दक्षिण अफ्रिकालाई भारतले हरायो

काठमाडौं,४ असार ।

भारतले चौथो टी २० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकामाथि ८२ रनको जित निकालेको छ । यो जितसँगै पाँच खेलको सिरिज २–२ को बराबरी अवस्थामा पुगेको छ । जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६.५ ओभरमा ८७ रनमा समेटियो ।

यो दक्षिण अफ्रिकाले टी २० अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम योगफल हो । यसअघि दक्षिण अफ्रिकाको सबैभन्दा कम योगफल टि२० आईमा २०२० मा अष्ट्रेलियाविरुद्ध ८९ रन थियो । दक्षिण अफ्रिका रास्सी भान डर डुसेनले सर्वाधिक २० रनको योगदान दिए । ओपनर क्विन्टन डि ककले १४ रन बनाउँदा मार्को यानसनले १२ रन बनाए। ८ अफ्रिकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

हेनरिक क्लासेन ८, डेविड मिलर ९, केशव महराज शून्य, एनरिच नोर्किया एक र लुन्गी एनगिडी ४ रनमा आउट भए । अफ्रिकालाई सस्तैमा समेट्न आवेश खानले सर्वाधिक ४ विकेट लिए। युजभेन्द्र चहलले २ तथा हर्षल पटेल र अक्षर पटेलले १–१ विकेट लिए।

त्यसअघि राजकोटमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो। भारतका दीनेश कार्तिकले अर्धसतक पुरा गरे। २७ बलमा ९ चौका र २ छक्कासहित ५५ रन बनाएका कार्तिकको पहिलो टि २० आई अर्धशतक हो ।

अलराउन्डर हार्दिक पान्ड्याले ४६ रन जोडे। कप्तान तथा विकेटकिपर ऋषभ पन्त पुन खराब प्रदर्शन गर्दै १७ रनमा आउट भए। ओपनर ऋतुराज गायकवाड ५, ईशान किशन २६, श्रेयस ऐर ४ रनमा आउट भए । दक्षिण अफ्रिका लुन्गी एनगिडीले २ विकेट लिए। मार्को यानसन, एनरिच नोर्किया, ड्वेन प्रिटोरियसले र केशव महाराजले १–१ विकेट लिए ।

सुरूवात दुई खेलमा ७ विकेट र ४ विकेटले विजयी भएको दक्षिण अफ्रिकालाई भारतले तेस्रो खेलमा ४८ रनले हराएको थियो । पाँचौं तथा निर्णायक खेल आइतबार बेंगलोरमा हुनेछ ।

स्रोत ः सेतोपाटी

तपाईको प्रतिक्रिया