जो सरकारी जागिर खाने सपना पूरा गर्न सुर्खेत झरे

घरपरिवार र छरछिमेक हरेक व्यक्तिका लागि पाठशाला हुन्  । किनकी मानिस जस्तो परिवेशमा हुर्कन्छ  । उसले उस्तै शिक्षादिक्षा आर्जन गर्छ  । व्यक्तिले आर्जन गर्ने ज्ञान, निर्धारण गर्ने लक्ष्य र उद्देश्य पनि ऊ हुर्केको परिवेशले फरक पर्छ  । यस्तै प्रभाव प¥यो राजेश आचार्यको जीवनमा पनि  । गाउँकै परिवेशका कारण उनी निजामति क्षेत्रमा होमिए  । माध्यमिक तहमा पढ्दै गर्दा गाउँमा लोकसेवा आयोग पास भएर सरकारी जागिर खाने होडबाजी नै चलेको थियो  । छरछिमेकका धेरै अग्रजहरु निजामति क्षेत्रमा थिए  । सँगैका साथीसँगी पनि सरकारी जागिर खाने उद्देश्यले पढ्दै थिए  । गाउँको त्यो लोकसेवामय वातावरणले राजेशको ध्यान तान्यो  । अनि सानैमा लोकसेवाको जागिर खाने लक्ष्य राखे  । उच्च शिक्षा पढ्दै गर्दा निजामति कर्मचारी बन्ने सपना पुरा गरे  । प्रस्तुत छ, खरिदार, नायव सुब्बा हुँदै हाल कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा अधिकृतको रुपमा कार्यरत उनै आचार्यको कर्मचारी क्षेत्रको अनुभव र जीवन भोगाइमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

राजेश आचार्य
अधिकृत, आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली

 

सुखद् बाल्यकाल

राजेश आचार्य गाउँमा जन्मिए । गाउँमै हुर्किए । गाउँमा दुःख पाइन्छ भने पनि उनले दुःखको महशुससमेत गर्न पाएनन् । मध्यम परिवारमा जन्मिएका उनको बाल्काल सुखद् रह्यो ।

बुवा धर्मराज र आमा लक्ष्मीदेवीको दोस्रो सन्तानको रुपमा २०४६ साल असार १२ गते नारायण नगरपालिका–६ भूर्तिमा उनको जन्म भएको हो । बुवा शिक्षण पेशा गर्ने भएका कारण आर्थिक अभाव झेल्नु परेन । कृषक परिवार भएका कारण मेलापात भने छुटेन । विद्यालय छुट्टी भएको दिन आमालाई मेलापातमा सघाउँथे ।

बुवाको निकै डर

हेडसर अर्थात जुनसुकै विद्यालयको प्रधानाध्यापक स्कुलको प्रशासक हो । विद्यार्थीलाई अनुशासित बनाउने, गल्ती गर्नेलाई कारबाही गर्ने र विद्यालयमा शैक्षिक गुणस्तर सुधार्न हेडसरको महत्वपूर्ण भूमिका रहन्छ । यहीकारण प्राय विद्यार्थीहरु हेडसरदेखि डराउँछन् ।

ठिक त्यही भूमिकामा थिए राजेशका बुवा धर्मराज पनि । यही कारण घरमा बुवाको प्यारो छोरा स्कुल जाँदा भने बुवादेखि नै डराउनुपर्ने अवस्था भयो । धर्मराज पञ्चदेवल प्राथमिक विद्यालय भूर्तिका हेडसर थिए । राजेशले त्यही विद्यालयबाट खकरा सिके । कक्षा ५ सम्मको पढाइ पूरा गर्दा भने बुवादेखि नै डराउनुपर्ने अवस्था आयो ।

‘बुवा स्कुलको हेडसर हुनुहुन्थ्यो’ राजेश भन्छन्, ‘सानोमा स्कुल जाँदा त आफ्नै बुवादेखि डर लाग्थ्यो ।’ कक्षा ६ देखि १० सम्मको पढाइ भने त्रिभुवन माध्यमिक विद्यालय नारायण बजारबाट पुरा गरे । २०६१ सालमा एसएलसी पास गरेका राजेशले सुर्खेतको अमरज्योति माध्यमिक विद्यालयबाट प्लसटु पुरा गरे ।

तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट स्नातक अध्ययन गरे । त्यसभन्दा माथिको पढाइ भने जागिरका कारण पुरा गर्न पाएका छैनन् । अध्ययनमा उनी मध्यमस्तरका विद्यार्थी हुन् । पढाइका अतिरिक्त हाँजिरी जवाफ, वक्तित्वकला र गीत संगितमा विशेष रुचि राख्थे ।

फुर्सद हुँदा लोकसेवाका किताव पढ्थे

गाउँमा केही अग्रजहरु निजामति क्षेत्रामा लागेका थिए । उनीहरुकै सिको गरेर अधिकांश युवाहरु लोकसेवा आयोगको तयारीमा थिए । गाउँ नै लोकसेवामय थियो । सानादेखि ठूलासम्मले सरकारी जागिरको अपेक्षा गर्थे । गाउँको यस्तो वातावरणले उनको ध्यान तानिसकेको थियो ।

‘गाउँका केही अग्रजहरु जागिरे थिए, सबैले जागिर खानुपर्छ भन्थे’ उनी भन्छन्, ‘गाउँको यही वातावरणका कारण म निजामति क्षेत्रमा आएको हुँ ।’ छरछिमेकका अग्रजलाई देखेर उनले पनि सानैमा सरकारी जागिर खाने सपना देखे । ९÷१० पढ्दादेखि लोकसेवामा रुचि बढाए । जागिर खाने उद्देश्य बोकेर उच्च शिक्षा पुरा गर्न सुर्खेत झरे । दाइसँग बसे । त्यसबेला उनका दाईले लोकसेवाको तयारी गर्थे ।

‘प्लसटु पढ्दा त लोकसेवा आयोगका किताव पढुपढुँ लाग्थ्यो’ उनी भन्छन्,‘फुर्सद मिल्यो कि दाइले पढ्ने आयोगका किताव हेरिहाल्थेँ ।’ प्लसटु पढ्दै गर्दा फुर्सद मिलाएर लोकसेवा आयोगको तयारी गरे । अन्ततः सानैदेखिको रुचि र निरन्तरको लगावका कारण २०६६ सालमा निजामति सेवामा प्रवेश पाए ।

आफ्नै जिल्लालाई निजामति क्षेत्रको पहिलो कर्मथलो बनाए । खरिदार पदमा रहेर दैलेखको तत्कालीन जिल्ला विकास समितिमा सेवा गरे । २०६८ सालमा नासु भएपछि बर्दियामा पुगे । २०७५ सालमा अधिकृत भएका उनी हाल कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत छन् ।

खरिदारमा पास हुँदा निद्रा लागेन

२०६४ सालको पुस २४ गतेको कुरा हो । राजेश पहिलो पटक खरिदारको लिखित परीक्षामा सफल भए । त्यो दिन जीवनको सबैभन्दा खुशीको क्षण थियो । ‘खरिदारको लिखित परीक्षामा पास भएको दिन खुशीले रातभर निदाउन सकिन’ उनले भने,‘मौखिक परीक्षा कस्तो होला ? प्राक्टिकल कसरी पास गर्ने होला जस्ता अनेक कुराहरु मनमा खेलिरहे ।’

सानैदेखिको कर्मचारी बन्ने सपना पुरा हुने भएपछि खुशीको सीमा थिएन । खुशीकै कारण उनी रातभर निदाउन सकेनन् । लोकसेवाको तयारी र उच्च शिक्षा पढ्दाका दुःख भने सम्झन लायक छन् । गुन्द्रकको झोलसँग भात खाएको दिन अहिले पनि विर्सिएका छैनन् ।

‘संघर्ष नै सफलता रहेछ’ उनी भन्छन्, ‘गुन्द्रुकको झोल खाएर पढ्न नसकेको भए अहिले यो स्थानमा हुने थिएँन ।’ विद्यार्थी जीवनमा थोरै खर्चले दैनिकी चलाए । निजामति क्षेत्रमा अघि बढ्न क्याम्पसको पढाइ छोडे । यही संघर्ष र निरन्तरको लगावले सफलता हात पारेको उनको तर्क छ ।

 

तपाईको प्रतिक्रिया