निन्द्रालाई थाँती राखेर पढ्दा सफलता मिल्यो

जीन्दगी अनुभव र अनुभूतिको गाथा हो । अनुभूति कल्पना हो भने अनुभव जीवनको यथार्त भोगाई । पेशा र व्यवसाय अनुसार सबैका आ–आफ्नै अनुभवहरु हुन्छन् । फरक यतिमात्रै हो कसैसँग धेरै अनुभव त कसैसँग थोरै । जोसँग धेरै अनुभव छ उसको जीवन त्यति नै संघर्षमय हुन्छ । तर संघर्ष र अनुभवीहरु जीवनदेखि खुशी हुनेहरु प्राय कमै हुन्छन् । त्यही मध्येका एक हुन् आनन्द सारु । जस्तो नाम उस्तै आनन्द छ जीवनको भोगाइ पनि । अर्काेको पसलमा घडी रेडियो बनाउनेदेखि देशको शक्ति केन्द्र सिंहदरबारसम्मको अनुभव छ उनमा । विक्रम सम्वत २०३३ साल कार्तिक २२ गते बुबा तुलबहादुर र आमा भिमकुमारी सारुमगरका जेठो सन्तानका रुपमा दैलेखको गराँस गाउँपालिका वडा नं. ३ सेरीमा उनको जन्म भएको हो । हाल कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा सचिवको रुपमा कार्यरत उनै आनन्द सारुसँग गरिएको कुराकानीको शारांस :

नेपाल टप हुँदाको क्षण
भोगाइ नै जीवनको सबैभन्दा ठूलो पाठशाला रहेछ । विक्रसम्वत २०४१ सालदेखि तत्कालिन गाग्रेताल प्रावि (चन्द्रगंगा मावि, गाग्रेताल, सुर्खेत) बाट औपचारिक शिक्षा सुरुवात गरँे । त्यहीबाट कक्षा ५ सम्म अध्ययन पुरा भयो । उबेला विद्यालयका भौतिक संरचनाहरु निकै कमजोर थिए । हामी हप्तामा दुईपटक कक्षा कोठा लिप्ने काम गर्थाैँ । कहिले गोबर खोजेर ल्याउने पालो पथ्र्याे भने कहिले लिप्ने । तर ति दिनहरु साँचिक्कै रमाइला थिए । कक्षा ६ देखि एसएलसीसम्म अमरज्योति माविमा पुरा गरेँ । कक्षा ७ मा गएपछि सिमेन्टले पलस्टर गरेको कक्षामा बस्न पाउँदा साथीहरु खुब खुशी भएका थियौँ । २०५१ सालमा एसएलसी पुरा भयो ।

यसपछि खास जीवन सुरु भयो जस्तो लाग्छ । परिवारमा ठूलो आर्थिक संकट त थिएन । तर आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने मान्यताका कारण उच्च शिक्षा अध्ययनका लागि अर्काको इलेक्ट्रोनिक्स पसलमा काम गर्दै पढ्दै गरेँ । अर्काको पसलमा कतिदिन काम गर्नु भन्ने लाग्यो । केही समयपछि आफ्नै इलेक्ट्रोनिक्स पसल खोलँे । त्यही समय घडी रेडियो बनाउनेदेखि विद्युत वाइरिङको काम गरेँ । कहिले पढाइ छोडेर दिनभरी अर्काको घरमा विद्युत जोड्न जान्थेँ ।

यसरी नै तत्कालिन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट स्नातक र स्नातकोत्तर पनि पुरा गरेँ । स्नातक अध्ययन गर्दै गर्दा २०५३–५५ सम्म राप्ति प्राविधिक शिक्षालय दाङबाट कृषि अध्ययन गरेँ । सुर्खेतको इलेक्ट्रोनिक्स र इलेक्टिक्स पेशा छोडेर । तर दाङमा गएर पनि व्यापार गर्न छोडिन । सँगै अध्ययन गर्ने कपिलवस्तुको रामचन्द्र धिमिरेसँग मिलेर एग्रोभेट पसल सञ्चालनमा गरौँ । दिनभरी क्याम्पस जाने र साँझ विहान पसल चलाउँदै कृषि अध्ययन पुरा भयो । प्राक्टिकल बाहेक कहिलेकाँही पढाइ नै छोडेर गाउँतिर पशुपन्छिको औषधि गर्न जानुपथ्र्याे । दिनभरी क्याम्पसको पढाई, साँझ विहान व्यापार र रातमा निद्रालाई थाँती राखेर गरेका संघर्षले ठूलो खुशी दिलायो । त्यहीबेला म नेपाल टप भएँ । ति संघर्ष र त्योक्षण जीवनको महत्वपूर्ण भोगाइ थियो ।

