सम्पादकीय : अनलाइन कक्षाका चुनौति
कर्णाली प्रदेश भौगोलिक विकटताले गर्दा राष्ट्रिय विद्युत प्रशारण सबै जिल्लामा पुग्न सकेको छैन । कर्णालीका आधा जिल्ला विद्युतको पहुँच बाहिर छन् । विद्युत नपुगेको स्थानमा इन्टरनेटको पहुँच न्यून अवस्थामा रहेको छ । विद्युत र इन्टरनेट एक अर्कोविच परिपुरक छन् । विद्युतको सहज आपूर्ति हुने स्थानमा इन्टरनेटको पनि सहज पहुँच पुगेको छ । प्रयोगकर्ताहरुका लागि तारसहितको इन्टरनेट सहज र सस्तो पर्न जान्छ तर ताररहित मोवाईल फोनको डाटाबाट उपयोग गरिने इन्टरनेट केही महंगो पर्न जान्छ । यसले गर्दा कर्णालीका आम विद्यार्थीहरु इन्टरनेटको पहुँच बाहिरनै रहेको तथ्य र सत्यनै हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन भर्चुअल कक्षा सञ्चालन गरिरहेको छ । कोरोना भाइरसको सन्त्रास र लकडाउनमा पनि इन्टरनेटको पहुँचमा हुने विद्यार्थीहरुका लागि भर्चुअल कक्षा सञ्चालन गरिएको हो । सञ्चालित कक्षामा न्यून संख्यामा विद्यार्थीहरुको सहभागिता हुने गरेको छ । अनलाइन कक्षा सञ्चालन गर्दै विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउनु आफैमा चुनौतिपूर्ण र एक सुनौलो अवसर पनि हो । इन्टरनेटको पहुँच छैन भन्दै विद्यार्थी र प्राध्यापकबाट विरोध हुने गरेका छन् । विरोध समाधान होइन । समय र परिस्थिति अनुकुल विश्वविद्यालयलाई दौडाउनु नेतृत्वको बुद्धिमतापूर्ण निर्णय र प्रशंसनिय कार्य हो । विद्यार्थी र प्राध्यापकलाई प्रविधिमा जोड्दै कर्णाली जस्तो ठाउँमा प्रविधिमैत्री बन्नु आफैमा अवसर हो ।
कर्णाली प्रदेशमा १८ प्रतिशत सामुदायिक विद्यालय मात्र इन्टरनेटको पहुँचमा रहेको छ । कर्णाली शिक्षा समूहले हालै सार्वजनिक गरेको एक सर्वेक्षणमा यहाँका कूल सामुदायिक विद्यालयमध्ये १८ दशमलब ४० प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा रहेको छ । सबै स्थानीय तहहरू समेट्ने गरी इन्टरनेट तथा सञ्चारको पहुँच भए नभएका विद्यालयहरूको नक्सांकन समेत सार्वजनिक गरिएको छ । कर्णालीमा तीन हजार ३८ सामुदायिक विद्यालय छन् । इन्टरनेट र सञ्चारको पहुँचमा रहेका अधिकांश विद्यालय सुगम ठाउँका हुन् । सबैभन्दा बढी सुर्खेतका एक सय २२ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच छ । दैलेखमा ८७, रुकुम– पश्चिममा ६१, जाजरकोटमा ६२, जुम्लामा २८, सल्यानमा ६१, कालीकोटमा ५४, मुगुमा १८, हुम्लामा २८ र डोल्पामा २७ वटा विद्यालयमा इन्टरनेट जोडिएको छ । सर्वेक्षणले ९ दशमलव ५४ प्रतिशत विद्यालय नेपाल टेलिभिजनको पहुँचमा रहेको छ । स्थानीय टेलिभिजनको पहुँच भएका विद्यालय भने पाँच दशमलव ९१ प्रतिशत मात्रै छन् । रेडियो नेपालको पहुँच भएका विद्यालय ८३ दशमलव १९ प्रतिशत र स्थानीय एफएम रेडियोको पहुँच भएका विद्यालय ७४ दशमलव १६ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ । प्रदेशका आठ दशमलव ९१ प्रतिशत विद्यालय कुनै पनि विद्युतीय सञ्चारमाध्यमको पहुँचमा छैनन् ।
अनलाइन कक्षाका लागि कम्प्यूटर, ल्यापटप र मोवाइल विद्यार्थीहरुको अनिवार्य आवश्यकता हुन । त्यही प्रविधिलाई नै पढाइसँग जोडिदिँदा विद्यार्थीहरुको पढाइ नै रुचिपूर्ण र खोजमुलक बन्दै जानुपर्छ । पाठ्यक्रम विकास केन्द्रले पनि पाठ्यपुस्तकको एप्सहरु सार्वजनिक गरेको छ । अब विद्यार्थीको एउटा मोवाइलमा नै सम्पूर्ण विषयका पाठ्यपुस्तकहरु अट्ने भएका छन् । मन लागेको बेला उनीहरुले मोवाइल र ल्यापटपमा कुनैपनि विषयका पुस्तक पढ्न सक्ने भएका छन् । यसले हाम्रो शिक्षण सिकाइ प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लगेको छ । यसले पक्कै पनि पाठ्यपुस्तक कहिले आउँला र पढौंला पढाउँला भन्ने मानसिकतालाई बदलिदिनेछ । प्रविधिमा जोडिँदै विद्यार्थीहरुले आफ्नो सिकाई क्रियाकलाप घरमै बढाउन सक्नेछन् । (२०७७ साउन २६ गते साेमबार प्रकाशित)







