सडक मर्मतको ठेक्का तोडियो

रुकुमपश्चिम, २२ असोज ।

सम्झौताअनुसार काम नभएपछि चौरजहारी नगरपालिकाले सडक मर्मतको जिम्मा पाएका ठेकेदारसँग सम्झौता तोडेको छ । नगरपालिकाले वर्षाका कारण अवरुद्ध भएका सडकको मर्मतका लागि २ ठेक्का खोलेको थियो । तर तोकिएको समयभित्र र सम्झौताअनुसार काम नभएको भन्दै ठेक्का तोडिएको हो ।

नगरपालिकाले दुवै ठेक्काको जिम्मा एचबी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रालिलाई दिएको थियो । ४० लाख रुपैयाँमा खोलिएका दुवै ठेक्का कम्पनीले झण्डै ५० प्रतिशत घटेर लिएको थियो । नगरपालिका र कम्पनीबीच ७ दिनमा काम सक्ने गरी गत असोज ८ गते सम्झौता भएको थियो । कम्पनीको आग्रहअनुसार थप ३ दिनको म्याद थप्दा पनि काम हुन नसकेपछि जिल्लास्तरीय अनुगमन टोलीको सिफारिसमा ठेक्का तोडिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । सम्झौता रद्द भएसँगै उक्त काम नगरपालिका आफैले सुरु गरेको उनको भनाइ छ ।

दसैंअघि नै बाढी– पहिरोले क्षति पु¥याएका सबै सडक मर्मत गरिसक्ने नगरपालिकाको योजना छ । सम्झौताअनुसार निर्माण कम्पनीले २ सय ७० किलोमिटर सडकको ८४ हजार घनमिटर माटो हटाउनुपर्ने थियो । मंगलबार प्राविधिकसहित राष्ट्रियसभा सदस्य ठगेन्द्रप्रकाश पुरी, जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलगायतको टोलीले सडकको अनुगमन गरेको थियो । अनुगमनपछि टोलीले सम्झौता अनुसारको काम नभएको भन्दै ठेकेदार कम्पनीलाई कानुनी कारबाही गर्न सिफारिस गरेको थियो । मर्मत तथा सफाइ गरिएको भनिएको चिप्लेटीदेखि नार्जि, मलामेडाँडा, सिलिंगी र भुरुङखोला सडकमा कामै नभएको पाइएको जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले बताए । उनका अनुसार स्टामेटअनुसार काम नभएको, खाल्डाखुल्डी नपुरेको र पहिरो नहटाएको पाइएपछि कारबाहीको सिफारिस गरिएको हो ।

तपाईको प्रतिक्रिया