सरुवा भइरहने हुँदा जागिर नै छोडिदिएँ !
कृषिको अध्ययन सकिएपछि केही समय गैरसरकारी संस्था (एनजीओ मा काम गरेँ । सिप्रेट र युनाइटेड मिसन टु नेपाल भन्ने संस्थामा काम गर्नेक्रममा रामेछामबाट अछाममा बसेर काम गरेँ । २०५६ सम्मको समय एनजीओमै विताएँ । अछामको तत्कालिन गाग्रा गाविसमा बस्दाको क्षण निकै संघर्षशिल बन्यो । गाउँमा विद्युत थिएन । त्यही बेला स्थायी जागिर खानुपर्छ भन्ने लाग्यो । लालटिनको सहाराले राती अबेरसम्म अध्ययन गर्ने बानी बसालेँ । त्यही संघर्षले लोकसेवा आयोगमा सफल भयो । २०५६ सालदेखि २०६४ सम्म निजामति सेवाको जागिर खाए । प्राविधिक खरिदार भएर दैलेख बस्दाका क्षणहरु अविस्मरणीय छन् । माओवादी द्वन्द उत्कर्षमा थियो । एकदिन कामकै सिलसिलमा दैलेखको नौमुले क्षेत्र पुगेको थिएँ । त्यहाँ एउटा क्षेत्रमा तत्कालिन शाही नेपाली सेना र अर्काे क्षेत्रमा जनमुक्ती सेना रहेछ । मैले उनीहरुलाई नदेखेर त्यहाँ पुगँे ।

नेपाली सेनाले केराकार गरयो । पल्लोपट्टी पुग्दा माओवादीको सेनाले उसैगरी सोधपुछ ग¥यो । त्यसपछि भिडन्त हुन्छ लाग्यो । अब बाँचिदैन भन्ने लाग्यो र त्यहाँ दौडेर भागेँ । तर भाग्दै जाँदा एउटा अप्ठेरो भिरमा पुगेँ । जहाँ एउटा मात्रै बाटो थियो । त्यही बाटोमा ठूलो सर्प सुतेको रहेछ । अब जीन्दगी यति नै हो भन्ने लाग्यो । झन् होस नै उडेजस्तो भयो । कहाँ जाऔंँ र के गरौँ भन्ने भयो । मरे यही मरुला भन्ने लाग्यो । भिडन्त हुने ठाउँतिर नगएर २ घण्टा त्यही कुरेर बसे । २ घण्टापछि सर्पले बाटो छोड्यो । अनि भागेर गाउँतिर पसे । त्योदिन ठूलो कालबाट बाँचियो । २०६० पछि सुर्खेतमा सरुवा भयो । २०६४ पछि भने यो ठाउँठाउँ सरुवा भइरहने जागिर खान मन लागेन । बरु आफैले केही गर्नुपर्छ भन्ने लाग्यो र स्थायी जागिरबाट उपदान लिएर विदा भएँ । उपदानपछि केहीसमय विमा कम्पनीका काम गरेँ । त्यहाँ त्यो पनि दिगो रहन सकेन । २०६५ मै तत्कालिन जिल्ला विकास समिति सुर्खेतमा अफिसरको पदमा जागिरमै जोडिएँ ।

