कर्णालीका झण्डै तीनसय वटा मतदानस्थल अति संवेदनशील

सुर्खेत, ३० चैत ।
आगामी स्थानीय निर्वाचनमा कर्णाली प्रदेशभर झण्डै तीनसय वटा मतदानस्थल अति संवेदनशील मानिएका छन् । निर्वाचन सुरक्षा समितिले तयार पारेको विवरणअनुसार प्रदेशभर झण्डै तीनसय अर्थात दुईसय ९५ वटा मतदानस्थल अति संवेदनशील ठानिएका हुन् ।

जसमध्ये सुर्खेतमा २० वटा, दैलेखमा ४६ वटा, सल्यानमा ३८ वटा, रुकुमपश्चिममा १९ वटा र डोल्पाका २३ मतदानस्थल अति संवेदनशील छन् । त्यस्तै हुम्लाका नौ वटा, जुम्लाका ४० वटा, मुगुमा २६ वटा, कालीकोटमा ७३ वटा र जाजरकोटका एउटा मतदानस्थल अति संवेदनशील रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

त्यस्तै सुर्खेतका ८५ वटा, दैलेखका ५५ वटा, सल्यानका ६० वटा, रुकुपश्चिमका ४५ वटा, डोल्पाका २६ वटा, हुम्लाका ३० वटा, जुम्लाका १४ वटा, मुगुका १९ वटा, कालीकोटका २६ वटा र जाजरकोटका ५४ वटा मतदानस्थलहरु संवेदनशील ठानिएका छन् ।

त्यस्तैगरी सुर्खेतका ३३ वटा, दैलेखका ३५ वटा, सल्यानका १६ वटा, रुकुपश्चिमका १२ वटा, डोल्पाका १७ वटा, हुम्लाका १३ वटा, जुम्लाका २५ वटा, मुगुका १६ वटा, कालीकोटका एउटा र जाजरकोटका ३० वटा मतदानस्थल भने सामान्य रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

आगामी स्थानीय तह निर्वाचनमा प्रदेशभर कुल १० लाख एकहजार दुईसय ८२ जना मतदाताले भाग लिंदैछन् । निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आयोगले प्रदेशभर नौ सय सात मतदानस्थल र एकहजार तीनसय ८५ वटा मतदान केन्द्र निर्धारण गरेको छ ।

निर्वाचनको सुरक्षाको लागि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिने छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै निर्वाचनमा ठूलो संख्यामा म्यादी प्रहरीसमेत खटाइने छ । निर्वाचका लागि कर्णालीमा सात हजार सातसय १३ जना म्यादी प्रहरी भर्ना गरिएको छ ।

आगामी निर्वाचनमा सुर्खेतका दुई लाख ३८ हजार चारसय ४७ मतदाताले भाग लिदैछन् । निर्वाचनमा लागि यहाँ एकसय ३८ मतदानस्थल र दुईसय ९१ मतदान केन्द्र तोकिएका छन् ।

दैलेखमा एकलाख ५८ हजार चारसय ६९ मतदाताको लागि एकसय ३८ मतदानस्थल र दुईसय सात मतदान केन्द्रहरु निर्धारण गरिएका छन् । सल्यानमा एकलाख ५७ हजार सातसय १५ मतदाता छन् । त्यहाँ एकसय १४ मतदानस्थल र दुईसय एक मतदान केन्द्रहरु तोकिएका छन् ।

त्यस्तै आगामी निर्वाचनका लागि रुकुमपश्चिमबाट एकलाख चारहजार चारसय ८२ मतदाताले भाग लिन पाउने छन् । त्यहाँ ७६ मतदानस्थल र एकसय ३९ मतदान केन्द्र निर्धारण गरिएका छन् । त्यस्तै २२ हजार चारसय ४० जना मात्रै मतदाता रहेको डोल्पामा ६६ मतदानस्थल र ६६ वटै मतदान केन्द्रहरु निर्धारण गरिएका छन् ।

जाजरकोटका एक लाख तीन हजार आठसय ६९ मतदाताका लागि ८५ मतदानस्थल र एकसय ४२ मतदान केन्द्रहरु तोकिएका छन् । हुम्लामा ३२ हजार पाँचसय ८१ मतदाताले हुम्लामा ५२ मतदानस्थल र ५४ मतदान केन्द्र रहनेछन् ।

३५ हजार ८९ मतदाता रहेको मुगुमा ६१ मतदानस्थल र ६३ वटा मतदान केन्द्र, ६७ हजार सातसय ४४ मतदाता रहेको जुम्लामा ७९ मतदानस्थल र एकसय दुई वटा मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालय जनाएको छ ।

कालिकोटमा सबैभन्दा धेरै मतदानस्थल संवेदनशील
कालिकोटमा मात्रै ७३ वटा मतदानस्थल अति संवेदनशील ठानिएका छन् । आगामी निर्वाचनका लागि कालिकोटमा एकसय मतदानस्थल र एकसय १९ मतदान केन्दहरु निर्धारण गरिएका छन् ।

तिमध्ये एउटा मात्रै मतदानस्थल सामान्य रहेको छ । नौ स्थानीय तह रहेको जिल्लामा २६ वटा मतदानस्थल संवेदनशील छन् । त्यहाँ अघिल्लो निर्वाचनमासमेत मतदानस्थलमै झडप हुँदा एकजना उम्मेदवारको नै मृत्यु भएको थियो ।

भौगोलिक विकटताका कारण कालिकाटका अधिकांश मतदानस्थलसम्म यातायात र सञ्चारको सहज पहुँच छैन । यहीकारण त्यहाँका धेरैजसो मतदानस्थल सुरक्षाका हिसावले अति संवेदनशील मानिएका हुन् ।

यद्यपि शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने सुरक्षा समितिले जनाएको छ । कालीकोटमा मतदानस्थको सुरक्षाका लागि आठसय चारजना म्यादी प्रहरी भर्ना गरिएको छ । आउँदो निर्वाचनमा कालिकोटका ८० हजार चारसय १६ जना मतदाताले भाग लिने पाउनेछन् ।

निर्वाचन अधिकृत काममा खट्दै
निर्वाचन अधिकृतहरु काममा खटिने भएका छन् । स्थानीय तह निर्वाचनकाका लागि सरकारले दुई हप्ताअघि मात्रै न्यायाधीश र न्याय सेवाका राजपत्राङ्कित अधिकृतलाई निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो ।

निर्वाचन सम्बन्धी अभिमुखीकरण तालिमपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई काममा खटाउन लागिएको हो । निर्वाचन अधिकृतहरु तोकिएको स्थानीय तहको निर्वाचन कार्यालयमा बसेर काम गर्नेछन् ।

उनीहरुले उम्मेदवारको मनोनयन दर्ता, मनोनयन उपर उजुरी लिने, उजुरी उपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिन्ह दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरूपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने लगायतका कामहरु गर्ने छन् । निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतले गर्नेछ ।

तपाईको प्रतिक्रिया