कर्णालीमा दशैं र तिहारमा सुरक्षार्थ साढे तीन हजार प्रहरी खटाइने

सुर्खेत, २९ असोज ।
दशैं र तिहार हिन्दु नेपालीका सबैभन्दा ठूला चाड हुन् । अब दशैं पनि नजिकिदै छ । बजारमा किनमेल गर्नेहरुको चलहपल बढेको छ । घरहरु रंगिन थालेका छन् । तर योवर्ष पहिलाजस्तो उत्साह भने छैन । कोरोना महामारीका कारण गाउँ फर्कने यात्रुको भीड कमै छ । तर पनि कोरोना महामारीकैबीच दशैं–तिहार भित्रिदै छन् ।

दशैं–तिहार नजिकिदै गर्दा प्रहरीले पनि विशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वमा हुने चोरी डकैती र हिंसाका घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले कर्णाली प्रदेश प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको हो । मदिराका कारण हुने घरेलुहिंसा, चोरीडकैती र यात्रुलाई सहज बनाउनका लागि विशेष प्रहरी परिचालन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका सह–प्रवत्ता प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद श्रेष्ठका अनुसार चाडपर्वमा हुने चोरी डकैती र अपराध नियन्त्रणका लागि प्रदेशभर तीन हजार सातसय ८९ जना प्रहरीलाई खटाइएको छ ।
चाडपर्व अवधिभर वडादेखि जिल्ला र प्रदेशको राजधानीमा विशेष प्रहरी परिचालन गरिने एसपी श्रेष्ठले बताए । जसमा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधानलाई कारबाहीदेखि घरले मदिरा नियन्त्रण लगायतका सुरक्षा योजनाहरु छन् । घरेलु मदिराका कारण झै–झगडा र घरलेहिंसा बढ्ने भन्दै मदिरा नियन्त्रण अभियान सञ्चालन गरिएको हो । त्यस्तै अपराध र चोरीडकैती नियन्त्रणका लागि सादा पोषकामा प्रहरीको छुट्टै टोली खटाइएको श्रेष्ठले जानकारी दिए । उनकाअनुसार वीरेन्द्रनगर लगायतका ठूला सहरमा प्रहरीले रातीमा नियमित गस्ती गर्नेछ । नागरिकहरु गाउँ गएको मौका छोपी शहरमा चोरी डकैतीका घटनाहरु हुने भन्दै रातीमा पनि सहरमा प्रहरीले गस्ती गर्ने भएको हो ।
त्यस्तै चाडपर्वमा बढी कारोबार हुने क्षेत्र, बंैक तथा वित्तिय संस्थाहरुमा प्रहरीले निगरानी बढाएको छ । बैंक तथा वित्तिय संस्थामा दिउँसो चोरी डकैती हुन सक्ने भन्दै प्रहरीले ति क्षेत्रमा निगरानी बढाएको हो । बैंक क्षेत्रमा ब्याकअप सहितको सीसी क्यामेरा जडान गर्न भनेको छ । कारोबार बढी हुने क्षेत्रमा सादा पोषाकका प्रहरीसमेत खटाइएको छ ।त्यस्तै यात्रुहरुको सहजताका लागि ठाउँठाउँमा चेकिङ र यात्रु सहायता कक्षा राखिएको छ । दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीको समन्वयमा सडकमा निगरानी बढाएको हो । तोकिएभन्दा बढी भाडा लिने र क्षमताभन्दाबढी यात्रु बोक्ने सवारी साधानलाई कारबाही गरिनेछ ।
एकसय ९० स्थानमा मोवाइल गस्ती
दशैं, तिहार र छठ पर्वमा हुने अपराध अनुसन्धान लागि कर्णाली प्रदेश प्रहरीले एकसय ९० स्थानमा मोवाईल गस्ती खटाउने भएको छ । शहरका गल्लीदेखि दुर्गमका टोलटोलसम्म प्रहरीको मोवाइल गस्ती खटाइने कर्णाली प्रदेश प्रहरी कार्यालय सह–प्रवत्ता एसपी श्रेष्ठले जानकारी दिए । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, जिल्लास्थित बजार क्षेत्र, गाउँपालिका र वडावडामा प्रहरीको मोवाइलल गस्ती खटाइने छ ।