६ पटक असफल
अहिलेको निजामति जागिर खास २०६६ सालबाट सुरु हुन्छ । पहिले उपदानमा निस्के पनि २०६६ पछि समयले पुनः निजामति सेवामा डोरयायो । २०६६ सालमा लोकसेवा आयोगको शाखा अधिकृत पदमा उत्तीर्ण भएँ । तत्कालिन डिभिजन सहकारी कार्यालय सुर्खेतमा साढे तीन बर्ष विताएँ । पछि केन्द्रिय सहकारी प्रशिक्षण कार्यालय काठमाडौं सरुवा भएँ । २०७२ सालमा उपसचिव भएर गरिवी निवारण मन्त्रालयमा काम गर्ने अवसर मिल्यो । करिव २०७४ सालमा सहसचिव भएर तुलसीपुर उपमहानगरपालिका दाङमा विताएँ । करिव २० महिनापछि पुनः सुर्खेतमा फर्किएँ । करिव दुइमहिना प्रदेश प्रमुखको कार्यालयपछि बैशाखबाट कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदेश सचिवको रुपमा कार्यरत छु । तर यहाँसम्म आइपुग्दा ६ पटक असफलताहरु भोगेको छु । उपसचिव र सहसचिव चरणमा मात्रै सफलता हात परेको हो । सधै लिखितमा सफल तर मौखिममा फललता हात पर्थेन । यही संघर्ष र निरन्तरताका कारण समयले यो स्थानमा ल्याएको छ । म सानैदेखि गीत संगितमा रुचि राख्थेँ । रेडियो नेपालको स्वर परीक्षामा पनि सफलता हात पर्न सकेन । तर जीवन सधै खुशीले विताउनुपर्छ भन्ने मान्यता राख्छु ।

लाहुरेमा भर्ती हुन जाँदा…
आदिवासी जनजाति समुदायका अधिकांश दाजुभाइहरु लाहुरे छन् । म पनि त्यही परिवेशमा हुर्केको हुँ । बुवा नेपाली सुरक्षाकर्मी हुनुहुन्थ्यो । मेरा अधिकांश आफन्तीहरु ब्रिटिस र इन्डियन लाहुरे छन् । युवा उमेरमा मलाई पनि मेरो आफन्तहरुले इन्डियन वा सिङ्गापुरे आर्मी बनाउन कोशिस नगरेका होइनन् । आफन्तीहरुको दवावपछि म एकपटक इन्डियन आर्मीको छनौटमा गएँ । दौडमा राम्रो थियो । शरिरमा कुनै कमी कमजोरी थिएन । तर त्यहाँ भारतीय छनौटकर्ताले नेपालीलाई अपहेलित व्यवहार गर्दा रहेछन् । सुरुवातमै अपमान पटक्कै मन परेन । अन्ततः जीवनभर अपमान सहेर अर्काको देशमा जागिर नखाने निधो गरेँ । यही निर्णयले म यो क्षेत्रमा आएँ । आफन्तीहरुमा कुनैबेला नेपालको सरकारी जागिर खाने म एक्लो व्यक्ति थिएँ ।

कृषि र पर्यटन कर्णाली समृद्धिका आधार
कर्णाली गरिब र भोकमरीको क्षेत्र भनेर चिनिन्छ । हाम्रो जीवनपद्दती पनि त्यतैतिर दौडिएको छ । कर्णालीमा धेरै सम्भावनाहरु छन् । सम्भावनाहरु हँुदैमा कर्णालीको क्षमताले नभ्याउन सक्छ । यदी नेतृत्व तहले चाहने हो भने कृषि र पर्यटनबाटै कर्णालीवासीको जीवन बदल्न सकिन्छ । यहाँको भौगोलिकता र बनावटको आधारमा सबै प्रकारका कृषि खेति सम्भव छ । त्यसका लागि नेतृत्वले टुक्रे र कार्यकर्ता पाल्ने योजनाहरुमा बजेट हाल्ने प्रवृति त्याग्ने आँट राख्नुपर्छ । नागरिकमा पनि गाउँघरमै केही गर्छु भन्ने चेतना जरुरी छ । जबसम्म कर्मचारीबाट नेतृत्वले काम लिन सक्दैन र नागरिकमा स्वदेशमै आत्मनिर्भर हुन्छु भन्ने चेतना पलाउँदैन, तबसम्म समृद्ध कर्णाली सपनामै सिमित हुन्छ । (२०७७ जेष्ठ २५ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकको साताको राष्ट्रसेवक स्तम्भमा प्रकाशित)

तपाईको प्रतिक्रिया