अधिकार नै नदिने हो भने जिससलाई खारेज गरौं

जिल्ला समन्वय समितिको मुख्य काम स्थानीय तहसँग समन्वय गर्ने हो । जिल्ला समन्वय समितिले समन्वय र अनुगमनको काम गर्ने व्यवस्था छ । तर जिससहरु आवश्यक स्रोत साधनमा कमजोर छन् । जिससका पदाधिकारी समेत भुमिकाविहिन छन् । जिससका पदाधिकारीले गरेको अनुगमनका क्रममा स्थानीय तहका योजनामा व्यापक अनियमितता भएको दैलेख जिससको दावी छ । अनुगमनका क्रममा सडक, खेलमैदान र तटबन्द निर्माणका नाममा अनियमितता बढेको पाइएको जिसस दैलेखका प्रमुख प्रेमबहादुर थापाले बताए । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानी सारांशः-

वितेको आर्थिक वर्ष जिल्लामा सम्पन्न योजनाको अनुगमन कस्तो रह्यो ?
समग्रमा ठिकै भयो । तर भनेको जस्तो अनुगमन हुन सकेन । हामीले ६ महिना अघि सभाको बैठकबाटै कार्यविधि तयार पारेर सोही अनुसारको अनुगमन टिम बनाएर काम थाल्न पालिकाहरुलाई पनि फरम्याट पठायौं । तर त्यसपछि लकडाउन सुरु हुदाँ अप्ठ्यारो भयो ।
लकडाउनको समयमा पनि पालिकालाई विकासे काम गर्न अनुरोध गरेका थियौं ।सबै योजनाको अनुगमन नगरे पनि केही योजनाको भने अनुगमन गरेका छौ । धेरै जसो योजनाको काम नभएर बजेट फ्रिज गएको पाइयो । बाँकी सम्पन्न भएका योजनाको काम पनि सन्तोषजनक नै छ । तर कतिपय योजना अधुरै रहेका छन् ।

समयमै निर्माणका काम नहुनुको कारण के होला ?
यसवर्ष कोरोना भाइरसको कारण देखाउदै धेरैजसो योजनाको काम नभएर बजेट फ्रिज गएको हो । जनप्रतिनिधि, उपभोत्ता र ठेकेदारका कारण पनि धेरै योजना अधुरै छन् । समग्रमा जिल्लामा ६० प्रतिशत विकासे बजेट फ्रिज गएजस्तो लाग्छ । जस्तै खानेपानी, सिचाइँ, तटबन्द, सडक, प्रदेश सामाजिक विकास मन्त्रालयले बनाउने भवनहरु लगायत विशेषगरी लकडाउनको कारणले सामाविक विकास मन्त्रालय र शिक्षा समन्वय ईकाइले बनाउन थालेका भवनको काम रोकिएको पाइयो ।

विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएकाले त्यहाँ बन्ने भवन निर्माणमा पनि समस्या भएछ । नौमुले र आठविसमा निर्माणधिन भवनको काम नै सुरु नभएको पायौ । सबैभन्दा नमिलेको भनेको प्रदेश कार्यालयबाट समयमा बजेट नआउने र बजेट आए पनि स्थानीय जनप्रतिनिधिलाई समेत थाहाँ नहुने, विषयगत कार्यालयमा कर्मचारी अभाव हुने जस्ता समस्याले पनि सबै आयोजनाको अनुगमन गर्न सकिएको छैन ।

योजना वितरण र काम गर्ने तरीकामा तालमेल नमिलेको हो ?
हो । वन कार्यालयलाई सडक जिम्मा दिएपछि कसरी काम हुन्छ ? अरुले वन जंगल फडानी गरे रोक्नु पर्नेमा वनले आफै सडक बनाउनुपर्ने यो खालको बाध्यता छ । अघिल्लो वर्ष हामीले समन्वय समितिको बैठकमा जिल्लाका सबै तहमा प्रमुख, उपप्रमुखलाई राखेर सुझाव पनि दिएका थियांै । वन कार्यालयलाई वन संरक्षण र फलफुल लगाएतका विरुवा रोप्ने, संरक्षण गर्ने कार्यमा लाग्न र सडक बनाउने जिम्मा नदिन सुझाब दिएका थियौ । किनकी जुन क्षेत्रको कार्यालय हो, त्यसले उही क्षेत्रमा काम गर्दा उपलब्धि हुन्छ । वन र कृषि कार्यालयलाई समेत बाटो खन्ने जिम्मा दिएर हँुदैन ।

दैलेखमा त डोजर आतंक नै छ भन्छन् नी ?
हामीले गतबर्ष नै डोजर आतंक अन्त्य गर्नुपर्छ भनेका थियौं । भिरालो खेतीयोग्य जमिन भएकाले जथाभावी बाटो खन्दा खेतीयोग्य जमिन पनि मासिदै गइरहेको छ । अर्कोतर्फ डोजर लगाउँदा पानीका मुल छिर्दै गएका छन् । यो जोखिमलाई ध्यानमा राखि बाटो बन्नुपर्ने हो ।
अब केन्द्र सरकारले मापदण्ड बनाएर धेरै सडक खनिएका ठाउँमा नयाँ सडक खन्न नपाइने बनाउनुपर्छ । सडकको नाममा डाडाँकाडाँको सबै माटो पानीले बगाएर नदीमा मिलाउने र वन जंगल सखाप पार्ने मात्रै काम भएको छ । फेरी बाटो नै किन बनाउँदा रहेछन् भने सबैभन्दा बिल मिलाउन सजिलो पनि त्यही बाटोमै हुने रहेछ । यसले भ्रष्टाचार गर्न पनि सजिलो हुने र केही सिमित व्यक्ति जो डोजर मालिक लगायत मात्रै मोटाउने भए । अहिले भ्रष्टाचारको अखडा भनेकै बाटो, खेलमैदान र तटबन्द बनाउने काममा छ । दैलेखमा बाटो, खेलमैदान र तटबन्दको नाममा धेरै नीतिगत घोटाला भएको पाइन्छ ।

अनुगमनमा जिसस र स्थानीय तहबिच कतिको समन्वय हुन्छ ?
संविधानले त समन्वय र सल्लाह गर्नु भनेको छ । तर स्थानीय तहले खासै समन्वय गर्दैनन् । हामीले बैठकमा स्थानीय तहको योजनामा स्थानीय तहकै जनप्रतिनिधिहरु अनुगमन गर्न पाउनुहन्न भन्दा सबै उपप्रमुखहरु उफ्रिनु भयो । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षका मान्छे नै उपभोक्ता समितिमा हुन्छन् ।

उनीहरु आफन्तलाई बचाउनका लागि पनि हामीलाई अनुगमनका लागि रिपोर्ट गर्दैनन् । कानुन अनुसार जनप्रतिनिधिका आफन्तहरु समितिमा बस्न नपाउने हुन् । तर यो क्रम रोकिएको छैन । आफुखुसी योजना सञ्चालन गर्ने र आफै योजनाको अनुगमन गर्ने काम गरिरहेका छन् । कुनै कुनै आयोजनामा अनुगमनका लागि समन्वय भए पनि हुनुपर्ने जती समन्वय भएको छैन । हरेक स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा अनुगमन टोली गठन भएको छ । उक्त टोलीले आफैले सञ्चालन गरेका योजना आफै अनुगमन गर्ने चलन छ ।

अन्त्यमा, जिससको भुमिकाप्रति तपाइँ के भन्नुहुन्छ ?
जिसस नै अन्यौतताका बिच चलिरहेको छ । जिससको भुमिकामा धेरै प्रस्टता छैन । अनुगमनका लागि मात्रै भनिएको छ । तर त्यो जिम्मेवारी पनि पूर्ण छैन । म त के भन्छु भने कि त नीतिगत रुपमा जिससलाई बलियो बनाउनु परयो । होइन भने खारेज गरे पनि हुन्छ । राज्यको ढुकुटी किन सिध्याउने ? जिसस सदस्यहरुको त भुमिका नै छैन । जिससका उपप्रमुखको पनि भुमिका छैन । अब प्रमुखकै भुमिका पनि अनुगमन र समन्वय गर्ने भनेको छ । यदी अनुगमनको पाटो हो भने हामीसँग आवश्यक साधानस्रोत सहितको विज्ञ अनुगमन टोली हुनुपर्ने हो । अहिलेसम्म त्यो पनि हुन सकेको छैन ।

अनुगमनका लागि आवश्यक साधनको पनि व्यवस्था छैन । हामीसँग विज्ञ प्राविधिक र कर्मचारी हुनुपर्छ । हामीलाई करारमा इन्जियिर राख्ने अनुमति पनि छैन । स्थायी कर्मचारी आउनै मान्दैनन् । अनी कुनै योजनामा कमजोरी छ, त्यसको भुत्तानी रोकौं भन्दा पनि सुनुवाइ हँुदैन । हामीले अनुगमन गरेर आग्रह गर्दा पनि भुत्तानी नरोकीने हो भने अनुगमनको के अर्थ ? अधिकार अनुसार काम गर्ने वातारण मिलाईएको छैन । यसबारे बारम्बार प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराउँदै छलफल पनि भएका छन् । तै पनि जिल्ला समन्वय समितिलाई भुमिकाविहिन बनाईएको छ । (२०७७ साउन १४ गते बुधबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

अधिकार नै नदिने हो भने जिससलाई खारेज गरौं

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइनको काम

अधिकार नै नदिने हो भने जिससलाई खारेज गरौं

कालीकाेटमा पहिरोले थप चारकाे मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds