जसले संसारलाई हात धुन सिकायाे

डा. आभास पौडेल/ पशु विकास अधिकृत

पशु सेवा विभाग, काठमाडाै‌

कोभिड-१९ महामारीले मानव सभ्यातालाई नै चुनौति दिने ढङ्गबाट आतङ्‍कित पारिरहेको छ। विश्‍वका शक्तिराष्ट्रहरुलाई समेत यस चुनौतिको सामना गर्न हम्मे हम्मे परेको छ। यतिबेला स-साना बच्चा देखि वृद्ध अवस्था सम्मका मानिसहरु सङ्क्रमणबाट बच्न र रोग फैलिन नदिन विभिन्न उपायहरु अवलम्बन गरिरहेका छन्। यस मध्ये हातको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण मानिन्छ। एक अर्को व्यक्ति र वस्तुसंगको संसर्गमा ल्याउने पहिलो माध्यम हात नै हो। विभिन्‍न वैज्ञानिक अध्ययनहरुले सही तरिकाले हात धुने बानीले पखालाको जोखिम ४०% र स्वास प्रस्वास सम्बन्धी रोगहरुको जोखिम २०% ले न्यूनिकरण हुने देखाएका छन्।

अहिले प्राय व्यक्तिहरुले कोभिड १९ बाट आफूलाई स्वस्थ राख्न साबुन पानीले हात धोइरहेको वा सेनिटाईजर प्रयोग गरीरहेको पाईन्छ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै “हात धोऔँ, स्वस्थ रहौँ” भन्‍ने नारा सर्वव्यापी छ।सामान्यत: खाना खानु अघि र पछि, खोक्दा वा हाच्छिँउ गर्दा हातले मुख छोपेपछि, शौचालयको प्रयोग पछि, बाहिरबाट घर प्रवेश गर्ने बेलामा, विरामी व्यक्तिको सम्पर्क पछि, पशुपन्छीको हेरचाह पछि र कुनै फोहर वस्तु छोएमा हामी हात धुन्छौँ। हात धुने अभ्यास रोगबाट जोगिने र सङ्क्रमण फैलिन नदिने एक प्रभावकारी उपायको रुपमा स्थापित भएको छ।

हात धुने अभ्यास कहिले देखि सुरु भयो त ?


हंगेरीमा जन्मिएका डाक्टर ईग्नास सेम्लेवेस सन् १८४७ मा अष्ट्रियाको भियाना स्थित एक अस्पतालको प्रसुती वार्डमा काम गर्थे।सो अस्पतालमा डाक्टर र मिडवाईफले प्रसुती सम्बन्धी उपचार गर्ने फरक फरक वार्ड थिए। मिडवाईफहरुबाट संचालित वार्डमा भन्दा डाक्टरहरुबाट संचालित वार्डमा बढी मातृ मृत्युदर भएको देखी सेम्लेवेस छक्‍क परे र अनुसन्धान गर्न थाले।उनले डाक्टर र मिडवाईफहरुको दिनचर्या एवं आनीबानीको अध्ययनको क्रममा डाक्टरहरु पोष्टमार्टम जाँच पश्चात सिधै प्रसुती कक्षमा उपचारका लागि जाने हुँदा शवबाट रोगको कारक तत्व हातमै टाँसिएर स्वस्थ आमामा पनि सर्न सक्ने अनुमान गरे। तर मिडवाईफले पोष्टमार्टम जाँच नगर्ने हुँदा उनीहरुबाट संचालित वार्डमा डाक्टरहरको वार्डको तुलनामा कम मृत्युदर भएको हुनसक्ने निष्कर्षमा पुगे। सेम्लेवेसले चिकित्सकको हातबाट सङ्क्रमण नफैलियोस भनी प्रत्येक बिरामीको जाँच पछि चिकित्सकले हात एवं उपकरणहरु क्लोरिन पानीले धुनुपर्ने सुझाव “The Etiology, Concept and Prophylaxis of Childbed Fever” भन्ने लेखमा प्रकाशन गरे। विश्‍वको इतिहासमा रोग नियन्त्रणका लागी हात धुने वा निसङ्क्रमण गर्ने यो नै पहिलो प्रयोग थियो । तर दुर्गन्ध वा विषालु हावाको माध्यमबाट रोग सर्छ भन्‍ने विचार भएका उनका सहकर्मीहरुले “डाक्टरको हात” मृत्युको कारण हुनै नसक्ने भनी  सेम्लेवेसलाई हाँसोको पात्र बनाए। सो अभिव्यक्ति दिएकै कारणले ईग्नास सेम्लेवेसले जागीरबाटै हात धुनु पर्‍यो। सेम्लेवेशलाई सन् १८६५ मा पागलखानामा राखियो जहाँ उनको रगतमा भएको सङ्क्रमणबाट मृत्यु भयो।

