दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप, ४ घाइते

दैलेख, ३१ जेष्ठ ।
नारायण नगरपालिका दैलेख बजारको त्रिभुवन उच्च मध्यामिक विध्यालयको आइसोलेसनमा कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ । झडपमा ४ संक्रमित घाइते भएका छन् । आइसोलेसनमा बसेकाहरुले महिना दिन पुग्दा पनि पुनः स्वास्थ्य चेक जाँच नगरिएको, पिसिआर पोजेटिभ र आरडिटी पोजेटिभलाई एकै ठाउँमा राखिएको, आइसोलेसनमा बस्दा खानपिनकोे राम्रो व्यावस्थापन नभएको भन्दै आन्दोलन गरेका थिए ।

आइसोलेसनमा बसेका संक्रमित घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले बताए । प्रहरीको कुटाइबाट एक जनालाई अलि बढी चोट लागेको छ। भने तीन जना सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ । बढी घाइते भएका नारायण नगरपालिका ६ का युवक हुन् ।

ती युवकका बाबुका अनुसार आइसोलेसनमा बसेकाले नगर प्रमुखसँग कुरा गर्न चाहेको बताएपछि नारायण नगरपालिका १ का वडाध्यक्षले प्रहरी लगाएर मारपिट गरेको आरोप लगाए । उक्त विद्यालयको आइसोलेसनमा करिब ३४ जना संक्रमितलाई राखिएको छ । केही दिनअघि विद्यालयको क्वारेन्टाइनमा बसेकाले खानेपानी नपाएको भन्दै आन्दोलन गरेका थिए ।

तपाईको प्रतिक्रिया