पढ्नका लागि बाटो खन्ने काम गरे

सिर्जना बुढाथोकी
सुर्खेत,७ मंसिर ।
सुर्खेतको लेकवेशी नगरपालिका–१ छोट्टेमा जन्मिएको म पाण्डवकुमार कठायत सामान्य परिवारमा हुर्किएको व्यक्ति हुँ । वि.सं. २०२७ सालमा मेरो जन्म भएको हो । पुर्खाहरु दैलेखका भएपनि बुवाले बसाई सुर्खेत सरेपछि हामी यतै जन्मिएका हौ । हाम्रो परिवारमा बुवाआमासंगै एक बहिनी र तीन भाईबहिनी हौ हामी ।
सामान्य परिवारमा जन्मिएको म हरेक कुरा अभावमै बित्यो । अशिक्षित परिवार, पुरातन सोचाई र परम्परागत जीवनशैलीले जीवनमा अति संघर्ष गर्न सिकायो मलाई । चेतनाविहिन समाज अनि परिवारले गर्दा बालबालिकामा कस्तो असर पर्छ भन्ने कुरामा म अनुभवी छु।

खेतीपाती गरेरै गुजारा चलाउने मेरो परिवारले घरको काममानै व्यस्त हुनपर्छ भन्ने सिकायो तर म सानैदेखि अरु भाईबहिनी भन्दा चञ्चले स्वभाव, बोल्न नडराउने अनि जिज्ञासु स्वभावको भएर पनि मैले केहि अक्षर चिन्ने अवसर पाएँ । मलाई केहि नयाँ अनि अनौठो लाग्ने देख्ना साथ के हो? कसरी भयो? भन्ने कुरा मनमा आउने ।
बिहान बेलुका आफुले उमेर अनुसार सक्ने काम गरेपनि १० बजेपछि लुकेरै भएपनि विद्यालय पुगि हाल्थे । अनि मेरो पढ्ने इच्छा देखेर बुवाले पनि ल जा न त विद्यालय भनेर पठाउनुभयो । एकपटक बुवासंग म कामले छिञ्चु गएको थिएँ म सानो हुँदा । त्यतिबेला केहि व्यक्तिले दाँत माझेको देखेर मलाई नि त्यस्तै गर्नुपर्छ भनेर सात रुपैयाँमा ब्रश र मञ्जन पाउँदो रहेछ किन्न लगाएँ तर घर आएर पिटाई पाएको अझै याद छ मलाई ।
मैले मागेको कुरा गलत थिएन तर मेरो बुवालाई थाहै नभएको कुरामा पैसा फाल्न लगायो भन्ने लागेर होला, त्यो परिवेश त्यो समय नै त्यस्तै थियो । लेकबेशीकै छोट्टेकै एक विद्यालयबाट मैले एस.एल.सी पास त गरे तर उच्च शिक्षा पढ्न भने पाइन् । पैसा पनि हुँदैन थियो । बाटो खन्ने काम गर्न गए कतै पैसा हुन्छ र पढौला भनेर तर पुगेन ।
अनि पढ्ने इच्छा मनमै रह्यो । त्यसपछि बिहे गरे । आफुलाई भएका समस्याले गर्दा अब कसरी पैसा कमाउने भन्ने कुराले गर्दा म भारततिर लागे । भारत गएरपनि भने अनुसारको कमाई नहुँदा करिव डेढ वर्षमा फर्किए । त्यसपछि वि.सं. २०५० सालबाट कृर्षि पेशामा लागे । बिहान बेलुका खेतबारी र दिनभरी मैले स्थानीयस्तरबाट विद्यालयमा पढाउन थाले । त्यसमा प्रत्येक वर्ष परीक्षा हुन्थ्यो जसको नाम निस्कियो उसले पढाउन पाउँथ्यो ।
