‘अमेरिका जाने रहर त्यागेर लोकसेवाको तयारीमा जुटे’

सयौं नेपाली युवाहरु हिजोआज विदेशमा छन् । बढ्दो बेरोजगार र महंगीका कारण युवाहरु विदेश पलाएन हुन बाध्य छन् युवाहरु । धन कमाउन र परिवारका आवश्यकता पूरा गर्ने उद्देश्यले विदेश जाने युवाहरुको ताँती नै लागेको छ । सायद, त्यही देखेर कुनै समय गणेशप्रसाद कोइरालालाई पनि विदेश जाने ठूलो रहर थियो । उनका केही साथीहरु अमेरिका पुगिसकेका थिए । केही अमेरिका जाने तयारीमा थिए । अमेरिकामा काम पाउन सक्ने भएकाले भौत्तिकशास्त्र अध्ययन गरे । तर स्नातकोत्तर पढ्दै गर्दा अमेरिका जाने उनको सोच बदलियो । लोकसेवा पास गरेपछि नेपालमै बसेर आवश्यकताहरु पुरा गर्न सकिन्छ भन्ने बुझे । लोकसेवामा निश्पक्ष र पारदर्शी ढंगले परीक्षा हुन्छ भनेर राम्रोसँग बुझे । र अमेरिका जाने योजना त्यागे । अनि लोकसेवाको तयारी गरे । तयारी थालेको पहिलो वर्षमै लोकसेवा पास गरे । लोकसेवा पास भएपछि विदेश जाने सपना सधैको लागि त्यागीदिए । प्रस्तुत छ, हाल दैलेखको नौमुले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यतर उनै कोइरालाको निजामति क्षेत्रको अनुभव जीवन भोगाइमा केन्द्रीत रहेर गरिएको कुराकानीको साराशं :

गणेशप्रसाद कोइराला

प्रमुख प्रशासकीय अधिकृत, नौमुले गाउँपालिका दैलेख

सुखद् बाल्यकाल

२०४५ साल फागुन २२ गते गणेशप्रसाद कोइराला मध्यम किसान परिवारमा जन्मिए । दैलेखको नागरायण नगरपालिका–३ खुर्सानीबारी भन्ने गाउँमै जन्मिए । गाउँमै हुर्किए ।

कहिले दैलेख त, कहिले दाङमा बाल्यकाल विताए । बुवा उदयराम र आमा लक्ष्मीदेवी कोइरालासँगै दैलेखबाट बसाइ सरेर दाङ पुगे । तर दाङको बसाई लामो भएन । पुनः गाउँमै फर्किए । किसान परिवारमा जन्मिएर हुर्किए पनि बाल्यकाल सुखद् रह्यो । धेरै दाजुभाई भएका कारण काममा दुःख भोग्नु परेन ।

पढाइमा सधै अब्बल
गणेश पढाइमा सानैदेखि अब्बल थिए । गाउँकै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कालिमाटी कखरा सिके । तर कक्षा १ पछि उनले त्यो विद्यालयमा पढ्न पाएनन् । बुवाआमासँगै बसाइ सरेर दाङ पुगे ।

दाङको वीरेन्द्र निम्न माध्यमिक विद्यालय खिलीतपुरबाट कक्षा २ देखि ५ सम्मको पढाइ पुरा गरे । त्यसपछि पुनः दैलेख फर्किए । दैलेखकै रेडक्रस माध्यमिक विद्यालयबाट कक्षा ६ र ७ अध्ययन गरे ।

त्यसपछि पनि दैलेख सुर्खेत झर्नुप¥यो । सुर्खेतको तत्कालीन जनमाविबाट कक्षा ८ देखि प्लसटुसम्म अध्ययन गरे । पढाइमा अब्बल भएका कारण साइन्स विषयमा उच्च शिक्षा पढे । जनमाविकै प्राङ्गणमा रहेको तत्कालीन पब्लिक साइन्स क्यापसबाट स्नातक तह उत्र्तीर्ण गरे ।  त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट स्नातकोत्तर तह पुरा गरेका उनी हाल पीएचडी अध्ययनरत छन् । पढाइमा उनी सधै अब्बल नै रहे । कक्षा १ देखि १० सम्म प्रथम भए ।


न विदेश, न ब्यापार
गणेशका दाजुभाइहरु व्यापार व्यवसाय गर्छन् । चार दाजु र एक भाई व्यापार व्यवसायमा लाग्दा उनलाई भने विदेश जाने रहर लागेको थियो । दाजुभाइले उनलाई पनि ब्यापार व्यवसायमा लगाउन चाहन्थे । तर आमाबुवाले भने उनलाई जागिर खाएको हेर्न चाहन्थे ।

गणेशले पनि जे जस्तो हुन्छ नेपालमै गर्नुपर्छ भन्ने जानेका र बुझेका थिए । क्याम्पस पढ्दै गर्दा ट्यूसन सेन्टर, बोर्डिङ स्कूलमा पढाए । तर पनि आफ्नै देशमा बसेर राम्रो आम्दानी र तनावमुक्त जीवन जीउन सकिन्छ भन्ने लागेन । त्यसपछि उनले अमेरिका पुग्ने योजना बनाए ।

उनीसँगैका केही साथीहरु अमेरिका पुगिसकेका थिए । अमेरिकामा भौतिकशास्त्र विषय अध्ययन गरेका व्यक्तिले राम्रो जागिर पाउँछन् थाहा थियो । निजामति क्षेत्रमा आउनु अघि उनी जसरी पनि अमेरिका पुग्न चाहन्थे । ‘प्राविधिक विषय पढेका व्यक्तिले अमेरिकामा राम्रो आम्दानी गर्छन् भन्ने थाहा थियो’ उनी भन्छन्, ‘अमेरिका जानकै लागि मैले पनि भौतिकशास्त्र पढेको हुँ ।’

अन्ततः उनले न व्यापार व्यवसाय अंगाले, न त अमेरिका नै पुगे । काठमाडौँ अध्ययन गर्दा लोकसेवा आयोगमा निश्पक्ष रुपमा जागिर खान सकिन्छ भन्ने थाहा पाए । अनि अमेरिकाको सपना छोडिदिए

ख्यालख्यालमै अधिकृत
काठमाडौँ पुगेपछि गणेशले लोकसेवाको तयारी गरे । समूहमा छलफल गरेर अध्ययन गर्ने बानीको विकास गरे । पहिलो पटक खरिदारको परीक्षा दिए । तर त्यहाँ सफल भएनन् । त्यसपछि उनलाई लोकसेवा पासै गर्न सकिदैन कि भन्ने पनि लाग्यो । पढाइमा थप मेहनत बढाए । समूहमा छलफल गरे ।

लेखनशैलीको विकास गरे । खरिदारमा असफल भएकै वर्ष उनी अधिकृत बन्न सफल भए । ‘खरिदारमै फेल भएको मान्छे अफिसर पास गर्न सकिंदैन भन्ने लागेको थियो’ उनी भन्छन्, ‘अधिकृत त ख्यालख्यालमै पास भएछु ।’
अन्ततः निजामति क्षेत्रमा आउन उनी जीवनमा सबैभन्दा धेरै खुशी मिल्यो ।

२०७४ सालमा अधिकृत भएपछि गाउँ जिल्लामा फर्किए । दैलेखको नारायण नगरपालिकालाई पहिलो कार्यथलो बनाए । हाल उनले नौमुले गाउँपालिकाको नेतृत्व सम्हाल्दै आएका छन् ।

आफ्नै क्षेत्रमा सेवा गर्ने रहर
गणेश दुर्गम क्षेत्रमा जन्मिए । विकास निर्माणले पछाडि परेको क्षेत्रमा बालापन विताए । अहिले राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा हुँदा आफ्नै गाउँठाउँको विकास निर्माणमा टेवा पु¥याउने उनका योजना छ ।

आफ्नो गाउँघरको सेवा गर्नको लागि दैलेख आएको उनी बताउँछन् । संघको कर्मचारी भएपनि स्थानीय तहमा बसेर सेवा गरेको बताउँछन् । दुर्गम क्षेत्रको विकास निर्माण र नागरिकलाई सेवा गर्न पाउँदा सन्तुष्टि प्राप्त हुने उनको तर्क छ ।

तपाईको प्रतिक्रिया