कर्णालीका पाँच जिल्लामा कोरोना देखियो

सुर्खेत, १८ जेष्ठ ।
कर्णाली प्रदेशका पाँच वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । भारतबाट फर्किएका नागरिकहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोनाकै कारण एक जनाको मृत्यु भएको छ भने आइतबार विहानसम्म १२३ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीका सुर्खेत, दैेलेख, कालीकोट, सल्यान र मुगु जिल्लामा कोरोना संक्रमण देखिएको हो ।

आइतबार विहान कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १ सय २३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ थपिएका संक्रमितमा दैलेखका १७ जना र कालीकोटका १ जना रहेका मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संक्रमितमध्ये दैलेखका एकजनाको शनिबार मृत्यु भएको छ । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार अब संक्रमितको संख्या दैलेखमा ४८ जना, सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १८ जना र मुगुमा १ जना पुगेको छ । संक्रमित पुष्टि भएका बाजुरा र बझाङका २ जना पनि कर्णालीमै उपचाररत रहेका उनले बताए ।

तपाईको प्रतिक्रिया