समयमा पुल नबनेपछि रुकुम पश्चिमका स्थानीय आक्रोशित

प्रचण्ड खत्री
रुकुम पश्चिम, ९ असार ।
रुकुम पश्चिमको बाफिकोट गाउपालिका र मुसिकोट नगरपालिकालाई जोड्ने गाराघाट मोटरे पुल निर्माणमा ढिलाई भएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् । तीन बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने जिम्मा नागार्जुन कन्ट्रक्सनले पाएको थियो ।

नागार्जुन कन्ट्रक्सनले चार बर्ष ६ महिना सम्म जम्मा ५ प्रतिशत काम सम्पन्न गरेको छ । समयमै काम सम्पन्न नगर्ने कम्पनीले काम छोड्नु पर्ने स्थानीयहरुको माग छ ।

पुल निर्माण भइहेको स्थानमा वर्षाका कारण बस्ती जोखिममा परेको छ । स्थानीयले बस्ती जोखिममा रहेको भन्दै ठेकेदार कम्पनीले तारजालीको व्यवस्था गरिदिनु पर्ने स्थानीय चन्द्र बहादुर शाहीले बताए । स्थानीय कर्ण बहादुर खत्रीका अनुसार पुल निर्माणको कामलाई तिव्र्र गतिमा अगाडी बढाउनुपर्ने बताए ।

उता पुल निर्माणमा लागेका मजदुरले अहिलेसम्म ज्याला नपाएको भन्दै दुखेसो गरेका छन् । ठेकेदारले काम गरेको ज्याला नदिएको र ज्याला माग्दा कामबाट निकाल्ने गरेको मजदुर रतिभान केसीको भनाई छ ।

कामको जिम्मा पाएको कम्पनी नागार्जुन कन्ट्रक्सनका सुपरभाईजर नविन घिमिरेले विविध कारणले काममा ढिलाई भएको बताए । उनले बाँकी रहेको काम २ महिना भित्र काम सम्पन्न गर्ने जिकिर गरे । सुपरभाईजर घिमिरे पुल निमार्ण काम ७ प्रतिशत सम्पन्न भइसकेको बताए ।

सुपरभाईजर घिमिरेले कामदारलाई समयमै ज्याला दिएको र मजदुरले आफुलाई आरोप लगाएको बताएका छन् । तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी ८ करोडमा सम्झौता भएको निर्माण कम्पनीका ठेकेदार दिपेन्द्र शाहिले बताए ।

तपाईको प्रतिक्रिया