सम्पादकीय : फितलो व्यवस्थापन

कोरोनाका त्रासपछि परीक्षणको दायरा बढाउने भनियो । त्यही अनुसार कर्णाली प्रदेशमा पनि कोरोनाको द्रूत परीक्षण (रयापिड टेष्ट) सुरु भयो । तर यतिबेला त्यही द्रुत परीक्षण नै सुस्त गतिमा भएको छ । सरकारी तथ्याकं अनुसार कर्णालीमा बाहिरबाट करिब आठ हजार मानिसहरु भित्रिएका छन् । उनीहरु सबैको कोरोना परीक्षण गर्नुपर्ने हुन्छ । त्यसका लागि द्रुत परीक्षण नै उपयुक्त विकल्प हो । तर द्रुत परीक्षणको गती जुन रुपमा हुनुपर्ने हो, त्यो अनुसार हुन सकेको छैन । सरकारले प्रर्याप्त तयारी नगर्दा यसमा समस्या आएको छ । परीक्षणका लागि कतिपय जिल्लामा किट अभाव भएको छ । अभावका कारण परीक्षण नै स्थगित भएको छ । कतिपय जिल्लामा किट अभावमा कम मात्र परीक्षण भइरहेको छ । यसले पनि कोरोना संक्रमणलाई नियन्त्रण गर्न समस्या र चुनौती देखिएको छ । कर्णालीमा चैत २८ गतेदेखि सुरु भएको ¥यापिड टेष्ट हप्तादिन वितिसक्दा पनि दुई हजार सात सय जनामा मात्रै रयापिड टेष्ट भएको छ ।

कोरोनाको त्रासपछि विदेशबाट गाउँ फर्किएका नागरिकहरुमा पनि संक्रमणको आंशका गरिएको छ । आशंकाबिच उनीहरुमा कोरोना परीक्षणका लागि द्रुत प्रविधि सुरु गरिएको हो । तर त्यो परीक्षण प्रभावकारी हुन सकेको छैन । परीक्षण पनि सुस्त गतिमा सुरु भएको छ । जसले गर्दा गाउँमा कोरोनाको जोखिम बढेको छ । द्रुत परीक्षणका लागि भौगोलिक विकटता चुनौती धेरै भएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । तर सरकारले जिल्लामा पर्याप्त किट नपठाउँदा समस्या भएको देखिन्छ । अर्कोतर्फ केही जिल्लामा ढिला गरी मात्र किट पठाइएको छ । यसले पनि परीक्षणमा ढिलाइ हुन पुगेको देख्न्छि । जाजरकोट र सल्यानमा कम मात्र किट पठाइएको छ । किट अभाव भएपछि ति जिल्लामा अहिले परीक्षण नै रोकिएको छ । जहाँ जोखिम छ, त्यहाँ परीक्षण नै रोकिँदा जोखिम थप बढ्ने आंशका बढेको छ । हाल किट सकिएपछि जिल्लामा सबै टोलीले ¥यापिड टेष्ट गर्न पाएका छैनन् ।

किट अभाव भएपछि दैलेख, कालिकोट, जुम्ला र मुगु लगायतका जिल्लाको केही टोलीले रयापिड टेष्ट रोकिएको छ भने केही टोलीले स–साना टोलहरुमा ¥यापिड टेष्ट गरेका छन् । संघीय सरकारले कर्णाली प्रदेशमा पाँच हजार मात्र किट पठाएको थियो । यो संख्या एकदमै न्युन हो । यसले बारिहबाट आएका सबैको परीक्षण गर्न सम्भव छैन । तसर्थ अब कर्णालीमा आवश्यक किट सरकारले उपलब्ध गराउनु पर्दछ । त्यतिमात्र होइन, गाउँमा शंकास्पद सबैको परीक्षण हुनु पर्दछ । भौगोलिक विकटता, कर्मचारीको अभाव र किटको कमी देखाएर खेलाँची गरिनु हुँदैन । यसतर्फ प्रदेश सरकार गम्भिर हुनै पर्दछ । आज हुने सामान्य लापरबाहीले भोली ठूलो संकट निम्तिन सक्छ । यसबाट जोगिन पूर्वतयारी नै आवश्यक हो । अहिले जे भइरहेको छ, त्यो एकदम फितलो तयारी छ । यतिले मात्र पुग्दैन । कुनै पनि हालतमा किट ल्याएर सबैको परीक्षण हुने अवस्था सरकारले निर्माण गर्नुपर्दछ । (मिति २०७७ बैशाख ८ गते सोमबार प्रकाशित)

तपाईको प्रतिक्रिया