सम्पादकीय : कोरोनाविरुद्धको लडाई

पाँच महिना भयो । देश कोरोनाविरुद्धको अभियानमा छ । मानव अस्तित्वमाथि नै संकट निम्त्याउन सक्ने यो भाइरसले विश्व नै थलिएको छ । त्यसमाथि नेपाल जस्तो कमजोर आर्थिक अवस्था भएको देशका लागि थप चुनौती बनेको छ । तथापी देश यतिबेला कोरोनाविरुद्ध जुधिरहेको छ । करिब चार महिनासम्मको लकडाउन खुलेको केही साता मात्र भयो । तर मानिसहरुको भिडभाड बढेपछि थप सक्रिय खालको कोरोना देखियो । तराइका जिल्ला र सुदूरपश्चिममा लक्षणसहितको भाइरस देखिएको छ । त्यतिमात्र होइन, मृत्युदर पनि पहिलाको तुलनामा बढेको छ । यसले देशमा पुनः कोरोराले महामारी ल्याउने संकेतहरु देखा परेका छन् । यही अवस्थालाई मध्यनजर जर्दै केन्द्र सरकारले लकडाउनबारे पुनर्बिचार गर्न विज्ञहरुसँग परामर्श गरिरहेको छ । आजको दिनसम्म कर्णालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ जना मात्र छ । नागरिकहरुको सावधानी, स्थानीय र प्रदेश सरकारको प्रयासका कारण हालसम्मका अवस्था काबुमै छ भन्दा फरक पर्दैन ।

तर अब लक्षणसहितको कोरोना देशका अन्य स्थानमा देखिएसँगै अबको अवस्था सहज हुने देखिदैन । यही कारण पनि कर्णाली सरकारले कोरोनाविरुद्धको दोस्रो चरणको अभियान संचालनको तयारी गरेको छ । देशका अन्य प्रदेशको तुलनामा कर्णालीको अवस्था कमजोर नै छ । चाहे त्यो, भौत्तिक रुपमा होस्, या आर्थिक तथा स्वास्थ्य पूर्वाधारको क्षेत्रमा नै किन नहोस् । यसकारण पनि कर्णालीमा सक्रय खालको भाइरस प्रवेश भएको खण्डमा अवस्था कठिन हुन सक्छ । प्रदेश सरकारले पनि यही विषयको पूर्वानुमान गरेको छ । यसका लागि सरकारले मुख्य रुपमा तीन वटा रणनीति अपनाउनुपर्ने हुन्छ । पहिलो प्रदेश भित्रिने नाकामा कडाइ । यसले सक्रिय खालको भाइरस भित्रिन नपाओस् । दोस्रो भनेको प्रदेश भित्रका नागरिकहरुको सामाजिक दुरी कायम गराउने र मास्कलाई अनिवार्य गर्ने । तेस्रो भनेको स्वास्थ्य उपकरण र पूर्वाधारको क्षमता विकास । यसले बिरामीको उपचारमा सहज हुनेछ । यो तीन वटा रणनीतिलाई कार्यान्वयन गर्न सकेमा कोरोनाविरुद्धको लडाइँ प्रभावकारी हुन सक्छ ।

कर्णालीको हकमा कोरोनाले महामारी लिएपछि त्यसको रोकथाम र उपचार भन्दा पनि कोरोना फैलिन नदिनेगरी तयारी थाल्नु पर्दछ । किनभने हाम्रो क्षमताले पनि उपचारमा नथेग्न सक्छ । यसकारण प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर आइसोलेसन बेड थप गर्नुपर्दछ । जिल्ला अस्पतालहरुमा तत्काल अक्सिजन, भेन्टिलेटर र आईसीयूको संख्या बढाउनु पर्दछ । यस्तै आवश्यक चिकित्सक र स्वास्थ्यकर्मीहरुको व्यवस्थापन अर्को पाटो हो । कर्णालीमा हामीले लक्षणसहितको कोरोना भित्रिन नदिने हो भने, अहिलेबाटै जोखिमयुक्त जिल्लाबाट आउनेहरुमाथि कडा निगरानी नाकामै गर्नु पर्दछ । यस्तै निजी सवारी साधनमाथि पनि निगरानी बढाउन जरुरी छ । त्यतिमात्र होइन, आवश्यक परेको खण्डमा प्रदेशमा अलग्गै लकडाउन पनि गर्नुपर्ने हुन्छ । अति प्रभावित जिल्लाहरुमा मात्र सील गरेर पनि रोकथाममा लाग्नुपर्ने हुन सक्छ । पहिलो विषय मानवको जीवन रक्षा नै हो । त्यसपछि मात्र आर्थिक क्रियाकलाप र खुला जीवनबारे सोच्न सकिन्छ । (२०७७ साउन २२ गते विहिबार प्रकाशित)

सम्पादकीय : कोरोनाविरुद्धको लडाई

YUGAAWHAN NATIONAL DAILY (2077-04-22)

सम्पादकीय : कोरोनाविरुद्धको लडाई

एमयूका नयाँ उपकुलपतिका दर्जन नयाँ योजना

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds