कर्णालीकाे राजधानीमा पर्यटनको विकास

चक्रप्रसाद ढुंगाना/नेपाल सरकारका राजश्व अधिकृत
संघीय गणतन्त्र नेपालमा स्थानीय सरकारहरुले संविधानतः स्वशासन र साझा शासनका अधिकारहरु पाएका छन् । विश्वका विरलै मुलुकहरु मध्ये नेपाल एक भाग्यमानी मुलुक हो । जँहा स्थानीय सरकारहरु स्वशासित राजनीतिक इकाईका रुपमा रहेका छन् । वित्तिय संघीयतामा खर्चको जिम्मेवारी, राजस्व अधिकार, योजनाको अधिकार र श्रोत व्यवस्थापन तथा जिम्मेवारी र उत्तरदायित्वका विभिन्न पक्षहरुलाई संविधानमा नै उल्लेख गरिएकोले नेपालको स्थानीय सरकारहरु स्थानीय तहको विकासको लागि बढि अधिकार सम्पन्न छन् । त्यसैले नेपालका स्थानीय सरकारहरुलाई ऐतिहासिक जिम्मेवारीका रुपमा आफ्नो स्थानीय तहको सर्वांंिगण विकास गर्नका लागि यो सुनौलो अवसर हो । प्रस्तुत सन्दर्भमा कर्णाली प्रदेशको राजधानी सहरसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाको सम्भावित पर्यटन विकासका लागि यो आलेखमा केहि चर्चा गर्ने प्रयास गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले पहाडी र भित्री मधेशका विभिन्न प्राकृतिक स्वरुपलाई आफुमा समाहित गरेको छ । यसको विविधतायुक्त भुगोग, जलवायु, सांस्कृतिक पक्ष, वनजन्य सम्पदा र अन्य प्राकृतिक पक्षलाई पर्यटन क्षेत्रको दिगो एवं दीर्घकालिन सोचको जगका रुपमा लिनुपर्ने हुन्छ । आजको विश्वमा पर्यटनलाई आर्थिक गतिविधिको केन्द्रमा राख्नुपर्ने हुन्छ । अन्य औद्योगिक प्रतिस्पर्धामा तुलनात्मक लाभको कमीले गर्दा वीरेन्द्रनगरले तत्काललाई अन्य स्थानीय सरकारहरुसँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले पर्यटन पुर्वाधार र गन्तव्यको विकास नै वीरेन्द्रनगरको सम्वृद्धीको एक अचुक अस्त्र हुन सक्दछ । त्यसका लागि यँहा केहि संभावित परियोजनाहरुको चर्चा गरिएको छ ।
कटकुवा बोटानिकल पार्क
वीरेन्द्रनगरको उपत्यकाको उत्तरी जलाधार तथा वन क्षेत्रका रुपमा हाल कटकुवा वन क्षेत्र रहेको छ । शहरदेखि पाँच किमिको दुरीमा रहेको उष्ण प्रदेशिय सदावहार र कोाणधारी वनको मिश्रणको रुपमा रहेको यो वन आफैमा एक प्रकृतिको अनुपम उदारहण हो । तर यसबाट नगरपालिकाले प्रत्यक्ष फाइदा लिनका लागि यो वनलाई बोटानिकल गार्डेनमा रुपान्तरण गर्नुपर्दछ । छिमेकी भारतमा शहरको नजिकमा रहेका यस्ता धेरै वनलाई बोटानिकल गार्डेनका रुपमा विकसित गरी पर्यटनको प्रमुख गन्तव्यका रुपमा विकास गरिएको छ ।
बोटानिकल गार्डेनले वनस्पतिको सही रुपमा जगेर्ना गर्नुका साथै त्यसको सुन्दरताका लागि पर्यटनलाई आकर्षित गर्दछ । अध्ययन अनुसन्धानका लागि अनुसन्धाताहरुको पनि यस्तो गार्डेन प्रमुख रोजाई हुन्छ । यस गार्डेनमार्फत नगरपालिकाले ठुलो मात्रामा रोयल्टी, शुल्क र अन्य आम्दानी प्राप्त गर्नेछ । नेपालमा वनको उपयोगको नीतिगत असामन्जस्यता रहेकोले यो काम जटिल चाँही छ । तर प्रदेश राजधानी नै सुर्खेत भएको सन्दर्भमा नगरपालिकाले यस वनको उपयोगका लागि प्रदेशसँग संयुक्त परियोजना संचालन गर्नु सान्दर्भिक हुन्छ ।
सिद्धपाईला मन्दिर
बैश्वानर पुराण तथा स्वस्थानी ब्रतकथामा उल्लेख भए बमोजिम सतिदेवीको पाईलाको चिन्ह रहेको यस पवित्र धार्मिकस्थलले हालसम्म कुनै स्थान पाएको छैन । उपत्यकादेखि करिव २० किमिको दुरीमा रहेको यो पवित्र स्थल समुन्द्र सतहबाट करिव ६६०० फिटमा रहेकोले यँहाको ठण्डा हावापानीले जोकोहीलाई पनि आकर्षित गर्दछ । यस पवित्र स्थललाई हिन्दहरुको महान आस्थाको केन्द्रका रुपमा विकास गर्न सकिन्छ । गोरखाको मनकामना जस्तो ठुलो धार्मिक स्थलका रुपमा यसलाई विकास र प्रचार गर्न सकिएमा नेपाल र भारतवाट समेत ठुलो संख्यामा धार्मिक पर्यटन भित्र्याउन सकिन्छ ।
हिल पार्क
शहरको नजिकको पहाडमा सिँढीसहितको एक पार्क शहरको ठुलो गहना हो । मर्निंगवाक तथा अन्य मनोरंजन र स्वस्थ वातावरणमा घुमघामका लागि यस्तो पार्क आधुनिक शहरमा जरुरी हुन्छ । बुटवल नगरपालिकाको हिलपार्क एक सुन्दर नमुना हिलपार्क हो । भुगोलले साथ दिएमा मात्र यस्तो पार्क वनाउन सकिन्छ । वीरेन्द्रनगरको वडा नं. १ स्थित सोलीघोप्टेवाट मैखल जाने वाटोलाई हिल पार्कका रुपमा विकास गर्न सकिन्छ । यस्तो पार्कमा मर्निंगवाल्क गर्नका लागि उचित व्यवस्था मिलाउनु पर्दछ । त्यहा मर्निंगवाल्क गर्न मिल्ने सिढीहरु निर्माण गर्न सकिन्छ । यसले आन्तरिक पर्यटन बढाउने मात्र होईन जनताको स्वस्थ्ये मा समेत उल्लेख्य विकास हुन्छ ।
सिद्धपाईला केवलकार
सिद्धपाईला मन्दिेरलाई ठुलो तिर्थका रुपमा विकसित गरे पश्चात त्यँहा सम्मको सहज पहुँचका लागि केवलकार एक संभावित पर्यटन गन्तव्य हो । केवलकारले यसक्षेत्र र अन्य प्रदेश तराईबाट समेत ठुलो संख्यामा पर्यटन भित्र्याउन सकिन्छ । यस्तो केवलकार परियोजना सार्वजनिक निजी साझेदारीका रुपमा विकास गर्न सकिन्छ ।
बयलकाँडा अल्ट्रालाईट
पोखरा उपत्यकालाई जसरी अल्ट्रालाईटबाट छोटो समयमा सयर गर्न सकिन्छ । ठिक त्यसैगरी सुर्खेत उपत्यका र यसका वरीपरीका संभावित क्षेत्रको दृष्यांकन गर्नका लागि बवलकाँडाका अल्ट्रालाईट सेवा उपलब्ध गराउन सकिन्छ । यसबाट वर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ति क्षेत्रहरु, भेरी नदीका बगरहरु र फाँटहरुको आकासबाट अवलोकन गर्न सकिने भएकाले पर्यटनका लागी यो ब्रेकथ्रु हुन जानेछ । यसका लागि प्रदेश सरकार र नगरपालिकाले नीतिगत सहायता दिन सक्नु पर्दछ । लगानीका लागि निजी क्षेत्रलाई आव्हान गर्नु पर्दछ ।
वयलकाँडा प्याराग्लाइडिङ
विगत केही समय सुरुवात भएको यो सेवा स्थगित भएको छ । यसलाई सुधार गरी पुनः संचालनमा ल्याउनु पर्दछ । निजी क्षेत्रलाई कर छुट, अन्य सहायता र पर्यटन प्रचार जस्ता सुविधा नगरपालिकाले दिनु पर्दछ । विगतमा भएका कमजोरी हटाउनु पर्दछ ।
खोर्केखोला प्राकृतिक वाटर पार्क
