विपद् जोखिम न्युनिकरणमा गम्भिर हुन मुख्यमन्त्रीको निर्देशन

सुर्खेत, २९ असार ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विपद् जोखिम न्युनिकरणका लागि गम्भिरता पुर्वक लाग्न निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले अबको ३ महिना विपद् प्रतिकार्यमा केन्द्रीत हुनुपर्ने बताए ।

मुख्यमन्त्री शाहीले विपदको घटना जानकारी पाउने वित्तिकै प्रभावकारी रुपमा उद्धारकार्य गर्न निर्देशन दिए । वर्षायामको शुरुवात संगै बाढी, पहिरो, डुवान, सडक अवरोध लगायतका विपदका घटनाहरु बढ्ने भन्दै मुख्यमन्त्री शाहीले उच्च सतर्कता र प्रतिकार्यको तयारीमा रहनुपर्ने धारणा राखेका थिए ।

उद्धार कार्यको लागि जनपथको नेतृत्वमा हरेक स्थानीय तहमा उद्धार टोली निर्माण गरि सक्रिय वनाउने, उद्धार कार्यका लागि आवश्यक सामाग्रीको व्यवस्था मिलाउने, विपद प्रभावित समुदायको लागि खाद्यान्न, लत्ताकपडा लगायतका वन्दोवस्तीका सामाग्री व्यवस्थापन गर्न समेत मुख्यमन्त्री शाहीले निर्देशन दिएका छन् ।

उद्धार तथा उपचारको लागि यातायात पहुँच भएका क्षेत्रमा एम्वुलेन्स र पहुँच नभएका क्षेत्रका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्ने बताए । मुख्यमन्त्री शाहीले पहिरोका कारण सडक अवरुद्ध हुन नदिन निर्देशन गर्दै सडक अवरोध हटाउन निश्चित दुरीमा पायक पर्ने गरि स्काभेटर तयारी अवस्थामा राख्नुपर्ने बताए ।

उनले खाद्यसंकट हुन नदिन तथा आपतकालीन अवस्थाका नागरिकलाई खाद्य आपुर्तीका लागि हरेक जिल्लामा खाद्यान्न भण्डार गर्न आग्रह गरेका छन् । विपद प्रतिकार्यमा प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, दातृ निकाय लगायतको एकिकृत प्रयास हुनुपर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया