आमा र छोरीलाई पाठेघर उपहार

सृजना पोख्रेल । अलि दिनदेखि पिसाब फेर्न गाह्रो भइरहेको थियो । छिनछिनमै च्यापिरहने। कहिलेकाहीँ त दिक्क लागेर नछुनी हुँदा लगाउने टालो राखेर बस्थेँ । जचाउन चाहिँ गइनँ । तल शर्मिला दिदीलाई पनि त्यस्तै हुने रहेछ । शनिबार जंगल जाँदा भनिथिन्, ’उमेर पुगेपछि हामी आइमाईलाई यस्तै हो बड्डी ।’ मलाई नि लाग्यो, सबैलाई हुने भनेपछि खासै ठूलो कुरा त होइन होला । तर ज्याद्रै हुने रहेछ ।

के झोलिएको हो थाहा छैन । एकपटक बसेपछि उठ्न पहाडै उचाल्याजस्तो हुने । जिउभित्र जिउभन्दा भारी केही झुन्डिएजस्तो । कसैलाई भने पनि के भन्नू । धोती सारेर सासूलाई पिसाब फेर्नी ठाउँ देखाउन मिलेन । जचाउनु पनि कसरी । अहिले स्वास्थ्य चौकी गएपछि चार वर्ष दसैं खर्च पुग्ने पैसा एकैपटक लिन्छन् । यसै त तीन दिन भइसक्यो बिस्तारामा बहाना पारेको । बूढा दिनभर झिँजिएर बस्छन् । बिहान भात खान दिँदा, भात छाडेर मलाई खालान् जस्ता आँखा बनाउँदै थिए ।

यस्तो रिसमा उल्टै जचाउने पैसा त सपनामा पनि नसोचे भयो । बरू फेरि तिनै शर्मिला दिदीलाई भन्छु भनेर सोचेँ । यस्तो यस्तो भएको भनेर सुनाएको, बूढी त, ’ओहो । आङ खसेछ स्यानी, चुरा राखे ठीक हुन्छ रे’ पो भन्छिन् । लौ पिसाब फेर्ने ठाउँमा चुरा कसरी राख्नु ? भित्रै फुट्यो भने ? चोट लागेर भित्रैबाट रगत चुहिन थाल्यो भने ? ओहो ! सम्झिँदै टाउको घुमायो । डराएँ । डरले अप्ठ्यारोलाई सजिलो नबनाउने रहेछ । धौ हुन छाडेन । केही सीप नलागेपछि घाँस काट्न जानुअघि भान्सा गएँ । दराजभित्र राखेको निलो पोलिथिन निकालेर धोएँ ।

धुँदा पोलिथिनको कच्याक–कच्याक आवाजले कानैलाई अप्ठ्यारो भयो। तै पनि लिएर चर्पी गएँ । एउटा हातले चुकुल अड्याउँदै अर्को हातले बल्लतल्ल पट्याएर पिसाब फेर्ने ठाउँमा पोलिथिन कोचिदिएँ । चर्पीको ढोका खोलेर निक्लिँदै थिएँ, म त काठमाडौं पो आइपुगेछु । कहाँ, अस्पतालको बेडमा पो छु । छेउमा फेरि बूढा छैनन्, अर्कै मान्छे छ । डाक्टरसँग कुरा गर्दै थियो ऊ । मेरो पाठेघरको अपरेसन भएछ । भर्खर निकालेर फाल्यो रे । पापीहरूले राजकुमारी बस्ने दरबार नै निकालिदिएछन् । बेडको तन्ना मुठ्ठीले तान्दै रून थालेँ ।

नानाथरी कुरा खेल्न लागे मनमा– अब त केही काम गर्न सक्दिनँ होला । कति चाहिँ मान्छेले टोकसेको सुन्नुपर्ने हो । अफिस पनि छुट्छ पक्का । कहिलेदेखि अफिस गएकी छैन पनि थाहा छैन । चिटचिट पसिना आउन थाल्यो । भागेर अस्पतालको कोठा बाहिर निस्केको, अनकन्टार राति रहेछ । रातभन्दा धेरै खै के चिजले अत्यायो, म भर्खर फालेको पाठेघर सम्झिँदै बाटैबाटो कुद्न थालेँ । मानौं मेरो पाठेघर बाटोमै कतै छ, खोज्दै हिँडे भने भेटिन्छ अनि म फेरि जिउमा राख्न सकिहाल्छु । त्यसपछि त जन्मिहाल्छे मेरी राजकुमारी ।

घर त सबैलाई सुरक्षा दिने न्यानो ठाउँ हो । तर कति घरभित्रका पाठेघर साँच्चै सुरक्षित छन् होला ? नेपालमा हरेक वर्ष लगभग तीन हजार महिलाको शरीरमा जन्मिने पाठेघरको क्यान्सरले तीमध्ये करिब दुई हजार महिलाको ज्यान लिन्छ । नेपालका महिलालाई सबभन्दा बढी सताउने क्यान्सरमै पाठेघरको क्यान्सर पहिलो नम्बरमा आउँछ । यी रोग पत्ता लागेका आमाहरू मात्र हुन् । जचाउन अप्ठ्यारो लागेर, निःशुल्क उपचार हुन्छ भन्ने थाहै नपाएर, बाटो खर्चले तर्सिएर अस्पतालसम्म जान नपाएका अरू थुप्रै आमा छन् ।

अनि ती आमासँग मेरो छरिएको सपनाजस्तै थुप्रै कहालीलाग्दा भोगाइ छन्, जुन सुन्दा मात्रै पनि आङ सिरिंग गर्छ । जसरी आमा बच्चा पाउने मेसिन होइनन्, त्यसरी नै पाठेघर पनि केवल सन्तानलाई बास दिने घर होइन । यो आमाहरूको शरीरको अंग हो । हामीले आमा अनि आमाको कोखबारे कुरा गरेर संसार खायौं । तर यो बिर्सिएछौं कि कोख भनेको त पाठेघर नै हो । त्यही पाठेघर जो सन्तान जन्मिएर गएपछि पनि खाली हुँदैन, उल्टो थुप्रै रोगको सम्भावनाले भरिएर बस्छ ।

हामीलाई जीवन उपहार दिएको पाठेघरले जब आफूले उपहारमा रोग पाउँछ, तब बदला लिन आमालाई सताउन थाल्छ । यो रोग उपहार हामीले जानीजानी दिने होइन, हाम्रो बेवास्ताले दिने हो । बनिसकेका आमा, बन्न बाँकी आमा अनि आमा बन्नै नचाहे पनि जबर्जस्ती पाठेघर पाउने छोरी, कसैको पाठेघरले रोग उपहार पाओस् भन्ने चाहना कसैको हुँदैन । तर के नचाहेर मात्रै पुग्छ ? यी पाठेघरमा आउने रोग असाध्यै प्रतिस्पर्धी अनि दौडिन खप्पिस हुन्छन् ।

मौका पर्खेर बसिरहेका । हाम्रो सुरक्षा र हेरचाह कम हुनेबित्तिकै एउटा न एउटा रोग उपहार बनेर कुद्दै पाठेघर पुगिहाल्छ । त्यसैले नचाहेर मात्रै नपुग्ने रहेछ । साँच्चै पाठेघर बचाउनु छ भने, उपहारको मुखौटा लगाएर पुग्ने रोगभन्दा पहिले हाम्रा आफ्ना उपहार त्यहाँ पुग्नुपर्छ । देवीदेवता बस्ने घर पो पशुपतिजस्तो बलियो हुन्छ, भूकम्प आए पनि बाँचिरहन्छ । मान्छे बस्ने पाठेघर त मांसपेशी अलिकति नराम्ररी हल्लिँदैमा ढलिहाल्ने रहेछ । आमालाई आमा बनाउने ठाउँ हो पाठेघर । यसपालिदेखि हरेक वर्ष आमाको मुख हेर्ने दिनमा बरू आमाको पाठेघरलाई अस्पतालको मुख देखाइदिऊँ न !

मिठाइ, कपडा, गहनाको साटो यो उपहार कस्तो होला ? यति उपहार पाए आमाको पाठेघरमा रोग कुद्न पाउँदैन । कसैगरी कुदिरहेको रहेछ भने पनि आमालाई सताउन पाउँदैन । आमाहरू छोरी पनि हुन् । हुन त छोरीको बिहे हुनेबित्तिकै नाति÷नातिनीको हतारो लगाइदिने बाआमालाई उसको यौनसम्बन्ध पापजस्तो लाग्न नहुने हो । बाआमालाई छोरीले बिहेअघि यौनसम्बन्ध राख्ने त के, त्यसबारे कुरै नगरिदियोस् जस्तो लाग्छ । आफूले पचाउने कुरा पचाउन सकेनन् भन्दैमा बाआमालाई पापी भन्न पनि सकिँदैन ।

लौ बाआमा, ठीकै छ, त्यही नै सही । तर बिहेपछि त छोरीको यौनसम्बन्ध हुन्छ । कम्तीमा यति त मान्नुहुन्छ नि है ? उसो भए अब छोरीको बिहे बजेटबाट १५ हजार रूपैयाँ छुट्याइदिऊँ । बिहेको बजेट नै १५ हजार छ भने सबै खर्च यसैमा लगाइदिऊँ । लगभग १५ हजार पर्ने खोप छ एउटा, ह्युमन प्यापिलोमा भाइरसविरूद्धको खोप । यो खोप पहिलो शारीरिक सम्बन्ध हुनुअघि वा यो भाइरस संक्रमण हुनुअगावै २६ वर्षको उमेरसम्म लगाउन मिल्छ । यति एउटा खोपले मात्रै पाठेघरको मुखमा क्यान्सर हुने खतरालाई ८० प्रतिशत घटाइदिन्छ । अर्थात्, तपाईंको घरमा सुरक्षित हुर्किएकी छोरीको पाठेघरको सुरक्षा ८० प्रतिशत बढाइदिन्छ ।

आफ्नो पाठेघर बोकेर अर्काको नयाँ घर जान लागेकी छोरीलाई योभन्दा सुन्दर उपहार अरू के हुन सक्छ ? ती छोरी पछि आमा बन्ने–नबन्ने, उनको रोजाइको कुरा हो । तर छोरी र आमा भएकै कारण उनको ज्यान धरापमा नपरोस्, यति याद गर्नु बाँकी सबैको कर्तव्य हो । हुन त पहिलो कर्तव्य राज्यको हो । तर राज्यले हतार गरेन भन्दैमा कुनै छोरीको ज्यानको मूल्य त घट्दैन । अब अन्तिम र सबभन्दा उत्तम उपहार । यो उपहार हामी आफूले आफैंलाई । आज हामी कति धेरै यस्ता छोरी छौं जोसँग आफ्ना निर्णय अनि हक, दुवैको चाबी आफैंसँग छ ।

चाहेको दुनियाँ देख्न, मन लागेको गर्न चेत छ अनि हातमा आफैंले कमाएको पैसा पनि । त्यही कमाइबाट सपनाको घर बनाउन बैंकमा बचत समेत भइरहेको होला । तर घरमा त भोलि बस्ने हो । भोलि बाँच्ने हो । उसो भए आफूसँग आज बाँचिरहेको पाठेघरलाई बचाउन आजै खर्च किन नगर्ने ? खर्च पनि होइन, आफूमाथि लगानी किन नगर्ने ? आखिर आफूलाई भोलि दुःख पर्दा अरूले दुःख देखिदिने मात्रै हुन् । सहिदिने त होइनन् । छाला सुन्दर, सफा, स्वस्थ बनाउन कति हजार खर्चिन्छौं हामी । छाला पनि हाम्रै हो, स्वस्थ रहोस् । तर देखिने छालाभन्दा नदेखिने पाठेघर झन् चाँडै चाउरी पर्ने रहेछ । हामी आफू सुन्दर रहन पनि खर्च गर्ने पक्का, तर पहिले रहिरहन खर्च
गरौं न ल ।

(सेतोपाटीबाट)

तपाईको प्रतिक्रिया