जसले सहकारीलाई अब्बल बनाउन धेरै मेहनत गरे

केशव शाही : प्रवन्धक/बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्था, वीरेन्द्रनगर
संघर्ष र सफलता अन्तरसम्बन्धित छन् । जहाँ संघर्ष हुन्छ, त्यहाँ सफलता मिल्छ । जीवनमा संघर्ष गर्नेहरु व्यक्तिगत जीवनमा मात्र होइन, सामाजिक जीवनमा पनि सफल बनेका छन् । एउटा व्यक्तिको मेहनत, लगाव र संघर्षले संस्थागत सफलता पनि हात लाग्छ । त्यसकारण नीति र नेतृत्व मात्र भएर पुग्दैन । सफल र इमान्दार नेतृत्वकर्ता पनि चाहिन्छ । जीवनमा सरकारी जागिर खाने रहर पालेर काठमाण्डौ पुगेका उनी सुर्खेत फिर्ता भए । आर्थिक अभावका कारण आफ्नो बाल्यकालको रहर पूरा गर्न नसकेका जाजरकोटका केशव शाही अहिले समाजमा रहेका अन्य व्यक्तिको जीवनस्तर उकास्ने र आर्थिक सवलीकरणको अभियानमा छन् । वीरेन्द्रनगरमा रहेको बन्धु विकास सहकारी संस्थामा प्रवन्धकको रुपमा कार्यरत छन् अहिले उनी । आजको जम्काभेटमा उनै शाहीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश
भाईबहिनी पढाउन व्यवसाय
एसएलसी पास भएपछि उनी वीरेन्द्रनगरमा आए । उनले प्लसटु पढ्न जन माविमा नाम लेखाए । पढाइलाई नै ध्यान दिने उनले २०६४ सालमा प्लसटु पास गरे । अनि उनीसँगै उनका भाइबहिनी पनि पढाइको लागि सुर्खेत आए ।
उनको बुवाको शिक्षक जागिरले मात्र भाईबहिनी पढाउन समस्या थियो । अनि उनले आफ्नो व्यवसाय शुरु गरे । शाहीले व्याचलर पढ्दै गर्दा उनले व्यवसाय संचालन गरेर पढे ।
उनको काँधमा भाईबहिनीहरु पढाउने जिम्मेवारी पनि भएकाले उनले आफ्नो व्यवसाय थालेका थिए। व्यवसायबाट आफ्नोसँगै भाईबहिनीहरुको पढाइ खर्च उनले धानेका थिए । काम गर्दै पढ्दै गरेका शाहीले साविकको बहुमुखी क्याम्पसबाट २०६९ सालमा स्नातक पास गरे ।
सरकारी जागिर खाने रहर अधुरै
स्नातक सकेर उनी लोकसेवा पढ्न काठमाडौं गए । केही समय त्यतै बसे । तर उनको काँधमा धेरै जिम्मेवारी थियो । बुवाको कमाइले मात्र भाईबहिनी पढाउन सम्भव भएन ।
उनी आफु निजामती कर्मचारी बन्ने इच्छा पुरा नगरी सुर्खेत फर्किए । सुर्खेतमा आएर एउटा नीजि ट्युसन सेन्टरमा काम गरे । काम गर्दै भाईबहिनीको पढाइ पुरा गराए ।
अनि सहकारी यात्रा
सुर्खेत आएपछि उनले सहकारीको बाटो समाए । वीरेन्द्रनगरमा रहेको बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थामा बजार व्यवस्थापकको रुपमा काम शुरु गरे । त्यही पदमा रहेर तीन बर्ष काम गरे । उनले धेरै मेहेनत गर्थे ।
उनको मेहेनत र लगनशीलतालाई देखेर सहकारीले व्यवस्थापकमा बढुवा गरिदियो । व्यवस्थापकको जिम्मेवारी आएपछि सहकारी संचालन र व्यवस्थापनलाई चुस्त बनाए । सहकारीको शेयर सदस्य बन्नेहरुको लर्को लाग्न थाल्यो ।
अहिले सहकारीमा पाँच हजार शेयर सदस्य छन् । विशेष गरेर कृषि, पशुपालन र अन्य व्यवसाय संचालनमा कर्जामार्फत सहयोग गरिरहेको छ ।
जीवनमा संघर्ष
सानैदेखि धेरै दुख र परिश्रम गर्दै आएका शाहीले आफ्नो पढाइलाई पहिलो प्राथमिकता दिन्थे । घरको काम गर्दै पढ्दै गरेर आफ्नो माध्यमिक तहको शिक्षा पुरा गरे ।
एकातिर आफ्नो पढाइ पुरा गर्नुपर्ने, अर्कोतिर भाईबहिनीको पढाइ पुरा गराउनुपर्ने जिम्मेवारी उनको काँधमा थियो । यति हुँदाहुँदै पनि उनले आफ् नो मेहनत र लगनशिलतालाई कायम राखे । आफुले पनि उच्च शिक्षा हाँसिल गरेर पाँच हजार जना शेयर सदस्य रहेको सहकारीको व्यवस्थापनको जिम्मेवारी पाइरहेका छन् ।
अबको योजना
मानिसका इच्छा र चाहना कहिल्यै पूरा हुँदैनन् । अर्थात एउटा सफलता प्राप्त भएमा मानिसले अर्को सफलताका लागि संघर्ष गर्दछ । सफलताबाट मानिस अघाउँदैन।
सफलताको भोकले मानिसलाई मेहनत गर्न उत्प्रेरित गर्दछ । उनको भावी योजना भनेको समाजसेवा गर्नेछ । विशेषगरी विकट क्षेत्रमा रहेका मानिसहरुको जीवनस्तर उठाएर सक्षम बनाउने योजना उनले बनाएका छन् ।