जर्मनका केही वैज्ञानिकहरुले हातको सरसफाई र स्वच्छता सम्बन्धमा अध्ययन जारी राखे, क्राइमन युद्धताका फ्लोरेन्स नाईटेङ्गलले समेत हात धुन पर्छ भन्ने सन्देश बृहत रुपमा फैलाइन।सेम्लेवेसको सुझावलाई उनको मरणको दुई दशकपछी विश्‍व जगतले नै आत्मसाथ गर्‍यो।ईग्नास सेम्लेवेसलाई Father of Hand Hygiene र Father of Infection Control को रुपमा चिनिन्छ।सन् १९८० मा संयुक्त राज्य अमेरीकाले हातको सरसफाई सम्बन्धी निर्देशिका जारी गर्‍यो।सन् १९९५ मा सेन्टर फर डिजिज कन्ट्रोलले प्रतिजैविक साबुन वा एन्टिसेप्टिकले हात सफा गर्दा सङ्क्रमणबाट जोगिने वैज्ञानिक तथ्य स्थापित गरे पश्चात हातको स्वच्छताको बारेमा विश्वव्यापी रुपमा चेतना फैलियो।

पछिल्ला केही वर्षमा साबुन पानीले हात धुने अभ्यास सुस्वास्थ्य कायम गर्न सरल, सहज र सुलभ उपायको रुपमा स्थापित भएको छ। कोभिड- १९ वा यस्तै अन्य माहामारी फैलिएको बेला मात्र नभई सधैँ हात सफा राख्‍नुपर्छ।हामीले कुनै व्यक्ति वा वस्तुको सम्पर्कमा आउने वा कुनै ठाँउमा छुने बित्तिकै उक्त व्यक्ति, वस्तु वा स्थानमा विषाणु हुन सक्छ भन्‍ने सोचेर साबुन पानीले हात धोइहाल्नु पर्दछ। हात धुँदा हत्केला एवं औँलाहरुको सबै भागमा फिँज पुग्ने गरी कम्तीमा २० सेकेन्ड मिची मिची हात धुनुपर्छ। भाईरसको बाहिरी सतहमा हुने चिल्लो पदार्थको तह साबुनमा घुलनशील हुने भएकोले साबुनपानीले उचित तरिकाले हात धुँदा भाईरस निष्कृय भएर जान्छ। अहिले बजारमा सेनिटाईजरको अभाव भएकोमा केही मानिसहरु हातको स्वच्छता कायम गर्न नसकिने हो कि भनेर चिन्तित भएका देखिन्छन्। रोगको जोखिम न्यूनिकरण गर्न साबुनलाई नै पहिलो रोजाईमा राख्‍नु पर्दछ। घर बाहिर निस्कँदा वा साबुन र पानी नभएका बखतमा गुणस्तरिय एवम प्रभावकारी सेनिटाइजर प्रयोग गर्नुपर्दछ। अन्तत: रोगबाट जोगिन र सङ्क्रमण फैलिन नदिन साबुन पानीले हात धुने विधिलाई नै सस्तो, सजिलो, सर्वसुलभ एवम भरपर्दो विधिका रुपमा अवलम्वन  गर्नुपर्दछ।

(डा. पौडेल भेटेरिनरी मेडिसिन विषयमा स्नातकोत्तर हुन्)


2 thoughts on “जसले संसारलाई हात धुन सिकायाे

  1. संसारमा कोरोनाको प्रकोप फैलिएको समयमा सावुन पानिले हात धुने अभियान संनसार भर किन भलाउनु परयो भनी नेपाली भासामा सरल शव्लहरको संयोजन गरि सर्वसाधारणमा चेतना र यस्को महत्व झलकने गरि प्रस्ट गर्ने लेखको लागि सदुवाद छ । यस्ता जनचेतना मुलक जानकारि प्रकािशत हुँदै जाउन भनी नया वर्ष २०७७ को शुभकामना साथै पुन सादुवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार