लकडाउन अवधिमा ३० जना गर्भवती तथा सुत्केरीको मृत्यु

प्रकाश पन्त/वीवीसी नेपाली
सुर्खेत, १७ जेष्ठ ।
विश्वव्यापी महामारीको रूप लिएको कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भन्दै गरिएको लकडाउनको अवधिमा नेपालमा अहिलेसम्म ३० जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको मातृ तथा नवशिशु शाखाका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो संख्या झण्डै चार गुणा ज्यादा हो ।

शाखाका प्रमुख डा. पुन्या पौडेलका अनुसार गतवर्ष यो अवधिमा ८ जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका थिए ।उनी भन्छिन, लकडाउनको अवधिमा २८ जना गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य संस्थामा पुगेपछि र दुई जनाको घरमै ज्यान गएको पाइएको छ । लकडाउनले गर्दा समयमै स्वास्थ्य संस्थामा र्पुयाउन नसक्दा उनीहरूले अकालमै ज्यान गुमाउनु परेको पनि उनले बताइन् ।

अन्तिम समयमा मात्रै अस्पताल
यातायातको असुविधाको साथै अस्पताल गए रोग सर्छ भन्ने डर जस्ता कारणले अन्तिम अवस्थामा मात्रै अस्पताल र्पुयाउनु, रक्तश्राव, परिवारको लापरबाही, पाठेघर फुटेको जस्ता समस्याले अस्पताल पुगेपनि बचाउन नसकिएको चिकित्सकहरू बताउँछन् । नर्मल डेलीभरी गाउँकै स्वास्थ्य संस्थामा हुने र जटिल भएपछि अन्तिम अवस्थामा मात्रै सुविधासम्पन्न अस्पतालमा पुग्ने भएकोले बचाउन कठिन हुने गरेको केलहलपुर मेडिकल कलेजका निर्देशक डा. सुरेशकुमार कनोडिया बताउँछन् ।

उनी भन्छन, “बच्चा अड्केको, हात पहिला निस्केको, बच्चाको मृत्यु भइसकेको, जन्मिने दिन नाघेका केसहरू अन्तिम समयमा मात्रै आउँछन् । बचाउने प्रयास गर्दागदै कतिपयको ज्यान जान्छ ।’ ’लकडाउनको अवधिमा गर्भवती तथा सुत्केरी महिलाको स्याहार कसरी गर्ने भन्ने सम्बन्धी गाइडलाइन बनाएको हुँदा अब स्वास्थ्य सेवा सुलभ हुने दाबी मातृ तथा नवशिशु शाखाको छ ।

अस्पतालमै मृत्यु
शाखाका अनुसार लकडाउनको अवधिमा रौतहटको गौर अस्पताल, हेल्पिङ ह्याण्ड, सप्तरी, कलैया अस्पताल बारा, शिक्षण अस्पताल, कालिकोट, मेहलकुना अस्पताल सुर्खेत, पाँचथर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, धुलिखेल अस्पताल, चितवन मेडिकल कलेज, पोखरामा एक–एक जना गर्भवती तथा सुत्केरी महिलाको ज्यान गएको छ ।

यस्तै कपिलवस्तु अस्पतालमा दुई जना, युनिभर्सल मेडिकल कलेज रुपन्देहीमा तीन जना, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना, कोहलपुर मेडिकल कलेजमा पाँच जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका छन् । घरमै सुत्केरी हुँन खोज्दा अछाम र बारामा एक–एक जना महिलाको ज्यान गएको बताइएको छ । सुत्केरी तथा गर्भवतीको अवस्था नाजुक बन्न थालेपछि मात्रै स्वास्थ्य संस्था लैजाने प्रवृत्तिले गर्दा ज्यान जोखिममा पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

नर्मल डेलीभरी गाउँमा
यातायातको असुविधाले गर्दा गर्भवती तथा सुत्केरीहरूले नियमित जाँच गराउन नपाएको र डाक्टरको परामर्श नहुँदा, समयमै अस्पताल पुग्न नसकेको बताइएको छ । सबै ठाउँका स्वास्थ्य केन्द्र सुविधायुक्त छैनन् । नर्मल डेलीभरी गाउँकै स्वास्थ्य संस्थामा हुने तर जटिल हुन वित्तिकै तुरुन्तै अस्पताल ल्याउनुपर्नेमा समयमै ल्याउन नसक्दा गर्भवती तथा सुत्केरीलाई बचाउन कठिन हुने गरेको चिकित्सकहरू बताउँछन् ।

कोहलपुर मेडिकल कलेजका निर्देशक कनोडिया भन्छन, “जति ढिलो हुन्छ त्यति नै जोखिम बढ्छ । त्यसैले जटिलताका लक्षण देखिने वित्तिकै तुरन्तै सुविधायुक्त अस्पताल लगिहाल्नुपर्छ ।’’ उनी जति लकडाउन लम्बिन्छ त्यति नै गर्भवती तथा सुत्केरी महिला पनि जोखिममा पर्ने धारणा राख्छन्। गाउँमा सडक सुविधा नहुनु, भएपनि एम्बुलेन्सजस्ता यातायातका साधन नपाइनु, नीजि गाडीलाई चर्को भाडा तिर्नुपर्ने, डोको, स्ट्रेचरमा स्वास्थ्य संस्था वा सडक भएको ठाउँमा ल्याउनु पर्ने बाध्यताले गर्दा पनि समयमै अस्पताल पु¥याउन नसकिएको आफन्तहरू बताउँछन् ।


यातायात असुविधा
उनीहरू भन्छन, गाउँका स्वास्थ्य संस्थामा आवश्यक उपकरण र दक्ष जनशक्ति नहुँदा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था कायमै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १३५ र गतबर्ष २०८ जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका छन् ।

यसपाली लकडाउन हुनुभन्दा अघि माघमा ८ र फागुनमा ११ जना गर्भवती तथा सुत्केरी महिलाको मुत्यु भएको थियो । लकडाउनको अवधिमा खासगरी गर्भवती तथा सुत्केरी महिलाहरू बढी जोखिममा परेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सबै स्थानीय तहमा स्वास्थ्य संस्था, बर्थिङ्ग सेन्टर भएपनि आवश्यक स्रोत साधन नहुँदा बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाई छ ।

चिकित्सकको सल्लाह
कोरोना सङ्क्रमणको डरले कतिपय गर्भवती तथा सुत्केरी घरमै बस्नु परेकोले नियमित स्वास्थ्य चेकजाँचमा जान नपाएको गुनासो गर्छन् । लकडाउन शुरु भएपछि गर्भवती तथा सुत्केरी महिलाहरूले धेरै समस्या झेल्नु परिरहेको कालिकोटकी कुशुमकला महतरा बताउँछिन् । यही जेठ महिना बच्चा जन्मिने मिति छ, उनी भन्छिन, तर कोरोनाको डरले गर्दा लकडाउनका बेला गर्भजाँच गर्न अस्पताल गएको छैन। भिटामिन, क्याल्सियम र पोषिलो खानेकुरा पनि पाइएको छैन।

गर्भवती तथा सुत्केरी अवस्थामा जुनसुकै बेला पनि जोखिम आउन सक्ने भएकोले पूर्व सावधानी अपनाउनु पर्ने चिकित्सहरू सल्लाह दिन्छन् । प्रदेश अस्पताल सुर्खेतका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. केशर ढकाल अहिले सङ्क्रमणको उच्च जोखिम भएकोले खासगरी गर्भवती तथा सुत्केरी महिलाले खानेकुरा, सरसफाइ, नियमित स्वास्थ्य चेकजाँचमा विशेष ख्याल राख्नु पर्ने बताउँछन् । उनी भन्छन, कोडिभ–१९को बेला पनि गर्भवती तथा सुत्केरीलाई उपचार गर्न समस्या नभएकोले स्वास्थ्य संस्थामा आएर स्वास्थ्य जाँच गर्न, सल्लाह सुझाव र परामर्श लिन र आवश्यक परे फोनबाटै चिकित्सकको सल्लाह लिन सकिन्छ ।

हवाई सेवा प्रभावकारी
लकडाउनको समयमा जोखिमपूर्ण अवस्थामा रहेका दुर्गमका गर्भवती तथा सुत्केरीको लागि हवाई सेवा झन् बढी प्रभावकारी देखिएको छ । यो अवधिमा जोखिमपूर्ण अवस्थामा रहेका १४ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरी बचाएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

बच्चाले पेटमै दिसा गरेको, सालनाल नझरेका, उच्च रक्तश्रावको समस्या भएका, बच्चा उल्टो भएर आमा र बच्चा दुवैको ज्यान जोखिममा परेकालाई उद्धार गरिएको मन्त्रालयमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई प्रमुख अञ्जु ढुंगानाले बताइन् । ढुंगाना भन्छिन, सडक सञ्जालसँग जोडिएका तर लकडाउनले गर्दा गाडीहरू नचलेका विभिन्न ठाउँबाट पनि उद्धारको लागि आग्रह गरिएको थियो तर कार्यविधिमा नसमेटिएको हुनाले उद्धार गर्न सकिएन ।

गत वर्षदेखि सुरु भएको हवाई उद्धार कार्यक्रम अन्तर्गत अहिलेसम्म जोखिम अवस्थाका १०३ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको उनी बताउँछिन् । लकडाउनकै बेला पनि हेलिकोप्टरबाट उद्धार गरिएका मध्ये दुई जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गएको देखिन्छ । लकडाउनको समयमा सुत्केरी तथा गर्भवती महिलालाई कतिपय स्थानीय तहले पोषणयुक्त खानेकुरा बाँड्ने, स्वास्थ्य संस्थामा जाँच गर्न जान प्रेरित गर्ने गर्दै आएको बताउँछन् । (वीवीसी नेपाली सेवाबाट साभार)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार