समुदायमा फैलियो कोरोना रोकथाम र सतर्कतामा खेलाँची

सुर्खेत, ८ साउन ।
कर्णालीमा समुदायमा पनि कोरोना फैलिएको पुष्टि भएको छ । सरकारले लकडाउन हटाएपछि चहलपहल बढिरहँदा कोरोना संक्रमणको जोखिम थप बढेको छ । दैलेखमा सुमदाय स्तरमा गरिएको परीक्षणमा कोरोना देखिएको हो । बाहिरबाट नआएका र गाउँमै रहेका व्यक्तिहरुमा पनि कोरोना देखिएसँगै संक्रमण समुदायमा फैलिएको पुष्टि भएको हो ।

यसअघि भारत र प्रदेशभन्दा बाहिरबाट आएकाहरुमा मात्र कोरोना देखिएको थियो । यस्तै संक्रमितको सम्पर्कमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण देखिएको थियो । तर पछिल्लो समय लकडाउन अवधिभर गाउँमै रहेका र बाहिरबाट नआएकाहरुमा पनि कोरोना देखिन थालेको हो । समुदायमा पनि कोरोना देखिन थालेपछि चिकित्सकहरुले थप जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । असार २६ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरस संक्रमण पुष्टि भयो ।
उनको सम्पर्कमा आएका दुई प्रहरीमासमेत संक्रमण देखियो । सोहीदिन नै कर्णाली प्रदेश सभाका सांसद जीवनबहादुर शाहीमा पनि कोरोना संक्रमण पुष्टि भयो । त्यसको ठिक तीन दिनपछि अर्थात असार २९ गते वीरेन्द्रनगर नगरपालिकाका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुमात्रै होइनन्, सुर्खेतमा मात्रै समुदायका करिव ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
समुदायमा संक्रमित भएकामध्ये सबैभन्दा बढी स्वास्थ्यकर्मी छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, दश जना प्रहरी र अन्य गरेर ४० जना संक्रमण देखिएको छ । उसो त सुर्खेतमा मात्रै होइन, पछिल्लो समय कर्णालीका विभिन्न जिल्लामा समुदायका व्यक्तिमा संक्रमण पुष्टि हुनेक्रम बढ्न थालेको छ । विभिन्न जिल्लाको तथ्याङ्कअनुसार हालसम्म समुदायका करिव एकसय ५० जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।
जसमध्ये दैलेखका सबैभन्दा बढी अर्थात ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्सन थीरप्रसाद रेग्मीकाअनुसार संक्रमित मध्ये दुई जना जनप्रतिनिधि, ६ जना स्वास्थ्यकर्मी, १४ जना नेपाल प्रहरी, २८ जना सशस्त्र प्रहरी, आठ जना शिक्षक कर्मचारी, चार जना सञ्चारकर्मी र अन्य १६ जना गरी ७८ जना छन् । त्यस्तै जुम्लामा ६ जना स्वास्थ्यकर्मी, चारजना कर्मचारी र २५ जना सुरक्षाकर्मी संक्रमित भएका छन् । संक्रमित सबै क्वारेन्टाइन र आइसोलेसनमा खटिएका थिए ।
त्यस्तै कालिकोटमा पनि ट्राभल हिष्ट्री नभएको एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । जाजरकोटमा जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सुरक्षाकर्मी गरी कुल जम्मा चार जनामा संक्रमण पुष्टि भएको छन् । त्यस्तै सल्यानमा तीन जना कर्मचारीहरु सक्रिमित भएका छन् । संक्रमित कसैको पनि ट्राभल हिष्ट्री नै छैन । तर कुनै न कुनै माध्यमबाट संक्रमितको सम्पर्कमा आएको हुन् । बुधबारदेखि लकडाउन खुलेसँगै कोरोना समुदायमा कोरोना संक्रमणको जोखिम बढेको छ । यसले अवस्था जटिल हुने र समुदायमा फैलिदै गएमा महामारीको रुप लिने चिकित्सकहरुले चेतावनी दिएका छन् । लकडाउन खुलेसँगै समुदायमा महामारी फैलिने खतरा पनि बढेको छ ।
समुदायमा परीक्षण गर्दा भेटियो कोरोना
दैलेखमा पहिलोपटक समुदाय स्तरमा कोरोना परीक्षण गरिएको छ । समुदायसम्म कोरोना पुगेको छ÷छैन भनेर पुष्टि गर्न समुदायमा परीक्षण सुरु गरिएको हो । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्सन थीरप्रसाद रेग्मीका अनुसार समुदायका ४९ जनाको नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाको ठाँटीकाँध गाउँपालिका ४९ जनाको परीक्षण गर्दा वडा नं. १ र ३ का दुई÷दुई जना, वडा नं. २ का ६ जना, वडा नं. ४ का एकजना र वडा नं. ६ का पाँच जनामा संक्रमण पुष्टि भएको छ । ‘समुदायका ४९ जनाको नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भयो’ रेग्मीले भने, ‘पीसीआर रिपोर्टले दैलेखमा समुदायमै कोरोना फैलिएको पुष्टि ग¥यो ।’ ट्राभल हिष्ट्री अर्थात संक्रमित क्षेत्रबाट नआएकाहरुमा पनि कोरोना संक्रमण देखिन थालेको हो ।
पहिलो पटक ठाँटीकाँधका समुदायमा कोरोना परीक्षण गरिएको उनको भनाइ छ । कर्णाली प्रदेशका एकहजार सातसय ८३ जना संक्रमितमध्ये आधा अर्थात आठसय ३९ जना दैलेखका छन् । दैलेखमा हाल ८२ जना क्वारेन्टिन र ८६ जना आइसोलेसनमा छन् । क्वारेन्टाइन खाली हुँदै गएपछि समुदायमा परीक्षणको रणनीति बनाइएको छ । दैलेखका अन्य स्थानीय तहमा पनि समुदायममा परीक्षण थालिएको र रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।
‘लकडाउन मात्रै हटेको हो, जोखिम घटेको छैन’
सरकारले करिब चार महिना लामो लकडाउन हटाएको छ । तर कोरोना संक्रमणको जोखिम भने घटेको छैन । ‘कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ, तर जोखिम भने घटेको छैन’ स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले भने, ‘समुदायमा परीक्षण नगर्दासम्म र संक्रमित क्षेत्रबाट नागरिक फर्कनेक्रम नरोकिदासम्म जोखिम कम हुँदैन ।’ अझै पनि संक्रमणको जोखिम नघटेका कारण सामाजिक दुरी कायम गर्न र सबैले सुरक्षा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । ‘अहिले क्वारेन्टाइन र आइसोलेसनमा बस्ने नागरिकको संख्या घट्दो क्रममा छ’ उनले भने, ‘लकडाउन खुल्यो भनेर सामाजिक दुरी र सुरक्षा सावधानी अपनाउन छोड्नु हुँदैन ।’
सुरक्षा सावधानी अपनाउनु नै कोरोना संक्रमणबाट बच्ने सबैभन्दा उत्तम विकल्प भएको उनको बुझाइ छ । लकडाउन हटे पनि आवश्यक स्वास्थ्य सतर्कता र सावधानी अपनाउन उनले आग्रह गरे ।






