कोरोना नभएको पुष्टी भएपछि क्वारेण्टाइनबाट फिर्ता

अमर सुनार
दैलेख, २९ चैत्र ।

जिल्लाका ११ स्थानीय तहले निर्माण गरेका ६७ क्वारेण्टाइन मध्ये पहिलो पटक प्रयोगमा आएको दुल्लू नगरपालिका–२ भानेश्वर मावि काफलपानी क्वारेण्टाइनमा बसेका २० जनालाई शुक्रबार खादा ओडाएर घर पठाइएको छ । कर्णाली प्रदेश प्रयोगशालामा स्वाव पठाइएकोमा परीक्षणले कोरोना भाइरस संक्रमण नदेखिएको पुष्टी भएपछि क्वारेण्टाइनमा राखिएको आज १७ औं दिन सबै जनालाई घर पठाइएको भानेश्वर मावि काफलपानीका विव्यस अध्यक्ष जीतेन्द्र थापाले जानकारी दिनुभयो ।

चैत १२ गते क्वारेण्टाइनमा ल्याइएकोहरुमा काठमाण्डौंबाट आएका ४ र भारतबाट आएका १६ जनालाई विद्यालय हातामा राखिएको थियो । आफूलाई कोरोना नभएको चिठी समेत पाएकोले आफैलाई समेत निर्धक्क भएको दुल्लू नगरपालिका–२ नाउलीकी उमा थापाले बताउनुभयो । दुल्लू नगरपालिकाका उपमेयर बिष्णु थापा, वडा नं. २ का वडाध्यक्ष लक्षिराम थापा, दुल्लू इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहोरा, इन्द्रदल गुल्म दुल्लू बेसक्याम्पका उपसेनानी सन्दीप थापा, नाउलेकटुवाल स्वास्थ्य चौकी इञ्चार्ज नबिन सुनारले टीका र खादा लगाइ दिएर विदा गर्नुभएको थियो ।

जिल्ला स्तरीय क्वारेण्टाइन व्यवस्थापन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले दिनुभएको जानकारी अनुसार दैलेखका ६७ स्थानमा निर्माण गरिएका क्वारेण्टाइन मध्ये ३१ वटामा गरी ३ जना महिला समेत २ सय ४७ र आइसुलेसनमा ४ जना बसेका छन् । भानेश्वर मावि काफलपानी क्वारेण्टाइनबाट फर्किएका २० बाहेक यस अघि महाबु गाउँपालिकाबाट २१, आठबीसबाट ४ जना घर फर्किएका छन् । क्वारेण्टाइनहरुको स्वाव पठाइएका दैलेखका २५ जनामा कोरोना नदेखिएको र १४ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया