सम्पादकीय : कानुन कार्यान्वयन

संविधान देशको मुल कानुन हो । यही कानुनको आधारमा समाजलाई व्यवस्थित बनाउने प्रयास गरिन्छ । समाजलाई मात्र होइन, देशलाई नै व्यवस्थित रुपमा संचालन गर्न कानुन आवश्यक पर्दछ । आज संसारका असधिकांश देशमा काुनन छन् । तर विश्वभरको संविधान र कानुन एकै प्रकारको हुनु पर्दछ भन्ने छैन । देशको सामाजिक अवस्था, संस्कृति र मानवीय चेतनाको आधारमा कानुनहरु निर्माण हुन्छन् । अझ भन्नुपर्दा कुनै देश वा समाजमा कानुनविपरित मानिने क्रियाकलापहरु अन्य स्थानमा सामान्य हुन सक्छन् । यसकारण पनि समाजको चेतना स्तरको आधारमा कानुनहरु निर्माण हुन्छन् । ति कानुनको निर्माण व्यवस्थापिकाले र कार्यान्वयन कार्यपालिका अर्थात देशको सरकारले गर्दछ । नेपालमा पनि हालसम्म धेरै संविधान निर्माण भए । शान्ति सुरक्षा र अमन चयन कायम गर्न धेरै प्रकारका कानुनहरु पनि बने । तर तिनको सही रुपमा कार्यान्वयन हुन सकेन । कानुन कडाइका साथ कार्यान्वयन नहुँदा समाजमा अहिले पनि विभिन्न प्रकारका अपराधहरु मौलाएका छन् । अपराधीहरु उम्कने र पीडितले न्याय नपाउने अवस्था विद्यमान छ । अझ भनौं पीडितले पाउनुपर्ने न्याय पहुँचवाला र बाठाटाँठाको हातमा केन्द्रीत भइरहेको छ ।

कानुन कार्यान्वयन गर्ने मुख्य निकायमा अदालत र प्रहरी नै हुन् । अदालतले कानुनको ब्याख्या गरेर दण्ड र जरिवाना तोक्ने काम गर्दछ । अदालतको आदेशलाई कार्यान्व्यन गर्ने काम प्रहरीको हो । तर कतिपय घटनामा अदालतका आदेशहरु कार्यान्वयन हुन सकिरहेका छैनन् । अदालतले दोषी ठहर गरे पनि अपराधीहरु कानुनको कठघरामा आउन सकेका छैनन् । यसमा प्रहरीको अनुसन्धान प्रक्रिया र सक्रियतामा कमी हो । प्रहरीले अनुसन्धानलाई तीव्रता दिएर जाँगर चलाउने हो भने कानुन कार्यान्वयन गर्न र अपराधीहरु पक्रन कठिन छैन । तर यसमा प्रहरीको रुचि र सक्रियता आवश्यक पर्दछ । देशका अन्य प्रदेशको तुलनामा कर्णालीमा अपराधहरु कम हुने गरेको तथ्यांक छ । तर पनि कर्णाली अपराधबाट मुक्त छैन । यहाँ पनि विभिन्न प्रकारका अपराधहरु भइरहेका छन् । त्यसमा पनि अदालतबाट सजाय तोकिएका अपराधीहरु कानुनको दायारामा आउन सकेका छैनन् । अहिले पनि अदालतबाट कैद तथा जरिवाना तोकिएका अपाराधीहरु समजामा खुलेआम हिँडिरहेका छन् ।

समाजलाई अपराधमुक्त बनाउन कानुनको कडाइका साथ कार्यान्वयन हुन जरुरी छ । पीडितले न्याय र अपराधीले सजाय पाएको खण्डमा मात्र समाजमा शान्ति सुरक्षा कायम हुन सक्छ । यसका लागि प्रहरीले अपराध तथा अनुसन्धानलाई प्रभावकारी बनाउन जरुरी छ । यस्तै अपराधको अनुसन्धान प्रक्रियालाई समयानुकुल परिवर्तन गर्दै लैजानु आवश्यक छ । सूचना र प्रविधिको पहुँचसँगै अपराधको शैली बदलिएको छ । यही अनुसार प्रहरीले आफूलाई पनि अपडेट गर्नुपर्ने हुन्छ । पछिल्लो समय कर्णालीमा प्रहरीले फरार अपराधीहरु समात्ने अभियान संचालन गरेको छ । कानुन कार्यान्वयनको पक्षमा यो अभियान सकारात्मक छ । यसलाई प्रहरीले अझै शसक्त बनाउनु पर्दछ । अपराधीलाई सजाय र पीडितलाई न्याय दिलाउनेतर्फ प्रहरी संगठन अझ सक्रिय बन्नुपर्ने हुन्छ । (२०७७ साउन १९ गते युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया