सातै प्रदेशमा एनवाइइएफको सञ्जाल, सुर्खेत च्याप्टरमा रावत

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)को शाखा सञ्जाल देशभरका सबै प्रदेशमा विस्तार भएको छ । कर्णालीको सुर्खेतमा मञ्चको दसौं च्याप्टर गठन भएसँगै सातै प्रदेशमा यसको सञ्जाल विस्तार भएको हो ।

युवा उद्यमी सन्देश रावतको अध्यक्षतामा एनवाइइएफ सुर्खेत च्याप्टर शनिबार गठन भएको मञ्चका केन्द्रीय अध्यक्ष प्रकाशदेव पालिखेले जानकारी दिए । ‘सुर्खेतमा च्याप्टर गठन भएसँगै देशभर सबै प्रदेशमा मञ्चको च्याप्टर सञ्जाल विस्तार भएको छ,’ उनले भने ।

पालिखेकै कार्यकालमा यसै वर्ष जनकपुर र वीरगन्जमा पनि मञ्चको च्याप्टर गठन भएका थिए । अन्य प्रदेशमा यस अगाडि नै मञ्चका च्याप्टर सक्रिय थिए । प्रदेश १ मा बिराटनगर र इटहरि, प्रदेश २ मा जनकपुर र विरगन्ज, बागमतीमा काठमाडौं र चितवन, गण्डकीमा पोखरा, लुम्बिनीमा रुपन्देही, कर्णालीको सुर्खेत र सुदुरपश्चिमको धनगढीमा मञ्चको च्याप्टर सञ्जाल सक्रिय बनेको छ ।

देशलाई समृद्धिमा लैजानका लागि उद्यमशीलताको विकास आवश्यक रहेको बताउँदै केन्द्रीय अध्यक्ष पालिखेले उद्यममा लागेका युवालाई समेटेर मञ्चलाई विस्तार गरिएको बताए । ‘सबै प्रदेशका उद्यमीहरुबीच समन्वय र सहकार्यको वातावरण बनाउन पनि च्याप्टरले सहयोगी भूमिका खेलेका छन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया