नगर विपद् कोषमा प्रभु बैंकको १ लाख ५० हजार

सुर्खेत, २८ चैत ।

वीरेन्द्रनगर नगरपालिकाले स्थापना गरेको नगर विपद् कोषमा सहयोग रकम जम्मा भएको छ । कोरोना भाईरस रोकथाम, नियन्त्रण, उपचार र राहत कोषमा प्रभु बैंक शाखा सुर्खेतले एक लाख पचास हजारको चेक हस्तान्तरण गरेको हो । बैंकका प्रदेश मेनेजर शरद तिमिल्सेनाले नगरपालिकाका का.वा. प्रमुख मोहनमाया ढकाल र प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाललाई चेक हस्तान्तरण गरेका थिए ।

वीरेन्द्रनगर नगर कार्यपालिकाले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो । नगरपालिकाको बाणिज्य बैंक सुर्खेत शाखामा रहेको प्रकोप व्यवस्थापन कोषको खाता नम्बर ४०८०३०५०५०००२ मा रहेको रकम कारोबार गर्ने गरी २ करोडको कोष स्थापना गरिएको हो । कोषमा हाल नगर स्तरिय ठुला ४ वटा आयोजनाहरुबाट प्रति योजना ५० लाख कटौती गरी रकमान्तर गरिएको थियो ।

हालसम्म बन्दोबस्त गरिएको राहत खाद्यान्नको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ् (वा अधिकृत विक्रेता) र अन्य पसलहरुमा समेत गरी ९३ लाख २५ हजार खर्च भैसकेको र भुक्तानी हुन बाँकी रहेको जनाइएको छ । नगरक्षेत्र भित्र अत्यावश्यक खाद्य वस्तु बाहेक तरकारी दुध जस्ता पदार्थहरु अन्य पालिकाबाट आयातमा रोक लगाईएको छ । वडा कार्यालयले ब्यवस्थापन गर्ने गरी क्रमशः वडाहरु र टोलहरु लकडाउन गर्न सकिने ब्यवस्था गरिएको जनाइएको छ ।

नगरपालिका अन्तर्गत कोरोना संक्रमण विरुद्धको ब्यवस्थापनमा खटिने कुनै पदाधिकारीलाई कोरोना संक्रमण भएमा निःशुल्क उपचारको ब्यवस्था गर्ने र कुनै कर्मचारीले ज्यान गुमाउनु परेमा आश्रित परिवारलाई १० लाख रुपैयाँ नगरपालिकाले राहत तथा क्षतिपुर्ति दिने निर्णय भएको छ । संघीय तथा प्रदेश सरकारका विभिन्न निकायहरुमा प्रत्यक्ष समन्वयमा कार्य गरिएको र दैनिक राहत विवरण, विदेशबाट आएका होम क्वारेन्टाईनमा बसेकाको विवरण लगायतका प्रगति विवरण पठाउने गरिएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी नगरपालिका क्षेत्र बाहिर स्थायी ठेगाना भई वीरेन्द्रनगर नगरपालिका भित्र अस्थायी बसोबास गर्ने बासिन्दा मध्ये दैनिक ज्याला मजदुरी गरी साँझ बिहान छाक टार्नुपर्ने र बन्दको कारणले साँझ विहान न्यूनतम् खाद्यान्न ब्यवस्था गर्न नसकेका अति विपन्न मजदुर तथा विद्यार्थी परिवारहरुलाई न्यूनतम् खाद्यवस्तु (दाल, चामल, नुन तेल) उपलब्ध गराइने भएको छ । उक्त प्रयोजनमा नगरस्तरीय विभिन्न १६ वटा योजनाहरुबाट प्रति योजना पाँच पाँच लाखको दरले कटौती गरी जम्मा रकम ८० लाख बिनियोजन गरी कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रकमान्तर गरी खर्च गर्ने समेत भएको छ ।

तपाईको प्रतिक्रिया