‘जनता र पार्टीले विश्वास गरे वडाध्यक्षमा फेरि दोहोरिने छु’

सुरेश मानन्धर वडाध्यक्ष, वीरेन्द्रनगर नगरपालिका वडा नं–९, सुर्खेत

स्थानीय तहको नयाँ निर्वाचन आउँदो बैशाख ३० गते हुँदैछ । यसअघि निर्वाचित जनप्रतिनिधिको पाँच बर्षको कार्यकाल पनि अब सकिदै छ । यो अवधिमा स्थानीय तहले नागरिकका चाहना र अपेक्षाहरु पूरा गरेको दाबी गरिरहेका छन् । जनप्रतिनिधिको कार्यकाल सकिन अब केही महिना मात्र बाँकी छ । तर विदा हुँदै गर्दा हालका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा के प्रगती गरे ? चुनावको बेला जनतासँग गरेका बाचाहरु पूरा भए त ? यो अवधिमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ मा कस्ता काम भए ? यीनै विषयमा केन्द्रीत रहेर वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष सुरेश मानन्धरसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

हिजोआज के गर्दै हुनुहुन्छ ?
अहिले त विकास निर्माणको सिजन हो । त्यसकारण पनि वडामा भइरहेका विकासका काममा नै व्यस्त छु। विकास निर्माणको अनुगमनमा जुटेको छु । साथै जनताका दैनिक आवश्यकताको सम्बोधन गर्नेगरी मैले पाएको जिम्मेवारी पुरा गर्न लागिरहेको छु ।

वडामा विकासको अवस्था के छ ?
विकास को काम अन्तरगत विशेषगरी मंगलगढीदेखि काँक्रेबिहारसम्म जोड्ने सडकको काम नै हो । अहिले रफ्तारमा यसको काम भइरहेको छ । अन्य आन्तरिक सडकहरु पनि निर्माण भइरहेका छन् ।

जसअन्तरगत शिव माविदेखि चाँदनीचौक सम्मको सडक निर्माण भइरहेको छ । विभिन्न सिँचाइ कुलोहरु निर्माण भइरहेका छन् । अन्य साना योजनाका काम पनि चलिरहेका छन् ।

यसपालीको बजेटका प्राथमिकता के छन् ?
यसपालली हामीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याएका थियौं । त्यससँगै आन्तरिक सडक निर्माण र खानेपानी अन्तरगत डिपबोरिङको कामलाई पनि हामीले प्राथमिकता दिएका छौं ।

पूर्वाधार विकासको काममा बजेट धेरै देखिएपछि हामीले स्वास्थ्य र शिक्षा क्षेत्रलाई नै प्राथमिकता दिएर काम गरिरहेका छौं । जसअन्तरगत लाटीकोइली स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरेर १५ शैयाको बनाउन निर्माणको चरणमा अगाडी बढी सकेको छ । समग्रमा जनताका आवश्यकतालाई मध्यनजर गरेर बजेट कार्यान्वयन गरिरहेका छौं ।

काम गर्दा कस्ता चुनौती भोग्नुभयो ?
संघीयतापछिको हामी पहिलो जनप्रतिनिधि भयौँ । २० बर्षपछि स्थानीय तहमा जनप्रतिनिधि आउँदा जनतामा धेरै अपेक्षा थियो । तर हाम्रो स्रोत भनेको सानो थियो । जनताका थुप्रै अपेक्षा पुरा गर्नुपर्ने, त्यो पनि सिमित स्रोतमा ।

यो नै पहिलो चुनौती भयो । अर्को चुनौती भनेको कानुनको थियो । कानुन निर्माण नहुँदा काम कारवाही गर्न समस्या भएको थियो । तर पनि ति चुनौतीलाई पार गर्दै हामीले विकासको कामलाई अगाडी बढायौँ ।

वडाको मुख्य समस्या के छ ?
हाम्रो वडाको समस्या भनेको रत्नराजमार्गदेखि दक्षिणतर्फको भागमा गुरुयोजना नबन्दा पहिलो समस्या छ । सडक मापदण्डमा नबनेका लगत कट्टामा समस्याहरु छन् । जसले गर्दा वस्ती व्यवस्थापन गर्न नै ठुलो समस्या रहेको छ ।

गुरुयोजना बनाएर यो समस्या समाधान गर्न सक्नुपर्ने हुन्छ । जग्गा धनीहरुसँगको बिवादमै सडक विस्तारको काम अगाडी बढाउन समस्या भयो । दोस्रो भनेको सुकुम्बासी समस्या हो । आयोग बन्ने र भत्किनेमा नै समय जाँदा त्यो समस्या पनि छ ।

वडामा रोजगारी सिर्जना गर्ने योजना के छन् ?
हामीले आत्मनिर्भर र उत्पादनमुखी बनाउनको लागि विभिन्न कार्यक्रमहरु विगतदेखि नै संचालन गर्दै आएका छौं । विभिन्न चार वटा समुहरुलाई सामुहिक कृषि खेतीबाट आत्मनिर्भर बनाउन ४० जना महिलाहरुको लागि एक विगाह जग्गा भाडामा लिएर कृषिमा लगाएका छौं ।

पर्यटकीय क्षेत्र काँक्रेबिहारमा पनि केही व्यक्तीहरुलाई रोजगारी दिएका छौं । विभिन्न सीपहरु पनि सिकाउने काम गरिरहेका छौं । सँगै होटेल व्यवसाय गर्ने, कृषि गर्छु भन्नेहरुका लागि वडाबाट सहयोग गर्नेगरी विभिन्न कार्यक्रम संचालन गरिरहेको अवस्था छ । अहिले धेरै मानिसहरुको आत्मनिर्भरताको बाटोमा लागि रहनुभएको छ ।

जनतासँग गरिएका बाचा पुरा भए त ?
जनताको बिचमा गरिएका करिब ७० प्रतिशत प्रतिवद्धता पुरा भएका छन् । हामीले जनताको बिचमा जाँदा स्वास्थ्य गुणस्तरीय बनाउँछांै भनेका थियौँ । पाँच बर्ष अगाडी बर्थिङसेन्टर थिएन । अस्पतालमा इमेरजेन्सी सेवा थिएन । अहिले यी सेवाहरु संचालनमा छन् ।

एमविविएस डाक्टरबाट लाटिकोइली स्वास्थ्यबाट सेवा दिइरहेका छौं । शिक्षामा जनताको छोराछोरीलाई सामुदायिक विद्यालयमा आकर्षण गराउने गुणस्तरीय शिक्षामा जोड दिएका छांै । विकासमा पनि धेरै काम भइरहेको छ ।

सडक निर्माणदेखि भवन निर्माणसम्मको काम भइरहेका छन् । बाँकी रहेका प्रतिबद्धता र कामहरु पनि जनताले र पार्टीले विश्वास गरेको खण्डमा फेरि पनि वडा अध्यक्षमा दोहोरिएर पूरा गर्ने योजनामा छु ।

तपाईको प्रतिक्रिया