मदन भण्डारी राजमार्गले पायो खम्बागाडे–मायाताल खण्डमा रुख कटानको अनुमती


मदन भण्डारी राजमार्ग आयोजनाले पञ्चपुरी नगरपालिकाको खम्बागाडेदेखि चौकुने गाउँपालिकाको मायातालसम्मको २३ किलोमिटर क्षेत्रमा पर्ने रुख कटानको अनुमती पाएको छ ।
आयोजनाले उक्त क्षेत्रमा वातावरिणय प्रभाव मूल्यांकन प्रतिवेदन (इआईए) तयारी पारी रुख कटानको अनुमतिका लागि संघीय वन तथा वातावरण मन्त्रालयमा पेश गरेको थियो ।
बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले आयोजनालाई उक्त सडक खण्ड अन्तर्गत पञ्चपुरीको खम्बागाडे, सालकोट, विद्यापुर र गुटुको मायाताल क्षेत्रमा पर्ने रुख काट्न अनुमती दिएको हो ।
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिकाको बड्डिचौरदेखि चौकुने गाउँपालिकाको बल्देसम्मको ४५ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी स्तरोन्तीको काम जारी रहेपनि संघीय मन्त्रीपरिषद्ले रुख कटानको अनुमति दिदाँ समस्या भइरहेको छ ।
तीन वटा खण्ड मध्ये दुई वटा खण्डमा मदन भण्डारी राजमार्ग आयोजना र एक खण्डमा कर्णाली प्रदेश सरकारले काम गर्दैछन् । आयोजनाले निर्माणको जिम्मा पाएको दोस्रो मायातालदेखि लगाम खण्डको पनि इआईए मन्त्रालयमा पेश भई सकेको छ ।
यो मंसिरसम्म मन्त्रीपरिषद्बाट पारित हुने मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेश सरकारले निर्माण गरिरहेको पहिलो खण्ड बड्डिचौर–खम्बागाडे क्षेत्रको १३ किलोमिटरमा रुख कटानका लागि टिप्पणी उठिसकेकाले केही समयमा रुख कटानको अनुमति प्राप्त हुने छ ।






