कर्णालीकाे राजधानीमा पर्यटनको विकास

चक्रप्रसाद ढुंगाना/नेपाल सरकारका राजश्व अधिकृत

संघीय गणतन्त्र नेपालमा स्थानीय सरकारहरुले संविधानतः स्वशासन र साझा शासनका अधिकारहरु पाएका छन् । विश्वका विरलै मुलुकहरु मध्ये नेपाल एक भाग्यमानी मुलुक हो । जँहा स्थानीय सरकारहरु स्वशासित राजनीतिक इकाईका रुपमा रहेका छन् ।  वित्तिय संघीयतामा खर्चको जिम्मेवारी, राजस्व अधिकार, योजनाको अधिकार र श्रोत व्यवस्थापन तथा जिम्मेवारी र उत्तरदायित्वका विभिन्न पक्षहरुलाई संविधानमा नै उल्लेख गरिएकोले नेपालको स्थानीय सरकारहरु स्थानीय तहको विकासको लागि बढि अधिकार सम्पन्न छन् । त्यसैले नेपालका स्थानीय सरकारहरुलाई ऐतिहासिक जिम्मेवारीका रुपमा आफ्नो स्थानीय तहको सर्वांंिगण विकास गर्नका लागि यो सुनौलो अवसर हो । प्रस्तुत सन्दर्भमा कर्णाली प्रदेशको राजधानी सहरसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाको सम्भावित पर्यटन विकासका लागि यो आलेखमा केहि चर्चा गर्ने प्रयास गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले पहाडी र भित्री मधेशका विभिन्न प्राकृतिक स्वरुपलाई आफुमा समाहित गरेको छ । यसको विविधतायुक्त भुगोग, जलवायु, सांस्कृतिक पक्ष, वनजन्य सम्पदा र अन्य प्राकृतिक पक्षलाई पर्यटन क्षेत्रको दिगो एवं दीर्घकालिन सोचको जगका रुपमा लिनुपर्ने हुन्छ । आजको विश्वमा पर्यटनलाई आर्थिक गतिविधिको केन्द्रमा राख्नुपर्ने हुन्छ । अन्य औद्योगिक प्रतिस्पर्धामा तुलनात्मक लाभको कमीले गर्दा वीरेन्द्रनगरले तत्काललाई अन्य स्थानीय सरकारहरुसँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले पर्यटन पुर्वाधार र गन्तव्यको विकास नै वीरेन्द्रनगरको सम्वृद्धीको एक अचुक अस्त्र हुन सक्दछ । त्यसका लागि यँहा केहि संभावित परियोजनाहरुको चर्चा गरिएको छ ।

कटकुवा बोटानिकल पार्क
वीरेन्द्रनगरको उपत्यकाको उत्तरी जलाधार तथा वन क्षेत्रका रुपमा हाल कटकुवा वन क्षेत्र रहेको छ । शहरदेखि पाँच किमिको दुरीमा रहेको उष्ण प्रदेशिय सदावहार र कोाणधारी वनको मिश्रणको रुपमा रहेको यो वन आफैमा एक प्रकृतिको अनुपम उदारहण हो । तर यसबाट नगरपालिकाले प्रत्यक्ष फाइदा लिनका लागि यो वनलाई बोटानिकल गार्डेनमा रुपान्तरण गर्नुपर्दछ । छिमेकी भारतमा शहरको नजिकमा रहेका यस्ता धेरै वनलाई बोटानिकल गार्डेनका रुपमा विकसित गरी पर्यटनको प्रमुख गन्तव्यका रुपमा विकास गरिएको छ ।

बोटानिकल गार्डेनले वनस्पतिको सही रुपमा जगेर्ना गर्नुका साथै त्यसको सुन्दरताका लागि पर्यटनलाई आकर्षित गर्दछ । अध्ययन अनुसन्धानका लागि अनुसन्धाताहरुको पनि यस्तो गार्डेन प्रमुख रोजाई हुन्छ । यस गार्डेनमार्फत नगरपालिकाले ठुलो मात्रामा रोयल्टी, शुल्क र अन्य आम्दानी प्राप्त गर्नेछ । नेपालमा वनको उपयोगको नीतिगत असामन्जस्यता रहेकोले यो काम जटिल चाँही छ । तर प्रदेश राजधानी नै सुर्खेत भएको सन्दर्भमा नगरपालिकाले यस वनको उपयोगका लागि प्रदेशसँग संयुक्त परियोजना संचालन गर्नु सान्दर्भिक हुन्छ ।

सिद्धपाईला मन्दिर
बैश्वानर पुराण तथा स्वस्थानी ब्रतकथामा उल्लेख भए बमोजिम सतिदेवीको पाईलाको चिन्ह रहेको यस पवित्र धार्मिकस्थलले हालसम्म कुनै स्थान पाएको छैन । उपत्यकादेखि करिव २० किमिको दुरीमा रहेको यो पवित्र स्थल समुन्द्र सतहबाट करिव ६६०० फिटमा रहेकोले यँहाको ठण्डा हावापानीले जोकोहीलाई पनि आकर्षित गर्दछ । यस पवित्र स्थललाई हिन्दहरुको महान आस्थाको केन्द्रका रुपमा विकास गर्न सकिन्छ । गोरखाको मनकामना जस्तो ठुलो धार्मिक स्थलका रुपमा यसलाई विकास र प्रचार गर्न सकिएमा नेपाल र भारतवाट समेत ठुलो संख्यामा धार्मिक पर्यटन भित्र्याउन सकिन्छ ।

हिल पार्क
शहरको नजिकको पहाडमा सिँढीसहितको एक पार्क शहरको ठुलो गहना हो । मर्निंगवाक तथा अन्य मनोरंजन र स्वस्थ वातावरणमा घुमघामका लागि यस्तो पार्क आधुनिक शहरमा जरुरी हुन्छ । बुटवल नगरपालिकाको हिलपार्क एक सुन्दर नमुना हिलपार्क हो । भुगोलले साथ दिएमा मात्र यस्तो पार्क वनाउन सकिन्छ । वीरेन्द्रनगरको वडा नं. १ स्थित सोलीघोप्टेवाट मैखल जाने वाटोलाई हिल पार्कका रुपमा विकास गर्न सकिन्छ । यस्तो पार्कमा मर्निंगवाल्क गर्नका लागि उचित व्यवस्था मिलाउनु पर्दछ । त्यहा मर्निंगवाल्क गर्न मिल्ने सिढीहरु निर्माण गर्न सकिन्छ । यसले आन्तरिक पर्यटन बढाउने मात्र होईन जनताको स्वस्थ्ये मा समेत उल्लेख्य विकास हुन्छ ।

सिद्धपाईला केवलकार
सिद्धपाईला मन्दिेरलाई ठुलो तिर्थका रुपमा विकसित गरे पश्चात त्यँहा सम्मको सहज पहुँचका लागि केवलकार एक संभावित पर्यटन गन्तव्य हो । केवलकारले यसक्षेत्र र अन्य प्रदेश तराईबाट समेत ठुलो संख्यामा पर्यटन भित्र्याउन सकिन्छ । यस्तो केवलकार परियोजना सार्वजनिक निजी साझेदारीका रुपमा विकास गर्न सकिन्छ ।

बयलकाँडा अल्ट्रालाईट
पोखरा उपत्यकालाई जसरी अल्ट्रालाईटबाट छोटो समयमा सयर गर्न सकिन्छ । ठिक त्यसैगरी सुर्खेत उपत्यका र यसका वरीपरीका संभावित क्षेत्रको दृष्यांकन गर्नका लागि बवलकाँडाका अल्ट्रालाईट सेवा उपलब्ध गराउन सकिन्छ । यसबाट वर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ति क्षेत्रहरु, भेरी नदीका बगरहरु र फाँटहरुको आकासबाट अवलोकन गर्न सकिने भएकाले पर्यटनका लागी यो ब्रेकथ्रु हुन जानेछ । यसका लागि प्रदेश सरकार र नगरपालिकाले नीतिगत सहायता दिन सक्नु पर्दछ । लगानीका लागि निजी क्षेत्रलाई आव्हान गर्नु पर्दछ ।

वयलकाँडा प्याराग्लाइडिङ
विगत केही समय सुरुवात भएको यो सेवा स्थगित भएको छ । यसलाई सुधार गरी पुनः संचालनमा ल्याउनु पर्दछ । निजी क्षेत्रलाई कर छुट, अन्य सहायता र पर्यटन प्रचार जस्ता सुविधा नगरपालिकाले दिनु पर्दछ । विगतमा भएका कमजोरी हटाउनु पर्दछ ।

खोर्केखोला प्राकृतिक वाटर पार्क
वाटर पार्क वर्तमान समयमा मनोरञ्जनको एक साधन हो । ठुला र विकसित शहरमा वाटर पार्कलाई एक शहरी सुविधाका रुपमा हेरिन्छ । सुर्खेत उपत्यकामा गर्मि बढ्दै गएको र भविश्यमा अझ बढ्ने भएकाले प्राकृतिक वाटर पार्कको नयाँ अवधारणा ल्याउनु पर्दछ । खोर्के खोलाको जिरो ड्याम ईलाकामा आधुनिक सुविधा सम्पन्न प्राकृतिक वाटर पार्क बनाउन सकेमा पर्यटन क्षेत्रको ठुलो विकास हुनेछ । यस्तो परियोजनामा लगानी पनि निजी क्षेत्रले गर्दछ । तर लगानीका लागि प्रोत्साहन, छुट, सहुलियतका लागि प्रदेश सरकार र नगरपालिकाले अहम् भुमिका खेल्नु पर्दछ । खोर्के खोलाको भित्री पाटोमा प्राकृतिक बन्यजन्तु पार्क निर्माण गर्नु पर्दछ । प्राकृतिक चिडियाखानाका लागि यो स्थान उपयुक्त भएकाले प्रदेश सरकारले तुरुन्त केन्द्र सरकारसँग समन्वय गरी आफै लगानी गर्नु उपयुक्त हुन्छ ।

भ्यूटावर रानीमत्ता
भ्यूटावर वर्तमान आधुनिक शहरको सभ्यताको सुचक मानिन्छ । रानीमत्ताको अग्लो स्थान समुन्द्र सतहबाट करिव ७,००० फिटको उचाईमा पर्ने भएकाले त्याँहा अद्भुत भ्युटावर निर्माण गर्नु पर्दछ । यसबाट तराईका फाँटहरु, दैलेख जाजरकोट लगायतका जिल्लाका पहाडहरु र सुन्दर हिमालको अवलोकन गर्न सकिन्छ । भ्युटावरको निर्माण प्रदेश सरकारले गर्ने र संचालनका लागि निजी क्षेत्रलाई दिन सकिन्छ ।

भेरीमा रयाफ्टिङ
विगतमा संचालनमा आई सकेको र्याफ्टिंग सेवालाई प्रचार पसार गरी आधुनिक सुविधाका साथमा संचालन गर्नु पर्दछ । सदावहार सेवाका लागि नदि को निश्चित क्षेत्र तोक्ने र त्य क्षेत्रमा पुर्वाधारहरु निर्माण गर्नु पर्दछ । भेरी नदीको किरनारमा भेरी पुलदेखी रानीघाटसम्म करिडोर बाटो निर्माण गर्न सकिन्छ । प्रदेश सरकारले यस तर्फ ध्यान दिन जरुरी छ ।

साईकल रिङरोड
सुर्खेत उपत्यकाको वरीपरीको रिंगरोड भन्दा बाहिर पहाडको गाँठैगाँठ पुरै उपत्यका घेर्ने गरी साईकल रिंगरोड बनाउनु पर्दछ । यसबाट साईकल सिटीको अवधारणा कार्यान्वयन गर्न सकिन्छ । साईकल दौड जस्ता खेलकुदमा यस प्रदेशलाई अगाडी बढनाउन सकन्छि । सुर्खेत नेपालका धेरै जंगल भएका क्षेत्र जिल्ला मध्ये एक हो । यँहाको जंगल सदावहार र समशितोष्ण प्रकारको जंगलको मिश्रणको रुपमा रहेको छ । त्यसैले जंगल सफारीका लागि सुर्खेतका जंगललाई प्रयोग गर्न सकिन्छ । भेरी किनार, मध्यवर्ति ईलाकाहरुमा यस्तो जंगल सफारी सेवा दिन सकिन्छ ।

भुगोल पार्क
काँक्रेविहार वा रेडियो नेपाल वा अन्य कुनै उपयुक्त खाली स्थानमा भुगोल पार्क निर्माण गर्न सकिन्छ । यस्तो पार्कमा बडेमानको र्पथ्वीको तस्विरहरु राखी समग्र विश्वलाई त्यही चित्रमा देखाउन सकिन्छ । शहरको सुन्दर विशेषताहरु मध्ये यस्ता पार्कहरु पनि आवश्यक हुन्छन् । यसो भएको खण्डमा वीरेन्द्रनगरको विकासमा नयाँ तरगं आउन सक्छ । पर्यटनकै माध्यबाट प्रदेश राजधानीले धेरै आम्दानी पनि लिन सक्छ । आन्तरिक आम्दानी भएको खण्डमा नगरले भौतिक विकासलाई बढवा पनि दिन सक्छ । यसका लागि नगरपालिकाको नेतृत्वले आगामी नीति तथा कार्यक्रमहरु तय गर्दा यसलाई विशेष ध्यान दिन आवश्यक छ ।
(लेखक सुर्खेत निवासी उहाँ नेपाल सरकारको शाखा अधिकृत पदमा कार्यरत हुनुहुन्छ)

कर्णालीकाे राजधानीमा पर्यटनको विकास

रारा जाने छोटो बाटो निर्माण कार्य अन्तिम

कर्णालीकाे राजधानीमा पर्यटनको विकास

सुनको भाउ फेरि एकलाख नाघ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds