डब्लूएचओलाई आर्थिक सहयोग रोक्ने घोषणा ‘खतरनाक’ : बिल गेट्स

काठमाडौँ, ३ बैशाख ।
माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सले विश्वव्यापी स्वास्थ्य संकट आएका बेला विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) लाई आर्थिक सहयोग रोक्ने निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेपछि गेट्सले ट्वीटमार्फत प्रतिक्रिया दिएका हुन् ।

विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग रोक्ने ट्रम्पको घोषणा ‘खतरनाक’ भएको पनि उनले प्रतिक्रिया दिएका छन् । डब्लूएचओले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोक्नका लागि काम गरिरहेको उल्लेख गर्दै अर्को कुनै संस्थाले यसलाई प्रतिस्थापन गर्न नसक्ने गेट्सले बताएका छन् । सबैभन्दा बढी अहिले डब्लूएचओको आवश्यकता रहेको पनि उनले बताएका छन्। बिल गेट्स एन्ड मेलिन्डा गेट्स फाउन्डेसन डब्लूएचओलाई आर्थिक सहयोग गर्ने प्रमुख संस्था हो ।

त्यस्तै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले पनि डब्लूएचओलाई आर्थिक सहयोग रोक्नु गलत भएको बताएका छन् । अहिले डब्लूएचओलाई आर्थिक सहयोग रोक्नुभन्दा पनि अझ बढाउँदै कोरोना भाइरसरिुद्धको लडाइँलाई सशक्त बनाउनुपर्ने महासचिव गुटेरसले बताए । ‘पूरा विश्व नै कोरोना भाइरसविरुद्धको लडाइँमा लागिरहेका बेला डब्लूएचओलाई अझ बढी सहयोगको आवश्यकता रहेको मेरो विश्वास हो,’ महासचिव गुटेरसले भनेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लूएचओ चीनमुखी र कोरोना भाइरसको संक्रमण रोक्नमा विफल भएको आरोप लगाउँदै सहयोग रोक्ने बताएका हुन् । डब्लूएचओलाई अमेरिकाले सबैभन्दा धेरै आर्थिक सहायता उपलब्ध गराउँछ । गत वर्ष उसले ४० करोड डलर सहयोग दिएको थियो, जुन डब्लूएचओको कुल बजेटको १५ प्रतिशत रकम हो ।

तपाईको प्रतिक्रिया