लागूऔषध सहित कुन्टी टोलबाट ६ जना पक्राउ

सुर्खेत, २७ चैत्र ।
लागु औषधसहित वीरेन्द्रनगरबाट ६ जना युवाहरु पक्राउ परेका छन् । शनिबार दिउँसो २ बजे वीरेन्द्रनगर–१० कुन्टी टोलबाट लागु औषध सहित पक्राउ परेका हुन ।
लागु औषध (ब्राउन सुगर) को कारोवार भैरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लागु औषध जस्तो देखिने शंकास्पद वस्तुसहित ६ जनालाई पक्राउ गरेको हो ।
सुर्खेत वीरेन्द्रनगर–१० बस्ने वर्ष २३ को रमेश शर्मा, वर्ष २० को असोक थापा, वर्ष २१ को करण रोकाया, वर्ष २१ को सुजन चौधरी, वीरेन्द्रनगर–२ बस्ने वर्ष २३ को लक्ष्मण दर्लामी र वीरेन्द्रनगर–११ बस्ने वर्ष १८ को संकर अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी निजहरुको शरीर खानतलासी गर्दा निजहरुको साथबाट ला.औ. (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेलापारी बरामद गरिएको थियो ।
मान्यता प्राप्त तराजुमा नापतौल गर्दा प्लाष्टिक सहित ५६० मिलीग्राम र प्लाष्टिक बाहेक ३६० मिलीग्राम लागु औषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ बरामद गरी निजहरु समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जनाइएको छ ।






