च्याउ खाँदा एकै घरका चार जनाको मृत्यु

जाजरकोट, १४ साउन ।
विषालु च्याउ खाँदा एकै परिवारका चार जनाको मृत्यु गएको छ । जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर १ का चार जनाको मृत्यु भएको हो । एक जनाको गाउँमै र तीन जनाको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको हो ।

यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाँदा स्थानीय टेकबहादुर चलाउनेसहित परिवारका आठ जना बिरामी परेका थिए । त्यसक्रममा चलाउनेकी तीन बर्षीया छोरी अञ्जनाको सोमवार गाँउमै मृत्यु भएको थियो ।यस्तै कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ बर्षिया छोरी औसरा, १३ बर्षिया छोरी धनसरा र ११ बर्षिया नातिनी निरुता चलाउनेको मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताए ।

विषालु च्याउ खाएर गम्भिर विरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि सोमवार नै सुर्खेत ल्याइएको थियो । साथै अब विरामी परेका एक जनाको अवस्था गंभिर रहेको र तीन जनाको अवस्था सामान्य रहेको डा. पौडेलले बताए । ढिलो गरी अस्पताल ल्याइएको हुँदा च्याउको विषले धेरै असर गरिसकेकाले धेरै प्रयास गर्दा गर्दा पनि बचाउन नसकिएन डा. पौडेलले बताए । घरमुली ५० बर्षीय टेकबहादुर चलाउने, ३० बर्षीय छोरा ललित चलाउने, ३० बर्षीया बुहारी कल्पना चलाउने र छोरी पशुपति चलाउनेको अहिले सुर्खेतमै उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया