डोल्पाका सामुदायिक वनमा यार्सा संकलनमा रोक

रामचन्द्र न्यौपाने
डोल्पा, २० बैशाख ।
डोल्पामा डिभिजन वन कार्यालयले पनि यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । शनिवार जिल्लास्थित सम्पूर्ण सरोकारवाला निकायसँग छलफल गरेर वन कार्यालय मातहातका सम्पूर्ण सामुदायिक वनहरुमा यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

विश्भर महामारीको रुपमा फैलिरहेको नोवोला कोरोना भाइरस (कोभिड–१९) बिरुद्ध पुर्व सतर्कता अपनाउन यस बर्ष सामुदायिक वन क्षेत्रमा यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाइएको वन अधिकृत जितेन्द्र महतले जानकारी दिए । प्रतिबन्ध लगाइसके पछि कुनै पनि व्यक्ति वा समूहले पाटनमा पुगेर यार्सागुम्बाको चोरी पैठारी गरेको पाइएमा कानुन अनुसार कडा कारवाही गरिने समेत अधिकृत महतले बताए । अघिल्लो बर्षसम्म वन कार्यालय माताहत रहेका करिब बिस वटा सामुदायिक वनहरुमा यार्सागुम्बा संकलन गरिँदै आएको थियो ।

बैठकमा उपस्थित नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढा, उद्योग वाणिज्य डोल्पाका अध्यक्ष लालिमान बुढा र कतिपय जनप्रतिनिधिहरुले जिल्ला प्रवेश गर्ने नाकाबन्द गरेर डोल्पालीलाई मात्र यार्सागुम्बा संकलन गर्न दिनुपर्ने धारणा राखेका थिए । डोल्पाली जनताको आर्थिकउपार्जनको मुख्य स्रोत नै यार्सागुम्बा भएकाले संकलन बन्द भएपछि भोली आइपर्ने खाद्य संकटका बिषयमा तिनै तहको सरकार जिम्मेवार हुनुपर्ने नागरिक समाजका डोल्पाका अध्यक्ष बुढाले बताए ।
त्यसैगरी ठुलिभेरी नगरपालिकाका प्रमुख गणेश बहादुर शाहीले संक्रमणकालिन अवस्थामा जनतालाई संकट परेको अवस्थामा विकास योजना कट्टी गरेर जनताको पेट भर्ने ग्यारेन्टी गरे । डोल्पा र डोल्पाली जनतालाई कोरोनाको महामारीबाट जोगाउनकै लागि यस बर्ष सुरुमै विपद् ब्यवस्थापन समितिको बैठकबाट निर्णय गराएरै यार्सा संकलनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताए ।
डोल्पाका पाटनमा हुने यार्सागुम्बाको अवैध चोरी निकासी रोक्न स्थानीय सरकार, सामुदायिक वन लगायतका सरोकारवाला निकायसँग सहकार्य गरेर सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरिने प्रजिअ सुनारको भनाई छ । यस अघि जिल्ला विपद् ब्यवस्थापन समिति र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले आधिकारीक निर्णय गरेरै यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेका छन् । यार्सागुम्बा रोक लगाउने निर्णय गरिएसँगै बर्षभरीमा आइपर्ने आधारभुत आवश्यक्ता कसरी पुरा गर्ने भन्दै डोल्पाली जनताहरु चिन्तामा परेकाछन् ।

तपाईको प्रतिक्रिया