयोगलगायतका कार्यक्रमहरुमा सहलगानी समेत गरेका थियौँ । यसैगरी कणर्ाली जल परियोजनाले समेत पालिकामा खानेपानी वितरणमा सहयोग पुर्‍याएको छ ।

यस क्षेत्रमा आगामी थप योजनाहरु के-के छन् ?

पालिकामा कुल पाँच सय ४४ वटा जलस्रोतहरू छन् । पालिका भर तीन सय ६० वटाको संख्यामा पानीका मुहान छन् । ८८ वटा खोल्सा, ७४ वटा खोला, १४ वटा कुवा र आठ वटा भूमिगत पानीको स्रोत पालिका अन्तर्गत रहेका छन् ।
जल उपयोग सँगै यससँग जोडिएका सिँचाई, ऊर्जा पर्यावरण संरक्षण तथा आयआर्जन/जीविकोपार्जन कार्यक्रमहरू पालिकाले क्रमैसँग लैजाने योजना छ । खासगरी मुहान संरक्षण नै हाम्रो मुख्य लक्ष्य हो । मुहान संरक्षण पछि मात्रै खानेपानी नपुगेको भेगमा पानी पुर्‍याउन सकिन्छ । यसैगरी सिँचाइमा समेत प्रयोग हुन्छ । अनि विद्यालयहरुमा समेत सुरक्षित खानेपानी व्यवस्थापन योजनाका गतिविधिहरु भईरहेका छन् ।

तपाईको प्रतिक्रिया