वाटर पार्क वर्तमान समयमा मनोरञ्जनको एक साधन हो । ठुला र विकसित शहरमा वाटर पार्कलाई एक शहरी सुविधाका रुपमा हेरिन्छ । सुर्खेत उपत्यकामा गर्मि बढ्दै गएको र भविश्यमा अझ बढ्ने भएकाले प्राकृतिक वाटर पार्कको नयाँ अवधारणा ल्याउनु पर्दछ । खोर्के खोलाको जिरो ड्याम ईलाकामा आधुनिक सुविधा सम्पन्न प्राकृतिक वाटर पार्क बनाउन सकेमा पर्यटन क्षेत्रको ठुलो विकास हुनेछ । यस्तो परियोजनामा लगानी पनि निजी क्षेत्रले गर्दछ । तर लगानीका लागि प्रोत्साहन, छुट, सहुलियतका लागि प्रदेश सरकार र नगरपालिकाले अहम् भुमिका खेल्नु पर्दछ । खोर्के खोलाको भित्री पाटोमा प्राकृतिक बन्यजन्तु पार्क निर्माण गर्नु पर्दछ । प्राकृतिक चिडियाखानाका लागि यो स्थान उपयुक्त भएकाले प्रदेश सरकारले तुरुन्त केन्द्र सरकारसँग समन्वय गरी आफै लगानी गर्नु उपयुक्त हुन्छ ।
भ्यूटावर रानीमत्ता
भ्यूटावर वर्तमान आधुनिक शहरको सभ्यताको सुचक मानिन्छ । रानीमत्ताको अग्लो स्थान समुन्द्र सतहबाट करिव ७,००० फिटको उचाईमा पर्ने भएकाले त्याँहा अद्भुत भ्युटावर निर्माण गर्नु पर्दछ । यसबाट तराईका फाँटहरु, दैलेख जाजरकोट लगायतका जिल्लाका पहाडहरु र सुन्दर हिमालको अवलोकन गर्न सकिन्छ । भ्युटावरको निर्माण प्रदेश सरकारले गर्ने र संचालनका लागि निजी क्षेत्रलाई दिन सकिन्छ ।
भेरीमा रयाफ्टिङ
विगतमा संचालनमा आई सकेको र्याफ्टिंग सेवालाई प्रचार पसार गरी आधुनिक सुविधाका साथमा संचालन गर्नु पर्दछ । सदावहार सेवाका लागि नदि को निश्चित क्षेत्र तोक्ने र त्य क्षेत्रमा पुर्वाधारहरु निर्माण गर्नु पर्दछ । भेरी नदीको किरनारमा भेरी पुलदेखी रानीघाटसम्म करिडोर बाटो निर्माण गर्न सकिन्छ । प्रदेश सरकारले यस तर्फ ध्यान दिन जरुरी छ ।
साईकल रिङरोड
सुर्खेत उपत्यकाको वरीपरीको रिंगरोड भन्दा बाहिर पहाडको गाँठैगाँठ पुरै उपत्यका घेर्ने गरी साईकल रिंगरोड बनाउनु पर्दछ । यसबाट साईकल सिटीको अवधारणा कार्यान्वयन गर्न सकिन्छ । साईकल दौड जस्ता खेलकुदमा यस प्रदेशलाई अगाडी बढनाउन सकन्छि । सुर्खेत नेपालका धेरै जंगल भएका क्षेत्र जिल्ला मध्ये एक हो । यँहाको जंगल सदावहार र समशितोष्ण प्रकारको जंगलको मिश्रणको रुपमा रहेको छ । त्यसैले जंगल सफारीका लागि सुर्खेतका जंगललाई प्रयोग गर्न सकिन्छ । भेरी किनार, मध्यवर्ति ईलाकाहरुमा यस्तो जंगल सफारी सेवा दिन सकिन्छ ।
भुगोल पार्क
काँक्रेविहार वा रेडियो नेपाल वा अन्य कुनै उपयुक्त खाली स्थानमा भुगोल पार्क निर्माण गर्न सकिन्छ । यस्तो पार्कमा बडेमानको र्पथ्वीको तस्विरहरु राखी समग्र विश्वलाई त्यही चित्रमा देखाउन सकिन्छ । शहरको सुन्दर विशेषताहरु मध्ये यस्ता पार्कहरु पनि आवश्यक हुन्छन् । यसो भएको खण्डमा वीरेन्द्रनगरको विकासमा नयाँ तरगं आउन सक्छ । पर्यटनकै माध्यबाट प्रदेश राजधानीले धेरै आम्दानी पनि लिन सक्छ । आन्तरिक आम्दानी भएको खण्डमा नगरले भौतिक विकासलाई बढवा पनि दिन सक्छ । यसका लागि नगरपालिकाको नेतृत्वले आगामी नीति तथा कार्यक्रमहरु तय गर्दा यसलाई विशेष ध्यान दिन आवश्यक छ ।
(लेखक सुर्खेत निवासी उहाँ नेपाल सरकारको शाखा अधिकृत पदमा कार्यरत हुनुहुन्छ)






