छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

अमर सुनार
दैलेख, २३ मंसिर ।
महिला माथि हुने हिंसा अन्त्यको लागि लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान चलिरहेको बेला दैलेखमा १४ वर्षीया छोरी बलात्कारको आरोपमा एक जना ३८ वर्षीय बाबुलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको मौकामा मङ्सिर १९ गते दिउँसो ४ बजेतिरको समयमा घरकै कोठामा बोलाएर बलात्कार गरेको उजूरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

ठूलो दाई परिवार सहित भारतमा बस्तै आएका, सानो दाई जिल्ला सदरमुकाममा मजदूरी गर्ने, दुई दिदीहरु विवाह भइसकेकोले पीडित यी साइली चाहिंले सबै भन्दा सानो बहिनी ८ वर्षको बहिनीको रेखदेख गर्थिन् । बुबा र आमाले सधैंजसो मदिरा सेवन गरी लडाई झगडा गरिरहन थालेपछि सानी बहिनीको रेखदेख अहिले बलात्कृत भएकी बालिकाले गर्दै आएकी छिमेकीले बताएका छन् ।

उनले आफू माथि पटक पटक बलात्कार भएको साथीसंगतिलाई भनेपछि घटना जानकारीमा आएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण आजै दैलेख अस्पतालमा भयो । आरोपितलाई हिरासतमा राखी अनुसन्धान सुरु भएको डीएसपी श्रेष्ठले बताउनुभयो । लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान चलिरहेको अवधिमा बलात्कार घटनाका यो सहित दुई वटा दर्ता भएको प्रहरीको अभिलेखमा छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारका अनुसार गएको साउन यता ४ वटा बलात्कार, २ वटा बलात्कार प्रयास, ३ वटा बालयौन दुव्र्यवहार घटना भएका छन् । साउनदेखि यो समयमा बहुविवाह १५ वटा, १८ जनाले झुण्डि आत्महत्या र ५ जनाले बिष सेवन गरी ज्यान गुमाएको प्रहरीको अभिलेख छ ।

तपाईको प्रतिक्रिया