स्थानीय तह चुनाव, दल दर्ता आह्वान

काठमाडौं, २ फागुन
निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आउँदो बिहीवारदेखि दल दर्ता गर्ने तयारी गरेको बताएको छ ।
बिहीवार दल दर्ताका लागि आह्वान हुने र त्यसका लागि ११ दिनको समय दिने आयोगले जनाएको हो ।
आयोगमा अहिले एक सय तीन दल दर्ता छन् । यस्तै मतदाता नामावली अद्यावधिक गर्ने काम पनि भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।


नामावली अद्यावधिक गर्न अझै एक महिना लाग्न सक्ने उनले बताए । वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि झण्डै एक करोड ८० लाख मतदाता हुने आयोगले बताएको छ । २०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिन मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने आयोगको अनुमान रहेको छ ।
चुनाव हुने अघिल्लो दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मान्दा झण्डै दुई लाख जना मतदाता थपिने आयोगका प्रवक्ता पौडेलले बताए । यसअघि चुनावको मिति घोषणा भएको दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मानिँदै आएको थियो ।
मतदान गर्न १८ वर्ष पुग्नुपर्ने व्यवस्था भए पनि आयोगले १६ वर्ष पुगेर नागरिकता बनाएका सबैको नामावली सङ्कलन गर्दै आएको छ । आयोगका अनुसार २०७४ सालको चुनावमा एक करोड ५४ लाख २७ हजार ९ सय ३८ जना मतदाता थिए । पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको देखिन्छ ।

तपाईको प्रतिक्रिया