मैले सबै भन्दा राम्रो अंक ल्याएर एक नम्बरमा नाम निकाल्थे । अनि त्यसैगरी ८ वर्ष जागिर गर्ने अवसर पाएँ । त्यसपछि मेरा एक छोरा एक छोरी भए । आफुले पूरा गर्न नपाएको पढ्ने ईच्छा छोराछोरीलाई पढाएर पूरा गर्छु भन्ने सोचेर पढाउन थाले । स्थानीयस्तरबाट पढाएर आएको पैसाले घरधन्दा धान्न नसक्ने अवस्था आएपछि मैले कृषि काम गर्ने सोच बनाएँ । आफ्नै खेतबारीमा मैले कृर्षि खेती गर्न थाले ।
रामघाटमा रहेको उइडस् नेपाल जस्ता अरु विभिन्न संघ सस्थाबाट प्रशिक्षण लिएर मैले काम गर्न थाले । त्यसपछि मैले द अर्गानीक प्लेभर (अदुवा÷बेसार प्रसोधन उद्योग)मा अर्गानीक कृर्षि प्रशिक्षकका रुपमा काम गर्ने अवसर पाएँ । आफुले सिकेर पनि सीप सिकाउनसक्ने अवस्थामा पुगेको मैले सुर्खेतका विभिन्न जिल्लामा कृर्षिका विभिन्न तालिम दिन जान थाले ।
यसरी काम गर्दै जाँदा दिगो भू व्यवस्थापन भन्ने संस्थाले अगुवा कृषक छान्ने कार्यक्रम राखेको थियो त्यसमा सहभागी ३०–३५ जना मध्ये एक नम्बरमा नाम निकालेर अगुवा कृषक हुने मौका समेत पाएको थिएँ । यसमा आठ कार्यक्रम थियो । मैले यसमै रहेर सुर्खेतका ३२ वटा वडामा तालिम दिने अवसर पनि पाएँ ।
तालिमका लागि सुर्खेत जिल्लाको गुठु, वीरेन्द्रनगर, सिम्ता, सहारे, छिञ्चु, मालारानी, मेहेलकुना र घुमखहरेतिर जानुपथ्र्यो । यो कार्यक्रम सुर्खेत जिल्लामा मात्रै लागू भएकाले बाहिर जान मिल्दैन थियो । यसरी काम गर्दै छोरा छोरी पढाउन थाले ।
जुन समय मलाई आफ्नो दुःख केहि लागेन किनकी मैले आफ्नो पढ्ने इच्छा पूा अब छोराछोरीबाट गर्नुछ भन्ने सोच बनाएर अघि बढेको थिएँ । मैले तालिम दिनका लागि पुगेका ठाँउमा मैले देखेको कसैलाई पनि तरकारी उब्जाएर खाने तरिका थाहा थिएन जुन कुरा हामीले सिकाउन सफल भयौ ।
कतिले आफ्नै घरमा खानका लागि उत्पादन गर्थे भने कतिले व्यापारका लागि पनि तालिममा सिकेका कुरा लागू गरे । तालिमले धेरै जना व्यवसायिक समेत बने । यसरीनै काम गर्दै जाँदा मैले तालिम दिनकै लागि सिक्कीमसम्म पुग्ने अवसर पाएँ । काम गर्दै थिएँ कोरोनाले गर्दा यो कार्यक्रम बन्द भयो ।
त्यसपछि म अहिले कामविहिन भएको छु। यो समयमा मैले अहिले घरमै कुखरा पालन गरेको छु। कुखुरा पालनका लागि खोर व्यवस्थापन गरेर ब्रोइलर कुखुरा पालन गरेर पनि आम्दानी गरिरहेको छु। समयको सदुपयोग गर्नका लागि र आम्दानीको स्रोत बनाउनका लागि मैले आफुलाई खाली राख्नै चाहिन ।
किनकी दुःख, अभाव के हो मैले नजिकबाट नियालेको छु। जुन कुरालाई म आफ्ना छोराछोरीमा पार्न चाहन्न । अहिले म ५१ वर्षको भए तर मैले अझै धेरै गर्नु छ । म जबसम्म सक्छु काम गर्ने छु भन्ने सोच मेरो छ ।