एसपी श्रेष्ठकाअनुसार २८ स्थानमा सुरक्षा चेकजाँच, ३९ स्थानमा ट्राफिकसहित आकस्मिक चेकजाँच र २४ स्थानमा यात्रु सहायता कक्ष राखिएको छ । झै–झगडा, चोरी, लुटपाट, जुवातास र मादक पदार्थको सेवन रोक्न ७६ स्थाननमा प्रहरी खटिनेछ । प्रदेशका २० वटा धार्मिक तथा पर्यटकीय स्थलमा सुरक्षा खटाइएको छ । त्यस्तै आवश्यकता अनुसार राजमार्गमा स्कटिङ र बजार अनुगमनका लागि १७ वटा प्रहरी टोली खटिने कार्यालयले जनाएको छ । त्यस्तै प्रदेशभर विभिन्न ३१ वटा बैंक तथा बित्तिय संस्था र आर्थिक कारोबारबढी स्थानमा प्रहरीले सादा पोषाकमा प्रहरी खटाइएको छ । हिमाली जिल्लाहरुमा सुरक्षा अपुग हुन सक्ने भन्दै दंगा नियन्त्रण कार्यालय नेपालगञ्जबाट र गणबाट पनि थप सुरक्षाकर्मी झिकाइएको एसपी श्रेष्ठले जनाए ।
२४ स्थानमा यात्रु सहायता कक्ष
यस्तै चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत प्रहरीले कर्णालीका सबै जिल्लामा यात्रु सहायकता कक्ष स्थापना गरेको छ । कर्णालीका १५ वटै जिल्लाका बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष निर्माण गरिएको हो । जसअन्तर्गत सुर्खेतमा रहेको सुर्खेत बसपार्क, सल्यानको सिरीनगर बसपार्क, रुकुमपश्चिमको खलंगा बसपार्क, चौरजहारीको खलंगा बसपार्क, दैलेख सदरमुकामको बसपार्कमा यात्रु सहायकता कक्ष स्थापना गरिएको छ ।
त्यस्तै कालिकोटस्थित सदरमुकाम बसपार्क, जुम्ला खलंगाको बसपार्क र मुगुको गमगढीमा पनि यात्रु सहायत कक्ष निर्माण गरिएको हो । त्यस्तै सुर्खेतको छिन्चु, दैलेखको रामक र सल्यानको सल्लीबजार, रुकुमपश्चिमको चौरजहारी लगायता क्षेत्रमा पनि यात्रुहरुको सहायकताको लागि खटाइएको छ । यात्रुलाई सुरक्षित गन्तव्यमा पु¥याउने उद्देश्यले यात्रु सहायता कक्षा चालनमा ल्याइएको हो । सहायता कक्ष दशैँ–तिहार अवधिभर सञ्चालन हुनेछ । यात्रामा कुनै समस्या आइपरेमा सहायता कक्षमा खबर गर्न सक्नेछन् । सहायता कक्षमा चौबिसै घण्टा प्रहरी खटिने छ ।
छैन प्रहरीलाई चाडपर्व विदा
दशैं र तिहारमा प्रायः सबै कर्मचारीले विदा पाउँछन् । सरकारीदेखि निजी संघसंस्थामा कार्यरत कर्मचारीका लागि दशंै–तिहारमा विदा हुन्छ । रोजगारी र अन्य कामको सिलसिलामा टाढिएका आफन्तहरु पनि दशंैतिहारले नै भेटघाट गराउँछ । तर देशको सुरक्षार्थ खटिने प्रहरी तथा अन्य सुरक्षाकर्मीलाई भने दशंै–तिहार विदा पाउँदैनन् । अन्य समयभन्दा चाडपर्वमा चोरीडकैती बढ्ने भएपछि प्रहरीले भइपरीआएको अवस्थाबाहेक अन्य सुरक्षाकर्मीलाई चाडपर्व विदा छैन । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार किरिया बस्नुपर्ने, विरामी र सुत्केरी अवस्था बाहेक अन्य प्रहरीका लागि विदा नदिइने जनाएको छ ।






